बा-आमाको तस्बिरदेखि शहीदको शालिकमा माल्यार्पण गर्दै चुनावी अभियानको थालनी


२८ आश्विन २०७९, शुक्रबार
Khotang chunab mangsir 4

खोटाङ । मुलुक प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा होमिएको छ । मेलापातदेखि चोक चौतारोमा चुनावको चर्चा शुरु भएको छ । टिकट पाएका उम्मेदवार आफ्नो जितको सुनिश्चितताका लागि मरिमेटेर घरदैलोमा जुटेका छन् । चुनावी अभियानलाई विशेष र आकर्षक बनाउनका लागि उम्मेदवारहरूले फरक–फरक शैली अपनाएका छन् ।

शहीददेखि आफ्नो स्वर्गीय बाबुआमाको तस्बिरमा माल्यार्पण गर्दै उम्मेदवारहरूले आ–आफ्नो चुनावी अभियानको थालनी गरेका छन् । एमालेबाट प्रतिनिधिसभा सदस्यमा उठेका विशाल भट्टराई र प्रदेशसभा (ख) बाट उठेका रामप्रसाद दंगालले शहीद मुक्सन किरातको शालिकमा पुष्पगुच्छा अर्पण गर्दै आफ्नो चुनावी अभियान शुरु गरेका छन् । शहीद मुक्सन किरातको स्मृति दिवस पारेर दुई उम्मेदवारले असोज २४ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको अर्चलेस्थित समाधिस्थलमा बनाइएको शालिकमा पुष्पगुच्छा चढाएका थिए ।

‘प्रतिनिधिसभा सदस्यमा मनोनयन गरेपछि हामीले उनै शहीद मुक्सन किरातकी आमा सम्पूरा राईलाई साक्षी राखेर शालिकमा पुष्पगुच्छा अर्पण गरेर चुनावी अभियानको प्रारम्भ गरेका छौं,’ भट्टराईले फेसबुकमा लेखेका छन् । मुक्सनको द्वन्द्वकालमा २४ असोज २०५९ मा हत्या भएको थियो ।’

यस्तै गठबन्धन अन्तर्गत कांग्रेसबाट प्रदेशसभा (ख) मा उठेका भूपेन्द्र राईले आफ्नो स्वर्गीय आमाबुबाको तस्बिरमा माल्यार्पण गर्दै चुनावी अभियानको थालनी गरेका छन् । राईले दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खास्थित आफ्नो घरको भित्तामा झुण्ड्याइएको आमा गुम्माकुमारी राई र बुबा ध्यानबहादुर राईको तस्बिरमा माल्यार्पण गर्दै चुनावी अभियान थालेका हुन् ।

‘मलाई जन्म दिनु हुने बुबा–आमा भौतिक रूपमा हुनुहुन्न । हुनु भएको भए विजयको शुभकामना दिनु हुन्थ्यो,’ राईले फेसबुकमा लेखेका छन्, ‘त्यसैले आमा र बुवाको तस्बिरमा माल्यार्पण गरी आशिर्वाद माग्दै चुनावी अभियान शुरु गरेको छु ।’ अन्य उम्मेदवारले पनि आआफ्नै शैलीमा चुनावी अभियान थालेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७