ओनसरीलाई जिताउने जिम्मा कांग्रेसले लिन्छ : कुइँकेल


२९ आश्विन २०७९, शनिबार
310982476 502945261456208 4155349019862789814 n.jpg

काठमाडौं । नेपाली कांग्रेस नेता दीपक कुइँकेलले काठमाडौं–२ की सत्ता गठबन्धन उम्मेदवार पूर्व सभामुख ओनसरी घर्तीलाई जिताउने जिम्मा आफूहरूले लिने बताएका छन् ।

आज (शनिबार) काठमाडौं–२ मा सत्ता गठबन्धनको उम्मेदवार परिचयात्मक कार्यक्रममा पूर्व सांसद समेत रहेका कुइँकेलले ओनसरी माओवादीको मात्र नभई कांग्रेस र एकीकृत समाजवादीको पनि उम्मेदवार भएको बताए । घर्ती जत्तिको राष्ट्रिय व्यक्तित्वलाई गठबन्धनले उम्मेदवार बनाएर पठाउनु काठमाडौं–२ का मतदाताका लागि खुशीको कुरा भएको उनले बताए ।

‘ओनसरी घर्ती योग्य उम्मेदवार हुनुहुन्छ । उहाँलाई जिताउने जिम्मा हाम्रो हो । काठमाण्डु–२ का काँग्रेसजन र समाजवादीको हो’, उनले भने, ‘लोकतन्त्र, संविधान र व्यवस्थाको रक्षाका लागि गठबन्धनका उम्मेदवार जिताउनु हाम्रो धर्म हो ।’ संविधानसभा उपाध्यक्ष भएर संविधान निर्माण र संविधान जारी भएपछि रुपान्तरित प्रतिनिधिसभाको सभामुखका रुपमा संविधानअनुसारका कानुन निर्माणमा घर्तीले सकारात्मक भूमिका खेलेको उनले बताए ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका नेता नितेश पौडेलले ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा प्रतिगमन पक्षधर उम्मेदवार पराजित हुने दाबी गरे । पूर्वसभामुख घर्तीले आफूलाई एक महिनाको समय दिन कार्यक्रममा सहभागी सबै दलका नेता कार्यकर्तालाई आग्रह गरिन् ।

आफूलाई एक महिनाको समय दिन भन्दै उनले काठमाण्डु–२ का लागि आफूले पाँच वर्ष दिने बताइन् । उनले वर्तमान संविधान र राजनीतिक व्यवस्था स्वर्गीय काँग्रेस नेता गिरिजाप्रसाद कोइराला, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र तत्कालीन एमाले महासचिव माधवकुमार नेपालको साझा मिशन भएको उल्लेख गरिन् ।

‘गिरिजाबाबु, कमरेड प्रचण्ड र कमरेड माधव नेपाल मिलेर अघि बढाउनु भएको शान्ति र संविधानको मिशन हो’, उनले भनिन्, ‘अहिले व्यवस्था र संविधानमाथि प्रतिगामीहरुले आक्रमण गरिरहेका छन्, यो रोक्न बाम लोकतान्त्रिक गठबन्धन बनेको हो ।’ घर्तीले काठमाडौं–२ को समग्र विकासका साथै तीनकुने र सिनामंगल क्षेत्रको मुआब्जा र अधिग्रहणको समस्या समाधानमा आफ्नो प्रयास रहने बताइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७