कालीगढ पलायनले टक्सारको धातु व्यवसाय संकटमा


२९ आश्विन २०७९, शनिबार
bhojpure karuwa

भोजपुर । इतिहास बोकेको भोजपुर नगरपालिका–१२ टक्सारको धातुसम्बन्धी सामग्री बनाउने उद्योग कुनै बेला चर्चामा थियो । तर अहिले आएर स्थानीयवासीसमेत विस्थापित हुने क्रम बढेकाले त्यहाँको धातु व्यवसाय नै संकटमा परेको छ ।

स्थानीयवासीका साथै दक्षकालीगढ समेत विस्थापित हुन थालेपछि टक्सारमा अहिले चार पाँच घरले मात्र धातुको व्यवसाय गर्दै आइरहेका छन् । विगतमा भोजपुरको टक्सारमा बनेका धातुका सामग्री बिक्रीका लागि अन्यत्र जाने गरेको भए पनि अहिले जिल्ला बाहिर बनेका धातुका सामग्री भोजपुरमा बिक्रीका लागि आउने गरेको व्यवसायी नवराज श्रेष्ठले बताए ।

अहिले बजारमा बिक्रीका लागि राखिएका धातुका सामग्री धेरै मात्रमा धरानबाट आउँछ । अहिले केही घर बाँकी रहेका टक्सारका व्यवसायी पनि माग अनुसारका सामग्री मात्र उत्पादन गर्ने गरेको स्थानीय साजुकाजी शाक्यको भनाइ छ । शाक्यले भने, ‘विगतमा जस्तो धातु व्यवसाय अहिले छैन, ऐतिहासिक टक्सार बजार अहिले नाममा मात्र सीमित बन्न पुगेको छ ।’

टक्सारमा निर्मित करुवा, तामाको भाँडा, गाग्रो, काँसको थाल, लोटा, आमखोरा, अन्टी, ग्लास, कचाँैरा, डबका नेपालभित्र मात्र नभएर विदेशमा समेत प्रसिद्ध रहेको थियो । ऐतिहासिक कलामा पोख्त कालीगढ पलायन भएपछि मूर्तिकला र हस्तकलाको उद्योग पनि लोप भएको हो ।

कालीगढको अभावसँगै कच्चापदार्थको अभावमा धातु उद्योग फस्टाउन सकेको छैन । स्थानीयस्तरमा खानी सञ्चालन नभएकोले तराईबाट आवश्यक कच्चा पदार्थ र कोइला ढुवानी गर्दा महँगो हुने भएकाले पनि टक्सारबाट कालीगढको विस्थापन हुने क्रम बढेको स्थानीयवासी बिमल शाक्यले बताए ।

टक्सारमै रहेको घरेलु विकास कार्यालयका अनुसार विगतमा दर्ता भएका धातु उद्योग अहिले केही मात्र सञ्चालनमा देखिएका छन् । यहाँ निर्मित हस्तकलाका सामग्री नेपालमा मात्र होइन, चीनको तिब्बत् र भारतको दार्जिलिङ्, आसाम, सिलगढी तथा कोलकातासम्म बिक्रीका लागि निर्यात हुने गरेको स्थानीयवासीको भनाइ छ । टक्सारबाट विस्थापन हुने क्रम नरोकिएकाले पनि यो बजारको धातु उद्योग पनि सङ्कटमा परेको स्थानीयवासी बिमल रणपहेलीको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७