नवलपुरको निर्वाचनमा दुई हजार चार सय कर्मचारी खटिने


२९ आश्विन २०७९, शनिबार
chunab 2 scaled
फाइल फोटो

नवलपरासी । मंसिर ४ गते हुने सङ्घ र प्रदेश निर्वाचनमा नवलपुरमा दुई हजार चार सय बढी कर्मचारी खटिने भएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा मंसिर ४ गते हुने निर्वाचनका लागि दुई हजार चार सय १६ कर्मचारी परिचालन गरिने जिल्ला निर्वाचन कार्यालय नवलपुरका प्रमुख लालप्रसाद शर्मा भुसालले जानकारी दिए ।

निर्वाचन सम्पन्न गर्नका लागि यहाँ रहेका हरेक मतदान केन्द्रमा मतदान अधिकृतसहित आठ जना कर्मचारी परिचालन हुने उनले बताए । जिल्लामा एक सय १३ मतदानस्थल र तीन सय दुई मतदान केन्द्र छन् । प्रत्येक मतदान केन्द्रमा आठ जनाका दरले कर्मचारी परिचालन गरिने छ ।

दुई सय ५० सम्म मतदाता भएका केन्द्रमा छ जना र त्यसभन्दा धेरै मतदाता भएमा आठ जना कर्मचारी खटाउने योजनाअनुसार जिल्लाभर दुई हजार चार सय १६ कर्मचारी परिचालन गरिने निर्वाचन कार्यालय प्रमुख भुसालले बताए । नवलपुरमा दुई सय ५० भन्दा कम मतदाता भएको मतदान केन्द्र नरहेको उनले बताए । दुई सय ५१ भन्दा धेरै मतदाता भएको केन्द्रमा आठ जना कर्मचारी परिचालन गरिने र आवश्यक परे मतदान अधिकृतले स्वयंसेवक खटाउन सक्ने उनले बताए ।

निर्वाचनमा परिचालन गरिने कर्मचारी जिल्लाका सरकारी कार्यालय, शिक्षकलगायतबाट पूरा गरिने जिल्ला निर्वाचन कार्यालय प्रमुख भुसालले बताए । यसबाहेक नवलपुरमा दुईवटासम्म अस्थायी मतदान केन्द्र हुने कार्यालय प्रमुख भुसालले बताए । जिल्लामा रहेका सुरक्षाकर्मी, कर्मचारीका लागि बढीमा दुई वटासम्म अस्थायी मतदान केन्द्र निर्माणका विषयमा छलफल भइरहेको तर अझै टुङ्गो भने नलागेको उहाँको भनाइ छ । अस्थायी मतदान केन्द्रबाट सङ्घीय समानुपातिकतर्फमात्रै मतदान गर्न सकिने छ ।

जिल्ला निर्वाचन कार्यालयले मतदाता शिक्षास मेत सञ्चालनको तयारी गरेको छ । जिल्लामा रहेका सबै पालिकामा पालिकास्तरबाट निर्वाचन शिक्षा कार्यक्रम सञ्चालनको तयारी गरिएको उनको भनाइ छ । ‘मत बदर नहोस् भनेर हरेक पालिकास्तरमा मतदाता शिक्षा सञ्चालनको तयारी छ, सम्भवत यसपटक पालिकालाई नै मतदाता शिक्षा सञ्चालनको जिम्मेवारी प्रदान गरिने छ’, कार्यालय प्रमुख भुसालले भने । कात्तिक २ गतेपछि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने तयारी रहेको उनको भनाइ छ ।

दुई सङ्घीय निर्वाचन र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको नवलपुरमा कुल मतदाता दुई लाख ६० हजार चार सय ६२ छन् । जसमा पुरुष एक लाख २४ हजार तीन सय ३६ र महिला मतदाताको सङ्ख्या एक लाख ३६ हजार एक सय २१ छन् । सङ्घीय निर्वाचन क्षेत्र नं १ मा कुल मतदाता एक लाख ३१ हजार एक सय ८१ छन् । क्षेत्र नं २ मा एक लाख २९ हजार दुई सय ८० मतदाता छन् । प्रदेशसभातर्फ १ (क) मा ६३ हजार पाँच सय ३५, १ (ख) मा ६७ हजार छ सय ४६, २ (क) मा ६४ हजार पाँच सय १८ र २ (ख) मा ६४ हजार सात सय ६२ मतदाता छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७