संविधानमाथि तरबार झुण्डिएको छ : मन्त्री चौधरी


२०७९ असोज २९ शनिबार १०:४२ बजे

दाङ । नेकपा (एकीकृत समाजवादी) का पोलिट्ब्यूरो सदस्य एवं शहरी विकास मन्त्री मेटमणि चौधरीले नयाँ संविधानमाथि तरबार झुण्डिएको बताएका छन् ।

क्षेत्र नं १ (क), दाङको लालमटियामा शुक्रबार आयोजित गठबन्धन दलको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री चौधरीले उक्त धारणा व्यक्त गरेका हुन् । संकटको बेला नेपालका दलहरु एक ठाउँमा आउने गरेको इतिहास रहेका बताउँदै मन्त्री चौधरीले भने, ‘विश्वमै उत्कृष्ट संविधान हामीले मिलेरै बनाऔं । समाजमा पिछडिएका वर्ग र तप्काका मानिसहरुलाई राज्यको मूलधारमा ल्याउने कानुनी व्यवस्था गरियो । हरेक दृष्टिकोणले प्रगतिशील संविधान बन्यो । तर केपी ओलीलाई पचेन । जनताले खुसी मनाए तर केपी ओलीको समुहले त्यो खुुशी देख्न सकेन । त्यसैकारण यतिबेला नेपालको संविधानमाथि तरबार झुण्डिएको छ ।’

राप्ती कोरिडोर, घोराहीलाई बेस मानेर घोराही –लमही, घोराही –तुल्सीपुर, लमही –रिहारसम्म पोड वेको डिपिआरको तयारी, स्वर्गद्धारी पुग्ने केवलकार, श्रीनारायण चोकदेखि स्वर्गद्धारी जोड्ने बाटो निर्माण जस्ता महत्वपूर्ण योजनाहरु आफूले अघि सारेको बताउँदै क्षेत्र नं १ को गठबन्धनको उम्मेदवार समेत रहेका सहरी मन्त्री चौधरीले आफ्नै कारण मुलुकमा खरको छानो हटाउने राष्ट्रिय अभियान चलेको सुनाए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजीत थारु, माओवादी केन्द्रका जिल्ला इन्चार्ज निर्मल आचार्य, जनमोर्चा नेपालका जिल्ला अध्यक्ष गणेश आचार्य, काँग्रेसका क्षेत्रीय अध्यक्ष भेषराज पाण्डे, एकीकृत समाजवादीका केन्द्रीय परिषद सदस्य तिलक केसी, कांग्रेसका लुम्बिनी प्रदेश सदस्य देब नारायण चौधरी लगायतले गठबन्धनका पक्षमा मतदान गर्न कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७