धनकुटामा गुडिरहेको भ्यानमा लाग्यो आगो


३१ आश्विन २०७९, सोमबार
Gadi aago
तस्बीर स्रोत : इलाका प्रहरी कार्यालय भेडेटार

धनकुटा । धनकुटाको साँगुरीगढी–६ भेडेटार नजिक चारखोलेमा सोमबार बिहान गुडिरहेको भ्यानमा आगो लागेको छ ।
तरकारी बोकेर धनकुटाबाट धरानतर्फ जाँदै गरेको प्रदेश नं. २, ०१००१ च २४१ नम्बरको गाडीमा बिहान २ः२० बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ ।

गुडिरहेको बेला अकस्मात वायरिङ सट भई आगो लागेको चालकले जानकारी दिएका छन् । गाडीको इन्जिनसहित अघिल्लो भागमा पूर्णरुपमा क्षति पुगेको भेडेटारका प्रहरी नायब निरीक्षक रामप्रसाद शर्माले जानकारी दिए । भेडेटारबाट पुगेको प्रहरी र अन्य गाडीका चालक सहचालकको मद्दतले आगो नियन्त्रणमा आएको शर्माको भनाई छ ।

गाडी चालक सिरहा मिर्चैयाका अनिश दर्लामीसँग सोधपुछ भइरहेको प्रहरीले जनाएको छ । गाडीमा सवार दुई यात्रु भने सकुशल छन् । १० दिनको फरकमा गाडीमा आगलागी भएको यो दोस्रो घटना हो । यसअघि गत असोज २१ गते पनि भेडेटार नजिकै यात्रुबाहक बसमा आगलागी भएको थियो ।

यता चौबिसे गाउँपालिका–७ ठूलढुंगास्थित महेन्द्र लिम्बूको घरमा आइतबार आगलागी भएको छ । बालबालिका खेल्ने क्रममा आगो चलाउँदा अपराह्न ३ बजे घटना भएको प्रहरीले जनाएको छ । आगलागीबाट दुई तले कच्ची घर पूर्णरुपमा क्षति भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७