नगरपालिकामा स्तनपान कक्ष स्थापना


२०७९ असोज २९ शनिबार १०:४७ बजे

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगरपालिकामा स्तनपान कक्ष निर्माण गरिएको छ । नगरपालिकाले प्रशासनिक भवनको नागरिक सेवा केन्द्रसँगै निर्माण गरेको स्तनपान कक्ष शुक्रबारदेखि सञ्चालनमा ल्याएको छ ।

नगरपालिकाभित्रका शिशु तथा आमाको स्वास्थ्य सुधारमा टेवा पुर्‍याउने उद्देश्यका साथ स्तनपान कक्षको स्थापना गरिएको नगर प्रमुख भीमलाल अधिकारीले बताए । ‘यसअघि नगरपालिकामा सेवा लिन आउने आमाहरुले आफ्नो शिशुलाई सुरक्षित रुपमा स्तनपान गराउने र शिशुलाई आराम गराउने स्थानको अभावमा समस्या भोग्नु परेको थियो’, नगर प्रमुख अधिकारीले भने, ‘स्तनपान कक्षको निर्माणपछि अब भने शिशु र आमा दुवैलाई सहजता आउँछ ।’

नगरपालिकामा सेवा लिन आउने आमाहरुले सार्वजनिक रुपमा आफ्ना बालबालीकालाई स्तनपान गराउन अप्ठ्यारो भएको महसुस गरिएपछि नगरपालिकाले स्तनपान कक्ष निर्माण गरेको अधिकारीको भनाइ छ ।

शुक्रबारदेखि सञ्चालनमा आएको स्तनपान कक्षले शिशुसहित सेवा लिन आमालाई सहज गराउने अधिकारीको भनाइ छ । नगरपालिकामा निर्माण गरिएको स्तनपान कक्षमा बिछ्यौनासहितको शैंया, शिशुलाई सुताउने झोलुङ्गो, आमाको हात सफा गर्नका लागि साबुनपानीलगायतको व्यवस्थापन गरिएको नगरपालिकाले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७