बीच सडकमै ढल फुट्दा आवतजावतमा समस्या


३० आश्विन २०७९, आईतवार
kharab sadak1665883244
फाइल फोटो

खोटाङ । खोटाङको दिक्तेल बजारस्थित जिल्ला अस्पताल चोकबाट दोर्पा–दुम्ली जोड्ने सडकखण्डअन्तर्गत थर्पुचोकमा निर्माण गरिएको ढल फुट्दा सवारीसाधनसँगै पैदलयात्रुलाई आवतजावतमा समस्या भएको छ ।

सडकको बीचबाट पानी कटाएर फाल्ने गरी निर्माण गरिएको ढल फुट्दा सवारीसाधन वारपार गर्न र पैदल यात्रुलाई हिँडडुल गर्न समस्या भएको स्थानीयले बताएका छन् । करिब पाँच मिटर चौडाइ ढलान गरिएको उक्त सडकखण्डमा निर्माण गरिएको ढलको करिब तीन मिटरजति भाग फुटेर दुर्घटनाग्रस्त क्षेत्र बनेको पाइएको छ । बीच सडकमा ढल फुटेपछि गाडीको टायर राखेर सवारीसाधान वारपार गराउने गरिएको यातायात व्यवसायीहरूले बताएका छन् ।

ढल फुटेर जोखिमयुक्त क्षेत्र बनेको सडकमा पशुचौपाया हिँडडुल गराउँदा धेरैपटक खुट्टा अड्किएर चोटपटक समेत लागेको स्थानीय बासिन्दाले बताएका छन् । विशेष गरी घर वरपर खेल्ने बालबालिका तथा विद्यालय आवतजावत गर्ने साना उमेरका विद्यार्थीलाई उक्त स्थानमा जोगाउन कठिन भएको स्थानीय हीरालाल रिजालले बताए ।

ढल निर्माण गर्ने ठेकेदारदेखि प्राविधिकसम्मको कमजोरीका कारण निर्माण भएको दुई वर्षमै ढल फुटेको स्थानीय बासिन्दाको आरोप छ । केही समयअघि ढल फुटेर सडकमुनि लगाइएको कोदोबालीमा क्षति पुगेको स्थानीय रमेशप्रसाद आचार्यले गुनासो गरे ।

ढलान गरिएको उक्त सडकखण्डमा खेतीयोग्य जमिनतर्फ पानी बग्ने गरी ढल निर्माण गरिएको भन्दै स्थानीय बासिन्दाले असन्तुष्टि जनाएका थिए । ठेकेदार कम्पनीले धान, कोदोलगायतका अन्नबाली उब्जाउ हुने ठाउँमा ढलबाट बग्ने पानी लगाएको जनाउँदै स्थानीय बासिन्दाले असन्तुष्टि जनाएका हुन् ।

ढल फुट्दा आफूहरूले सास्ती खेप्नुपरेको गुनासो स्थानीय बासिन्दाले गरेपछि शनिबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले स्थलगत अनुगमनसमेत गरेका छन् । अनुगमनका क्रममा स्थानीय बासिन्दाले उठाएको गुनासोलाई सम्बोधन गर्दै नगरप्रमुख भट्टराईले आवश्यक प्रक्रिया एवं बजेट व्यवस्थापन गरेर चाँडै समस्या समाधान गर्ने प्रतिबद्धता जनाए ।

ठेकेदार कम्पनीले दिक्तेल–दुम्ली सडकखण्डमा ढल निर्माण गर्दा कमसल सामग्री प्रयोग गर्नुका साथै मापदण्डविपरीत काम गरेकाले समस्या भएको देखिएको नगर प्रमुख भट्टराईले बताए ।

‘जता उकालो सडक छ, उतै ढलको निकास लगेको देखिन्छ’, उनले भने, ‘ठेकेदार कम्पनीले आफ्नो फाइदाका लागि कमसल सामग्री प्रयोग गर्नुका साथै मापदण्डविपरीत काम गरेको देखिन्छ । मापदण्डविपरीत काम गर्ने ठेकेदार कम्पनीलाई आवश्यक कारबाही गरिनेछ ।’

सडकको भित्तामा निर्माण गरिएको ढलमा ठेकेदार कम्पनीले फाइदा कमाउने उद्देश्यले पोलेथिन पाइप प्रयोग गरेको पाइएको छ । दुई वर्षअघि ढलान गरिएको उक्त सडकखण्डको विभिन्न ठाउँमा बिच्छ्याइएको रड निस्किएर जोखिमयुक्त क्षेत्र बनेको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७