चामल बाँडेपछि सहरी विकासमन्त्री चौधरीलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण


३० आश्विन २०७९, आईतवार
metmani 1

काठमाडौं । निर्वाचन आयोगले सहरी विकासमन्त्री मेटमणि चौधरीलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । मन्त्री चौधरीले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै दाङको चार वटा पालिकाका बाढीपीडितलाई राहत सामाग्री वितरण गरेपछि आयोगले आज (आइतबार) उनलाई स्पष्टीकरण सोधेको हो ।

शनिबार मन्त्री चौधरीले दाङमा गएर बाढीपीडितलाई १३ लाख रुपैयाँ बराबरको चामल वितरण गरेका थिए । उनले राप्ती, गढवा, राजपुर र लमही पालिकालाई ५० क्विन्टलका दरले चामल वितरण गरेका थिए ।

‘निर्वाचन आचारसंहिता, २०७९ को दफा ४, सबैले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (न) मा ‘कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ भन्ने व्यवस्था रहेको हुँदा तपाईंले आफ्नो निर्वाचन क्षेत्रका बाढीपीडितको नाममा चामल वितरण गर्ने कार्यले आचारसंहिताको उल्लङ्घन हुँदैन भनी पुष्ट्याई गर्ने आधार के छ ?,’ आयोगले मन्त्री चौधरीलाई सोधेको छ ।

जिल्ला प्रशासन कार्यालयमार्फत राहत वितरण गर्न सक्ने विकल्प हुँदाहुँदै त्यसो नगरी आफै राहात वितरण गर्नुपर्नाको कारण पनि पनि आयोगले उनीसँग मागेको छ । ‘तपाईं (मन्त्री चौधरी) बाट निर्वाचन आचारसहिताको उल्लंघन भएको भए निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम किन जरिवाना गर्नु नपर्ने हो ?,’ आयोगले सोधेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७