मौसममा सामान्य बदली : कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना


३० आश्विन २०७९, आईतवार
kuhiro

काठमाडौं । अहिले देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको मौसमविदले जनाएका छन् । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालको पूर्वी भू–भागमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।

आज (आइतबार) दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

भोलि सोमबार सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

कार्तिक ०१ गते मंगलबार पनि सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशको पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस वर्षको मनसुन आजबाट क्रमशः बाहिरिँदै गएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले मनसुन बहिर्गमनसम्बन्धी विशेष मनसुन बुलेटिन निकालेर देशको प्रदेश नम्बर १ बाहेकका प्रदेशबाट मनसुन बाहिरिएको जनाएको हो ।

‘गत जेठ २२ गते नेपालको पूर्वी भू–भागबाट प्रवेश गरेको यस वर्षको मनसुन आजदेखि नेपालको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र मधेश प्रदेशको पश्चिमी भू–भागबाट बाहिरिएको छ’, जारी बुलेटिनमा भनिएको छ ।

नेपालको बाँकी भू–भागबाट मनसुन बहिर्गमन हुन अझै केही दिन लाग्ने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । सरदरमा अक्टोबर २ तारिखका दिन नेपालबाट बाहिरिने मनसुन, यस वर्ष औसत मितिभन्दा केही दिन ढिलो गरी बहिर्गमन हुन सुरु भएको छ । मौसम पूर्वानुमान महाशाखाले आवश्यकताअनुसार विशेष मौसम बुलेटिन अद्यावधिक गर्ने पनि जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७