इलामको पर्यटनमा करसोङ पदमार्ग र झण्डीडाँडा


३१ आश्विन २०७९, सोमबार
3514 Shares
jhandi dada scaled
  • बि चापागाई

इलाम र इलम

इलाम पूर्वी नेपालको सुन्दर पहाडी जिल्ला । साविक पूर्वाञ्चल विकास क्षेत्रको मेची अञ्चलमा पर्ने इलाम १ नम्बर प्रदेशका १४ जिल्लामध्येको एक चर्चित पर्यटकीय गन्तव्य पनि हो । भारतको ‘पहाडकी रानी’ उपमाले परिचित दार्जिलिङसँग जोडिएको, प्रायः चिसो मौसम भइरहने इलाम देशभर र बाहिरसमेत कृषि, पर्यापर्यटनमा समुन्नत जिल्लाका रूपमा चिनिन्छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

अलैंची, अकबरे, अदुवा, ओलन र अम्लिसो गरी पाँच ‘अ’ले ख्याति कमाएको इलामको कृषि क्षेत्र केही वर्षयता निर्वाहमुखीबाट व्यावसायिकतातिर जाँदैछ । अहिले पाँच ‘अ’लाई आठ ‘अ’ भन्न थालिएको छ । ती आठ ‘अ’मा अर्थाेडक्स चिया, आलु र आतिथ्य थपिएका छन् । किबी र एबोकाडोलाई नयाँ प्रोडक्टका रूपमा विकास गरिँदैछ । इस्कुस, काँक्रा, गोलभेंडा र सागको व्यावसायिक उत्पादन हुन थालेको छ । कृषिलाई आम्दानीको स्रोत बनाइरहेका इलामबासी बिस्तारै पर्यटन व्यवसायतर्फ जोडिँदैछन् ।

ncll 2

इलाम पर्यटनमा पाइला चाल्नेक्रममा छ । सन्दकपुर, माइपोखरी, कन्याम, अन्तुडाँडा, नेपालकै पहिलो चियाबारी, देशकै पहिलो चिया उद्योग मुख्य पर्यटकीय क्षेत्र रहेकामा पछिल्लो समय यस्ता ठाउँसमेत थपिनेक्रममा छन् । पर्यटक आउ–जाउ बाक्लिँदै गएपछि ऐतिहासिक, सांस्कृतिक र महत्वपूर्ण तर ओझेलमा रहेका नयाँ–नयाँ पर्यटकीय गन्तव्य पहिचान हुँदैछन् । बहिनी पाथीभरा, सिद्धिथुम्का, थुम्केरानी, करसोङ पदमार्ग, चोयाटार वन, छिन्टापु, लारुम्बा, पानीटार, झण्डीडाँडा र ह्याप्पी ड्रिम्सलगायत पर्यटकीयस्थल पर्यटकका आकर्षण बन्दैछन् ।

jagdamba.cement

महाभारत र शिवालिक पर्वत शृंखलाको पूर्वदक्षिण काखमा रहेकाले इलाम प्राकृतिक दृष्टिले मनमोहक छ । सुन्दर चियाबारी, पोखरी, हरियाली, नदीनाला, मठमन्दिर, पर्वतीय शिखरहरू आकर्षणका केन्द्र हुन् । देशको संघीय राजधानी काठमाडौँबाट इलाम करिब ८ सय ५० किलोमिटरमा छ । थुम्काथुम्का चियाबारी, हरियाली, नदीनाला र स्वच्छ हावापानीले बाह«ैमास पर्यटक आकर्षित गरिरहेको छ इलामले । दर्जनौ प्रजातिका लालीगुराँस, सुनाखरी, सयौं प्रजातिका चरा, विश्वकै दुर्लभ जनावर रेडपान्डा यहाँका आकर्षण हुन् ।

गाउँ–गाउँमा पर्यटनको चेतना विस्तार हुँदै गएपछि संघीय, प्रदेश र स्थानीय सरकारसमेत पर्यटकीय पूर्वाधारमा क्रियाशील हुँदैछन् । विशेषगरी स्थानीय सरकारहरू आफ्नो क्षेत्रभित्र पर्ने पर्यटकीयस्थलको संरक्षण, विकास र प्रचारमा चासो राख्दैछन् । पर्यटनका माध्यमबाट स्थानीयको आयस्तर वृद्धि, सांस्कृतिक संरक्षण र पूर्वाधार विकासमा टेवा पुग्दैछ ।

विशेषगरी पर्यटनकै माध्यमबाट परिचित इलाम जिल्लामा मेची राजमार्गको जोरकलश, भारतीय सीमाक्षेत्र पशुपतिनगर, सन्दकपुर, मानेभञ्ज्याङ पाँचथरसँगको सीमा राँकेलगायत द्वारबाट पर्यटक आउँछन् । इलाम भित्रिने पर्यटकको यकिन संख्या पाउन सकिँदैन । जोरकलश सूचना केन्द्रमा राखिएको विवरणअनुसार हरेक वर्ष डेढ लाख हाराहारी पर्यटक इलाम भित्रिएको देखिन्छ । र, यहाँ भित्रिने विदेशी पर्यटकमध्ये सबैजसो भारतीय नै हुन्छन् । यो विवरण पनि जोरकलशबाट इलाम भित्रिनै सबै पर्यटकको चाहिँ होइन ।

करसोङ पदमार्ग

Karsong trail scaled
करासोङ पदमार्गको प्रवेशद्धार

केही वर्षयता इलामका गाउँ–गाउँमा पर्यटनप्रति सरोकारवाला र स्थानीयको समेत चासो बढ्दो छ । प्राकृतिक सौन्दर्यमात्र होइन, कृषि र संस्कृतिलाई पनि पर्यटनसँग जोडेर किसानसम्मको आर्थिक उपार्जन गर्ने अवधारणा गाउँ–गाउँमा विकास हुँदैछ । पर्यटकलाई नयाँ–नयाँ सूचना र जानकारी दिन, नयाँ ठाउँ घुमाउन, देखाउन र खानाको नयाँ स्वाद चखाउनेतिर मानिसको रुचि बढेको देखिएको छ । यहीक्रममा नयाँ अवधारणासहित विकास हुँदैगरेको पर्यटकीय गन्तव्य बनेको छ अहिले इलामको रोङ गाउँपालिकास्थित करसोङ पदमार्ग ।

प्राकृतिक हिसाबले सुन्दर, हराभरा, तराईसँगै जोडिएको भू–भागको चिसो हावापानी, ऐतिहासिक, धार्मिक र सांस्कृतिक पक्षको संगमका रूपमा विकास भइरहेको छ यतिबेला करसोङ पदमार्ग । तराई र भारतीय सीमाबाटसमेत नजिक पर्ने भएकाले करसोङ पदमार्गलाई प्रचुर सम्भावनायुक्त पर्यटकीय गन्तव्यका रूपमा विकास गरिँदैछ । रोङ गाउँपालिका स्थित मेची राजमार्गको हासपोखरी खण्डबाट नेपाल–भारत सीमा मेचीखोलासम्मको २९ किलोमिटर पदमार्गमा पूर्वाधार धमाधम विकास भइरहेको छ । यो पदमार्गका २० स्थानलाई महत्वका साथ आकर्षक पर्यटकीय गन्तव्यका रूपमा चिनाउन स्थानीय जागरुक भएका छन् । समुद्री सतहको ५ सय मिटरदेखि एक हजार ८ सय मिटर उचाईसम्ममा निर्माण गरिएको यो पदमार्गमा आउने पर्यटकलाई एड्भेन्चर टुरिज्मको अनुभव हुनेगर्छ । जैविक विविधता र वनस्पति विज्ञानका विद्यार्थीलाई अध्ययनका लागि पनि यो पदमार्ग महत्वपूर्ण छ ।

%E0%A4%95%E0%A4%B0%E0%A4%BE%E0%A4%B8%E0%A5%8B%E0%A4%99 %E0%A4%AA%E0%A4%A6%E0%A4%AE%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%97%E0%A4%95%E0%A5%8B %E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%B5%E0%A5%87%E0%A4%B6%E0%A4%A6%E0%A5%8D%E0%A4%A7%E0%A4%BE%E0%A4%B0 scaled
करासोङ पदमार्गको प्रवेशद्धार

‘करसोङ’ लेप्चा भाषामा सुनाखरी फूल हो । रोङ गाउँपालिकाको हासपोखरी क्षेत्रमा दर्जनौं सुनाखरी पाइने जंगल छ । यहाँको सुनाखरी पनि विस्तृत वैज्ञानिक अध्ययन हुनेक्रममा छ । रोङ गाउँपालिकामा लेप्चा समुदायको बाक्लो बसोबास पनि छ ।

करसोङ नामकरण २०७८ सालमा गरिएपनि यो पदमार्गको सुरुआत ‘हासपोखरी, हल्लने, गिद्धेभिर, झन्डी, सलकपुर, मेची दोभान, पाटापुर’ नाममा भएको थियो । मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति र स्थानीयको सक्रियतामा यो पदमार्ग निर्माण थालिएको हो । जम्मा २९ किलोमिटर पदमार्गको १९ किलोमिटर ट्र्याक खुलिसकेको छ । रोङ गाउँपालिकाको अगुवाईमा अहिले पर्यटन प्रवद्र्धनका काम भइरहेका छन् । पदमार्गमा पर्ने मुख्य २० वटा पोइन्टलाई मुख्य आकर्षक गन्तव्य बनाएर यो क्षेत्रको एकीकृत पर्यटन विकासको योजना बनाइएको छ ।

Jhandi Dada 8

यो पदमार्गमा झापा र भारतका पर्यटकसमेत मेचीनगर बाट उकालो लागेर रमाइलै रमाइलो ठाउँ भएर कन्यामसम्म आउन–जान सक्छन् । यही रुटमा अहिले पनि साइकल गुडाएर झापादेखि पाथीभरा मन्दिर आउ–जाउ गर्न सकिन्छ । यसलाई माउन्टेन बाइक ट्रेलका रूपमा अघि सारिएको हो । हासपोखरीदेखि रम्भ्याङको मसिनेडाँडासम्म करिब ९ किलोमिटरमा चाहिँ जंगलैजंगल र बस्तीविहीन पहाड छ । यहाँ दोकान, पसल, होम–स्टे छैनन् ।

Kangsore Gate Ilam
करसोङ पदमार्ग

झन्डीडाँडानजिकै पुगेपछि घरहरू र होम–स्टे छन् । पदमार्गको छेवैमा खानेपानीको ट्याङ्कीसमेत निर्माण गरिएपछि पदयात्रीलाई सुविधा पुगेको छ । पदमार्गका ठाउँ–ठाउँमा आरामका लागि काठबाटै निर्मित चौतारी बनाइएका छन् । कतै काठकै मुढालाई बसेर आराम गर्ने व्यवस्था मिलाइएको छ भने केही ठाउँमा कटेरोसमेत बनाइएको छ । पर्यटकलाई आकर्षण थप्न ठाउँ–ठाउँमा ढुंगाका नयाँ आकृति, रुख बुट्यानका अनौठा संरचना राखिएका छन् । पदमार्गछेउका रुख रंगाएर थप आकर्षक बनाइएका छन् ।

कुनैबेला सुन्तला र अलैंचीमा नाम कमाएको सलकपुर पनि यही पदमार्गको रुटमा पर्छ । सुन्तला धेरै मासिएपनि अलैंचीलगायत कृषि, पर्यापर्यटनमा सलकपुर र रम्भ्याङ उत्तिकै सम्भावित क्षेत्र छन् । विज्ञान पढ्ने विद्यार्थीका लागि वनस्पति विज्ञान अवलोकन, सेरेना जातको मौरीको महका लागि पनि यो पदमार्गका विभिन्न स्थान चर्चित छन् ।

पदमार्गमा पर्ने मुख्य पर्यटकीय पोइन्टहरू

हासपोखरी

एक हजार ७ सय मिटर हाराहारी उचाईमा रहेको हासपोखरी मेची राजमार्गबाट करसोङ पदमार्ग प्रवेश गर्ने पोइन्ट हो । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको चारआलीबाट मेची राजमार्ग भएर करिब ३० किलोमिटर उत्तरमा रहेको हासपोखरी दर्जनौं प्रकारका सुनाखरी पाइने महत्वपूर्ण जंगलले घेरिएको छ । सधैंजसो चिसो मौसम भइरहने हासपोखरीनजिकै बहिनी पाथीभरा मन्दिर पनि छ । यहाँ प्रायः मंगलबार र शनिबार भक्तजन तथा पर्यटकको घुइँचो लाग्छ । हासपोखरीबाट करसोङ पदमार्ग प्रवेश गर्ने स्थानमा प्रवेशद्वार (गेट) निर्माण गरिएको छ । मौलिक सामग्रीबाट कलात्मक हिसाबले बनाइएका गेटवरिपरि फूलबारीको सजावट छ । पर्यटकलाई सजिलोका लागि पदमार्गका पोइन्टबारे प्रवेशद्वारमै सूचना बोर्ड राखिएको छ । यहाँबाट उकालो लागेपछि पदमार्गको यात्रा सुरु हुन्छ ।

हासपोखरी सांस्कृतिक महत्व बोकेको ठाउँ पनि हो । यो ठाउँ लेप्चा समुदायको पवित्र तीर्थस्थल हो । लेप्चा भाषामा च्युु (बाबु)का रूपमा कञ्चनजंघा हिमाललाई र दह (आमा)का रूपमा हासपोखरीलाई लिइन्छ । लेप्चाको तसे नामथर (धार्मिक ग्रन्थ)मा हासपोखरीको विषयमा उल्लेख पाइन्छ । हासपोखरीबाट कञ्चनजंघा देखिन्छ । र, कञ्चनजंघाबाट पनि हासपोखरी नियाल्न सकिन्छ ।

गुगल पोइन्ट

Google Point

गुगल पोइन्ट नयाँ र फरक किसिमको पर्यटकीय आकर्षणको बिन्दुु हो । समुद्री सतहबाट १ हजार ८ सय १७ मिटर उचाईको यो चुली डाँडामा भू–मापनका लागि सामान्य पूर्वाधार बनाएको देखिन्छ । नापी विभागले यो अग्लो डाँडालाई आधार बनाएर झापासम्मको भू–भाग मापन गर्न यो ठाउँ रोजेको हो । तर, यो ठाउँ अहिले पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदैछ । यहाँबाट हिमाल, पहाड र तराईका भू–भाग नियाल्न सकिन्छ । सूर्याेदय र हिमाल दृश्यावलोकनका लागि यो डाँडो निकै आकर्षक छ ।

देवानगढी (देवानडाँडा)

देवानगढी यो पदमार्गको एक ऐतिहासिक र सांस्कृतिक स्थान हो । यो ठाउँ करसोङ पदमार्गअन्तर्गत गुगल पोइन्ट र दैलेको बीचमा पर्छ । बाइसे–चौबीसे राज्य प्रचलनमा रहेका बेला देवान जातिका राजा (बुद्धिकर्ण र अर्का एक)ले शासन गरेको ठाउँ यही गाउँपालिकाको इरौंटार थियो । इरौंटारको त्यो एउटा क्षेत्रलाई अहिले पनि देवानछाप भन्ने गरिन्छ । तिनै राजाको मृत्युपछि समाधिस्थ गरिएको ठाउँ चाहिँ यहाँको देवानगढी हो ।

नेपाल एकीकरणका बेला यहाँका देवानहरू र पृथ्वीनारायण साहका सिपाहीबीच युद्ध भएको, युद्धमा देवानहरू पराजित भएको र उनीहरूले देवानछाप छाडेर गएको किंवदन्ती छ । देवान जाति निरगभिरको ठूलो गुफामा गाढधन राखेर पुनः देउरालीमा अन्तिम युद्धमा गएको र युद्ध लड्न हात्तीमा चढेर गएका देवान राजाले समेत वीरगति प्राप्त गरेको कथा सुन्न पाइन्छ । मृत्युपछि ठूलो ज्यान भएका देवान राजाको शव मान्छेले उचाल्न नसकी हात्तीको सहयोग लिएर उचाल्दै खाडलमा हालेर सतीगौंडामा दाहसंस्कार गरिएको इतिहास छ ।

देवान जातिको इतिहास र उनीहरूको ऐतिहासिक योगदानबाट नै इरौंटारमा चाहिँ देवानछाप भन्ने एउटा ठाउँको नाम रह्यो भने उनीहरूको समाधीस्थललाई देवानगढी भनियो । देवानछाप आसपासमा अहिले सुनुवार, मगर, राई, लिम्बू, ब्राह्मण, क्षेत्री र लेप्चा जातिको बसोबास छ । अहिले यहाँ देवान जातिको बसोबास छैन । यसको आसपासमा देवानटार, देवान झरना र देवान दरबारसमेत छन् । त्यतिबेला इरौंटारमा बसोबास रहेको देवान जातिको अहिले इलाम जिल्लाका विभिन्न स्थानमा बसोबास छ । र, उनीहरू यहींबाट विस्तार भएको मानिन्छ ।

गिद्धेभिर (गिद्धेपहरो, गिद्धेडाँडा)

गिद्ध बस्ने ठाउँ भएकाले यो स्थानलाई गिद्धेभिर भनिएको हो । ठूलो संख्याका गिद्धको बसोबास रहेकाले यो ठाउँ निकै आकर्षक छ । वर्षको एक सिजनमा सयौंको संख्यामा गिद्ध यहाँ आएर बस्छन् । मंसिरदेखि चैत–वैशाखसम्म यहाँ गिद्ध नजिकैबाट हेर्न पाइन्छ । यहाँ नेपाल र भारतका विभिन्न स्थानबाट गिद्ध आएर बस्ने गरेका छन् । चरा अध्ययनका लागि यो ठाउँ उपयुक्त मानिन्छ । यसैको छेउमा साकेला डाँडा पनि छ । यो चाहिँ परापूर्वकालमा किरात राईले साकेला नाच्ने ठाउँ हो भन्ने किंवदन्ती छ ।

दैले

पदमार्गमै रहेको दैले भञ्ज्याङ दैलो वा ढोकाकै रूपमा परिचित छ । ढुंगाको दैलोजस्तो ठाउँ भएकाले यसलाई दैले भनिएको हो । परापूर्वकालमा कुनै न कुनै संस्कृति वा सभ्यताको उद्गम र विकास भएको अनुमान गरिएको यो ठाउँबारे विस्तृत अध्ययन हुन बाँकी छ । परापूर्वकालमा कुनै विशेष ठाउँमा छिर्न यो ढोका प्रयोग गरिएको हुनसक्ने अनुमान स्थानीयको छ ।

हल्लने ढुंगा

%E0%A4%B9%E0%A4%B2%E0%A5%8D%E0%A4%B2%E0%A4%A8%E0%A5%87 %E0%A4%A2%E0%A5%81%E0%A4%82%E0%A4%97%E0%A4%BE
हल्लने ढुंगा

यहाँको अर्काे चर्चित स्थल हल्लने ढुंगा पनि हो । हल्लने ढुंगा हल्लिने ढुंगा हो । विशाल ढुंगामाथि अर्काे अलि सानो ढुंगा छ । त्यसलाई खसाल्न वा सार्न सकिँदैन तर निकै ओजनको यो ढुंगालाई एकै औंलाले पनि हल्लाउन चाहिँ सकिन्छ । हेर्दै आश्चर्य लाग्ने यो ढुंगा वर्षाैंदेखि उही अवस्था देखिन्छ । सनसारीडाँडाले पनि पर्यटक आकर्षित गरिरहेको छ । यही क्षेत्रमा भेडीचोक पनि पर्छ । भेडीचोक उहिले गाउँभरिका भेडा चराउने ठाउँका रूपमा चिनिन्छ । अग्लो डाँडाको शिरमा फराकिलो चौर रहेकाले यो ठाउँ निकै आकर्षक छ । यहाँ वनभोज खान पनि निकै रमाइलो हुन्छ । बुद्धचोक र पीपलडाँडा आकर्षक छन् ।

धजे भञ्ज्याङ

रोङ–६ मा पर्ने धजे भञ्ज्याङ महत्वपूर्ण र ऐतिहासिक ठाउँ हो । यो ठाउँ पञ्चायतकालमा इलाम–झापा आउ–जाउ गर्ने नाका वा गौंडा थियो । धजेको सौन्दर्य पनि पर्यटक लोभ्याउने खालको छ । यहाँ अढाई दशकअघिसम्म ठूलो मेलासमेत लाग्नेगरेको थियो । गाउँको कृषिउपज विक्री र विनिमयका लागि यहाँ हाट लाग्नेगरेको थियो । उँधौली, उँभौली, चैतेदसैंलगायत अवसरमा यहाँ ४ देखि ५ दिनसम्म पनि मेला लाग्नेगरेको थियो । झन्डीडाँडा र रमितेडाँडाजस्ता पर्यटकीयस्थल यसको नजिकै छन् । अर्काे महत्वपूर्ण क्षेत्र लामागाउँ पनि नजिकै छ । यहाँको रमितेडाँडामा रहेको गुम्बामा दर्शन गर्न आउनेहरू धजेकै बाटो भएर झन्डीडाँडामा पुग्न सक्छन् ।

Jhandi Dada 6

धजे भञ्ज्याङमा विश्रामका लागि बर–पीपल र चौतारो पनि छ । बटुवा र घाँस–दाउरा गर्नेहरू हावामा सुस्ताउँदै यहाँ आराम गर्छन् । बर–पीपल चौतारामा बसेर दक्षिणतिर हेर्दा तराईका समथर फाँटहरू र उत्तरतर्फ कञ्चनजंघा हिमाललगायत हिमशृंखला, अन्तुडाँडा र कन्यामलगायत विभिन्न स्थान देखिन्छन् । धजे भञ्ज्याङ आसपासमा रक क्लाइम्बिङको सम्भावना पहिल्याइँदै छ । धजे र झन्डी आसपासमा जिपलाइनको पनि अध्ययन गरिँदैछ । यहाँ लिङ्गे पिङ हालेर त्यसैलाई व्यावसायिक बनाउने सम्भावना पनि उत्तिकै छ ।

धजे भञ्ज्याङमा यातायात सुविधा, बदलिँदो जीवनशैली, पर्यटन विकासको गतिविधि र सम्भावनालाई मध्यनजर गरेर पुरानो धजे मेलालाई पुनस्र्थापना गर्न स्थानिय तहमा गृहकार्य सुरु भएको छ । स्थानीयका लागि फुकोफालो सिजन वैशाखे पूर्णिमा र मङ्सिरे पूर्णिमामा धजे र झन्डीडाँडाको पर्यटनसमेतलाई समेटेर रम्भ्याङ धजे मेला तथा झन्डी पर्यटन महोत्सव आयोजना गर्नु उपयुक्त हुने स्थानीय अगुवाको भनाइ छ ।

झन्डीडाँडा

झन्डीडाँडा अर्थात् गाजलेथुम्का करसोङ पदमार्गमा पर्ने पर्यटकीयस्थलमध्येको एक प्रमुख र अत्यन्त आकर्षक पर्यटकीयस्थल हो । अर्गानिक पर्यटकीयस्थलका रूपमा परिचित हुँदैगरेको झन्डीडाँडा १ हजार ३ सय ९६ मिटर उचाईमा छ । उत्तरमा कञ्चनजंघा, कुम्भकर्णलगायत दर्जनौं हिमशृंखला देख्न सकिन्छ भने पहाड र तराईका दर्जनौं स्थानसमेत यहाँबाट छर्लङ्ग नियाल्न सकिन्छ । झन्डीडाँडा सौन्दर्यका लागि मात्र नभइ साहसिक खेलका लागि पनि उत्तिकै सम्भावना रहेको डाँडो हो । अहिले यहाँ झन्डीडाँडाको धरहराको संरचना तयार गरी पर्यटकलाई थप आकर्षित गरिँदैछ । झन्डीडाँडासम्म पुग्ने सिँढी बनाइएको छ । रेलिङ लगाएर आकर्षक बनाइएको छ । यहाँ प्रतीक्षालय बनाइएको छ । बिजुली, पानी र शौचालयको सुविधा छ । नजिकै पदमार्ग बनेपछि झन्डीको महत्व र सहजता बढेको छ ।

झन्डीडाँडाबाट सूर्याेदय

Jhandi Dada 1

यहाँबाट सूर्याेदय र सूर्यास्तको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ । असोजदेखि जेठसम्म सूर्याेदय दृश्यावलोकन गर्ने उपयुक्त मौसम हो । झन्डीडाँडासम्म पुग्न करसोङ पदमार्ग हासपोखरीबाट दिनभरि पैदल हिँडेर धजे भञ्ज्याङ आसपासमा बास बस्न र साँझको दृष्यपान गर्न सकिन्छ । धजे आसपास होम–स्टे छन् । भोलिपल्ट बिहानै झन्डीडाँडाबाट सूर्याेदय दृश्यावलोकनपश्चात् झापातर्फको यात्रा तय गर्न सकिन्छ । स्थानीय यो क्षेत्रमा पहिलेदेखि नै सूर्याेदय हेर्न जाने गरेका थिए । अचेल आन्तरिक र बाह्य पर्यटकसमेत आउनेक्रम बढेको हो ।

झन्डीडाँडामा वनभोज

Jhandi Dada 3
झन्डीडाँडा

यो क्षेत्रमा पहिलेदेखि नै स्थानीय बसन्त र सरद ऋतुमा वनभोज खान जाने गरेका थिए । तिहारमा देउसी खेलेको रकमले वा प्रत्येक घरबाट जनही माना–चामल, तेल आदि संकलन गरी मासु किनेर लिएर जाने गरेका थिए । जसले, गाउँ र छरछिमेकमा सामाजिक सद्भाव र भाइचारा विकासमा योगदान गरेको थियो । आजभोलि तराईतिरबाट विद्यालय समूह, युवा समूह, देउसी समूहहरू दिनभरिको गर्मी छल्न र वनभोज खान ट्र्याक्टर, पिकअप र जिप लिएर आउन थालेका छन् । कच्ची बाटो भएपनि यहाँ आउन र रमाइलो गर्न उनीहरू उत्साहित देखिन्छन् । सडक, पूर्वाधार, आवासको थप सुधार र विकास गर्ने हो भने यो क्रम अझै बढ्ने निश्चित छ ।

झापाको काँकडभिट्टाबाट १७ किलोमिटर उत्तरमा पर्ने झन्डीडाँडा मेची राजमार्गको हर्कटे बजारबाट १० किलोमिटर दक्षिणमा छ । यो ठाउँ तराई र पहाडकै पायक पर्ने भएकाले पर्यटनको प्रचुर सम्भावना बोकेको ठाउँ हो । भारतबाटसमेत मेची खोला हुँदै यहाँ आउन सकिन्छ । झन्डीडाँडामा हासपोखरी र ब्युटी बोर्डर दुवै पोइन्टबाट गाडीमा र पदमार्ग भएर पनि आउने सुविधा छ । साइकलमा समेत युवाहरू यो पदमार्गबाट आउनेगरेका छन् । चुरे क्षेत्रमा यो उचाईको डाँडो बिरलै पाइनेगरेकाले पनि झन्डीडाँडाको महत्व अझ बढेको छ । कन्याम, अन्तुडाँडा, सन्दकपुर, मेघमा, थुम्के, मेची नदीलगायत इलाम र झापाका गाउँ–सहरमात्र नभइ भारतको दार्जिलिङ, घुम पहाड, सिक्किमको माथिल्लो क्षेत्र, खर्साङ, सिलिगुडी, मटीगढा, बागडुग्रा, टिस्टा नदी पनि यहाँबाट अवलोकन गर्न सकिन्छ । झन्डीमा पर्यटकले क्याम्प फायर र नाइट स्टे क्याम्प पनि गर्छन् ।

Jhandi Dada 10
झन्डीडाँडाबाट रातमा देखिएको दृश्य

झन्डीडाँडामा भारतको सिलिगुडी, कोलकातालगायत स्थानबाट गर्मी छल्न पर्यटक आउनलाई नजिक पर्छ । कोलकाताबाट ६ सय २ किलोमिटरमा झन्डीडाँडा आइपुगिन्छ । कोलकाताबाट बेहामपुर–मालदा, किसनगञ्ज हुँदै काँकडभिट्टा आइपुगिन्छ । बागडुग्रा विमानस्थलमा ओर्लिएर पनि काँकडभिट्टा हुँदै झन्डीडाँडा आउन सकिन्छ । बागडुग्राबाट झन्डीडाँडा ४३ किलोमिटरमा छ । झन्डीडाँडा दृश्यावलोकनका लागिमात्र नभइ वनभोजका लागि पनि राम्रो सम्भावना रहेको स्थान हो ।

झन्डीडाँडा धार्मिक र सांस्कृतिक हिसाबले महत्वपूर्ण स्थान हो । किरात राईका आदिम पुर्खा रिनाहाङले देवी पूजा गरेको ठाउँका रूपमा झन्डीडाँडालाई मानिएको छ । रम्भ्याङमा रहेको खेलमैदानलाई स्थानीय अगुवाले ‘रिनाहाङ ठूलो आहाल खेल मैदान’ नामसमेत राखेका थिए । यसलाई अहिले झन्डी खेलमैदान पनि भनिन्छ । किरातीहरूले उँधौली, उँभौलीजस्ता पर्व, संसारी पूजा, ढोलपूजा गर्दा ध्वजापताका झन्डा गाढ्ने चलन थियो । त्यही चलनअनुसार संस्कार सकेपछि, पूजाविधि सकेपछि यही डाँडामा झन्डा गाढ्नेगरेको इतिहास पाइन्छ । त्यही आधारमा यो डाँडाको नाम नै झन्डीडाँडा रहन गएको हो । किरातीहरू वा साम्पाङ राईले यो डाँडालाई ‘रिनाहाङडाँडा’ पनि भन्नेगरेको पाइन्छ । किरात संस्कृतिको धरोहरका रूपमा रहेको झन्डीडाँडा अहिले पर्यटकको मुख्य आकर्षणको केन्द्र पनि भएको छ । अहिले पनि यहाँ साकेला थान छ भने उँधौली र उँभौलीमा पूजा गरिन्छ ।

Viajay Lama
करसोङ पदमार्गमा साइकिलिङ्ग गरेर रमाउँदै चर्चित क्याप्टेन तथा अभिनेता विजय लामा

झन्डीडाँडा घुम्न आउने आन्तरिक पर्यटक यहाँको सौन्दर्यमा लालयित हुन्छन् । यहाँ आएर रमाएका पर्यटकको अनुभव छ, ‘नेपालीहरू विदेश घुम्न जान्छन् र ३० लाख रुपैयाँ खर्च गर्छन् । तर, आफ्नै गाउँ वा देशभित्रकै पर्यटकीयस्थल घुमेर ३ सय रुपैयाँ खर्च गर्न डराउँछन्, आनाकानी गर्छन् । जबकि, देशभित्रै झन्डीडाँडाजस्तो अत्यन्त प्रचुर सम्भावना बोकेको सुन्दर पर्यटकीयस्थल पनि छ भन्ने चाहिँ धेरैलाई हेक्का नै छैन ।’ झन्डीडाँडालाई पर्यटकले प्राकृतिक भ्यु–टावरको उपमासमेत दिनेगरेका छन् ।

झन्डीडाँडामा भ्यु–पोइन्टको अवधारणा र स्थापना गर्न स्थानीय, किरात फ्रेन्ड्स क्लब, तत्कालीन सङ्घीय पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र निवर्तमान वडाध्यक्ष मनीकुमार स्याङबो (सुवास)लगायतको योगदान महत्वपूर्ण छ । संघीय सरकारले आर्थिक वर्ष २०७७/०७८ र आव ०७८/0७९ मा बजेट व्यवस्था गरेपछि झन्डीडाँडाको पर्यटकीय पूर्वाधार विकास भएको हो । रोङ गाउँपालिकाले यसको आसपासमा गुराँस रोपेको छ । हालसम्म झन्डीडाँडाको प्रचारप्रसार गर्न विभिन्न समयमा कलाकारहरू विल्सनविक्रम राई (तोक्मे बुढा), मेलिना राई, विजय लामा, कविता आलेलगायत पुगेका छन् । सुटिङ, भिडियो लाइभ आदि गरिसकेका छन् । अहिले यहाँ युवा, ज्येष्ठ नागरिक, केटाकेटी सबै एकपटक पुग्ने प्रयास गरिरहेका छन् । फेसबुकलगायत सामाजिक सञ्जालहरू हेर्दा लाग्छ कि, यो मनमोहक झन्डीडाँडा पुगेर सेल्फी नखिचे, भिडियो लाइभ नगरे र फोटो पोस्ट नगरे जीवनको रमाइलो पाटो चाहिँ अपुरो नै हुनेछ ।

स्थानीय युवा अगुवा निमाकुमार राई, डम्बरबहादुर राईलगायतको नेतृत्वमा झन्डीडाँडामा २०५४÷०५५ सालतिर खेलमैदान निर्माण सुरु गरिएको थियो । त्यहीबेलादेखि नियमित फुटबल प्रतियोगिता हुँदैआएको यो स्थानमा अचेल युवा पुस्ताले फुटबललगायत खेलकुद आयोजनालाई निरन्तरता दिएका छन् । एकान्त, शान्त यो स्थानमा फुटबललगायत खेल खेल्न जाने निकै उत्कृष्ट ठाउँ मान्नेगरेका गरेका छन् खेलप्रेमीले ।

यही पदमार्गमा अरू पर्यटकीयस्थल चिलाउने गोलाई, पाण्डव डोल, सत्तालसिंह टाकुरा र गुरदुमडाँडा पनि छन् । यहाँका खालिङ्गा, गोकुलटार, निन्दा गेट, जस्केलो सामुदायिक होम–स्टे, भीमसेन ढुंगा र ब्युटी बोर्डरलाई मुख्य पर्यटकीय पोइन्टका रूपमा राखिएको छ । पर्यटकीय पूर्वाधार विकासमा मुख्य २० पोइन्टलाई आधार बनाइएपनि आसपासमा अझ महत्वपूर्ण र आकर्षक धार्मिक, सांस्कृतिक, ऐतिहासिक पर्यटकीयस्थलसमेत छन् । करसोङ पदमार्ग नै भएर यहाँका अरू निकै महत्वपूर्ण गन्तव्यसमेत पुग्न सकिन्छ ।

झन्डीडाँडामा साहसिक खेल सम्भावना

Jhandi Dada 2
प्याराग्लाइडिङ

झन्डीडाँडा आसपासमै प्याराग्लाइडिङको सफल परीक्षण भइसकेको छ । २०७८ सालमै यहाँबाट प्याराग्लाइडिङ परीक्षण भएको थियो । जसको पहलको नेतृत्व गर्ने तत्कालीन वडाध्यक्ष हाल गाउँपालिका अध्यक्ष मनीकुमार स्याङ्बो (सुवास), वर्तमान वडाध्यक्ष सत्यम राई चौरासे, रम्भ्याङ सामुदायिक वन अध्यक्ष आशिष प्रधानलगायत स्थानीय अगुवा यसको व्यावसायिकताका लागि जुटिरहेका छन् । जसका लागि, पालिका, वडा, प्याराग्लाइडिङ संघ अध्यक्ष प्रकाश पोखरेल, प्याराग्लाइडिङ संघ प्रदेश १ अध्यक्ष भूपाल चामलिङ, जिपलाइन व्यवसायी केदार थापालगायतसँग समन्वय र छलफल भइरहेको छ ।

Karsong trail

प्याराग्लाइडिङ सञ्चालनपछि भारत कोलकातासम्मका पर्यटकसमते यहाँ आकर्षित गर्ने पर्यटनकर्मीको लक्ष्य छ । यो प्याराग्लाइडिङ इलामबाट झापा जाने सडकमै भएकाले दुवै जिल्लाको पर्यटनलाई समेत यसले जोड्ने छ । मिनी माउन्टेन आसपास प्याराग्लइडिङ ल्यान्डिङ गराउनसके मिनी माउन्टेनलगायत त्यस क्षेत्रको पर्यटकीय सम्भावना थप उजागर हुनेछ । स्थानीय लाभान्वित हुन सक्ने देखिन्छ । झन्डीडाँडाबाट प्याराग्लाइडिङमा उडेर मिनी माउन्टेन झर्ने रुट बन्नसके त्यहाँबाट झापा धुलाबारीको होटल मेची क्राउन पुगेर बास बस्नसमेत पायक पर्छ ।

करसोङ पदमार्ग यात्रा गर्ने, रम्भ्याङस्थित होमस्टेमा बस्ने, झन्डीडाँडामा इभनिङ भ्युसँगै शीतल मनोरञ्जन लिने, भोलिपल्ट बिहान झन्डीडाँडाबाट सूर्याेदय दृश्यावलोकन गरी प्याराग्लाइडिङबाटै झापा प्रस्थान गर्ने प्याकेज राम्रो बन्न सक्छ ।

कसरी पुग्ने झन्डीडाँडा ?

– मेची राजमार्गस्थित हासपोखरी खण्डबाट करसोङ पदमार्ग हुँदै करिब ९ किमी ।
– मेची राजमार्गकै हर्कटे बजारबाट गाडीको कच्ची सडक १० किमी ।
– झापा काँकडभिट्टाबाट १७ किमी ।
– झापा धुलाबारीको होटल मेची क्राउनबाट २८ किमी ।
– भद्रपुर विमानस्थलबाट ४५ किमी ।
– भारत कोलकाताबाट बेहामपुर–मालदा, किसनगञ्ज, झापा काँकडभिट्टा हुँदै ६ सय २ किमी ।
– भारत बागडुग्रा विमानस्थलबाट ४३ किमी ।

झन्डीडाँडामा पर्यटकलाई खाने–बस्ने व्यवस्था

– दशरथ रिजालको घरमा रम्भ्याङ होमस्टे (सम्पर्क ९८१५९२४५२९) ।
– विशाल साम्पाङको घरमा सरिता होमस्टे (सम्पर्क ९८४०९९२८३७÷९८१७०७५०८५) ।
– प्रजुन राईको घरमा झन्डीडाँडा होमस्टे (सम्पर्क ९८६१७४७२८३÷९८४९८२२६८७) ।
– होम–स्टेमा सादा खानाको १५०।–
– एउटा कोठामा एक रात सुतेको ५००।–

पदमार्गमा होम–स्टे

Home Stay

करसोङ पदमार्गका २० पोइन्टमध्ये ६ ठाउँमा होम–स्टे व्यवस्था गरी पर्यटकलाई खाने–बस्ने व्यवस्था मिलाइँदैछ । पदमार्ग घुम्न आउने पर्यटकका लागि हासपोखरी, लामागाउँ, रम्भ्याङ, सलकपुर, पाटापुर र चिसापानीमा होमस्ट विकास गरिँदै छ । यीमध्ये रम्भ्याङ र सलकपुरमा होम–स्टे सञ्चालनमै छन् । सलकपुरको जस्केलो होमस्टेमा १८ घर आबद्ध रहेपनि २५ घरमा होमस्टे सञ्चालन गरिएको छ । होम–स्टे व्यवसायीलाई तालिम पनि दिइएको छ । रम्भ्याङमा पनि होम–स्टे विस्तार गरी पर्यटकलाई खाने–बस्ने व्यवस्था मिलाइएको छ । झन्डीडाँडा आउने पर्यटकका लागि दशरथ रिजालको घरमा रम्भ्याङ होमस्टे, विशाल साम्पाङको घरमा सरिता होमस्टे र प्रजुन राईको घरमा झन्डीडाँडा होमस्टेलगायत सञ्चालनमा छन् । रम्भ्याङमा आउने पर्यटकलाई होम–स्टेमा सादा खानाको डेढ सय रुपैयाँ लाग्छ । एउटा कोठामा एक रात सुतेको ५ सय रुपैयाँ तिर्नुपर्छ । अहिले यहाँका होम–स्टेमा पर्यटक आइरहेका छन् ।

झापासँग जोडिएको रोङ गाउँपालिका–६ कै सलकपुर कृषि उत्पादन र विक्रीमा पहुँचवाला गाउँ भइसकेको छ । यहाँको सुन्तला किन्न सिजनमा नेपाली र भारतीयको समेत मेलाझैं लाग्छ । जिर्मलेको नयाँ जातको अलैंची इलामसहित दर्जनौं जिल्लामा ‘जिर्मले’ नामकै जातमा पुगिसकेको छ । करसोङ पदमार्गको बीचमा रहेको यही वडाको रम्भ्याङ गाउँको विकास र आर्थिक उपार्जनमा चाहिँ विशेषगरी झन्डीडाँडा र धजे भञ्ज्याङको ठूलो भूमिका देखिएको छ । यहाँ आउने पर्यटकले समेत स्थानीय कृषिउपज किनेर लैजान थालेका छन् ।

Kangsore Gate Ilam 1 scaled
करसोङ पदमार्ग

होम–स्टेका कारण स्थानीयको आम्दानी बढ्न थालेको छ । यहाँसम्म आउने पर्यटकले गर्ने खर्च सोझै स्थानीय होम–स्टे व्यवसायी र किसानको हातमा पुग्ने गरेको छ । त्यतिमात्र होइन, गाउँमा उत्पादन भएको सिमी, मुला, इस्कुस, सागलगायत तरकारी पनि यहाँ आइपुग्ने पर्यटकले किनेर लैजान थालेका छन् । यसका साथै स्थानीय लोपोन्मुख लेप्चासहित विभिन्न जातजातिका सांस्कृतिक परम्परा संरक्षणमा पर्यटककै माध्यमबाट सहयोग पुग्ने गरेको छ । यहाँ आउने पर्यटकलाई स्थानीय जातजातिले आ–आफ्ना सांस्कृतिक नाच र प्रस्तुति देखाउनेगरेका छन् ।

थप योजना

करसोङ पदमार्गको मुख्य बिन्दु वा केन्द्र (हट स्पर्ट) नै झन्डीडाँडा हो । संघीय र स्थानीय सरकारको लगानी पनि पदमार्गसहित झन्डीडाँडामा केन्द्रित गरिँदै छ । झन्डीडाँडा क्षेत्रमा रक क्लाइम्बिङ, जिपलाइन र प्लाराग्लाइडिङजस्ता साहसिक खेलका लागि लगानी सम्मेलन नै गर्ने योजना रोङ गाउँपालिकाको छ । लगानी बोर्डले यो क्षेत्रका लागि बिजनेस प्लान बनाउँदैछ । लगानी सम्मेलनमार्फत् यहाँ ठूला लगानीकर्ता आकर्षित गर्न गाउँपालिका प्रयासरत छ ।

यो पदमार्गको पूर्वाधार निर्माणका लागि सङ्घीय सरकार, गाउँपालिका र प्रधानमन्त्री रोजगार कार्यक्रमको १५÷१५ लाख रुपैयाँ खर्च भएको छ । यस्तै स्रोतहरूबाट करिब १ करोड २० लाख रुपैयाँ लगानीमा पदमार्गको आकार कोरिएको हो । पदमार्गको रुट खोल्ने, देखिनेगरी पूर्वाधार बनाउने र बजेटले भ्याएसम्म आकर्षक योजना ल्याउने प्रयास गरिरहेको छ । बजेट पर्याप्त भए २ वर्षमा लक्ष्यअनुसार यहाँको पूर्वाधार निर्माण गरिसक्ने गाउँपालिकाको लक्ष्य छ ।

करसोङ पदमार्गको डिपिआर (विस्तृत परियोजना प्रतिवेदन)समेत तयार भइसकेको छ । यहाँ पाइने सुनाखरीको विस्तृत अध्ययन–अनुसन्धान गर्ने पनि गाउँपालिकाको योजना छ । संघीय र प्रदेश सरकारमार्फत् ‘अर्किड संरक्षण क्षेत्र’ घोषणा गर्न गाउँपालिकाले वन कार्यालयसँग पहल गर्दैछ । होम–स्टेमा आउने पर्यटकलाई त्यहाँको कृषिसँग जोड्न र किसानको आम्दानी बढाउन गाउँपालिकाले योजना तयार गर्दैछ ।

पदमार्ग आसपासमा लालीगुराँस र विभिन्न प्रजातिका आकर्षक फूल, पर्यटककै लागि सिजनअनुसार टिपेर खान मिल्ने फलफूलका बिरुवा, जडिबुटी लगाउने र जडिबुटीको बजारीकरण गर्ने योजना छ । झापाबाट सबैभन्दा नजिकै रहेको लालीगुराँसको वन पनि यसैलाई बनाउने लक्ष्य गाउँपालिकाको छ ।

अन्तर्वार्ता

‘कृषि र संस्कृतिमा आधारित पर्यटनमार्फत् समृद्धि हासिल गर्ने लक्ष्य छ’

Satyam Rai
  • सत्यम राई
    वडाध्यक्ष, वडा नम्बर ६, रोङ गाउँपालिका, इलाम

करसोङ पदमार्गको महत्व र विशेषता के–के हुन् ?

मेची राजमार्गको हासपोखरी खण्डदेखि भारतको सीमासम्म पुगेको यो पदमार्ग निकै आकर्षक पर्यटकीय गन्तव्य हो । गाउँपालिकाले रोङको कृषि र संस्कृतिलाई पर्यटकसँग जोडेर समृद्धि हासिल गर्नेगरी ल्याएको अवधारणा हो करसोङ पदमार्ग । यसका विभिन्न पोइन्ट छन् तर यसको मुख्य पोइन्ट चाहिँ मेरै वडा (वडा–६) मा रहेको झन्डीडाँडा हो । यो पदमार्गले यहाँको सांस्कृतिक उन्नयनमा पनि महत्वपूूर्ण योगदान गर्ने सम्भावना छ ।

अहिले यो पदमार्गमा पर्यटकको चहलपहल कस्तो छ ?

२९ किलोमिटर पदमार्गमध्ये करिब १९ किलोमिटर तयार भइसकेको छ । तर, यहाँ आउने पर्यटकका लागि बाँकी भाग पनि असहज चाहिँ छैन । अहिले झापाको काँकडभिट्टा र इलामको हासपोखरीतिरबाट बाक्लै संख्यामा सलकपुर हुँदै झन्डीडाँडासम्म पर्यटक आइरहेका छन् । हिउँदमा निकै नै रमाइलोसँग यो पदमार्गमा यात्रा गर्न सकिन्छ । तर, बर्खाका पनि सामान्य सफा गर्ने हो भने पदमार्गमा हिँड्न गाह्रो छैन । आन्तरिक र भारतका पर्यटक यहाँ आइरहेका छन् । उनीहरूको आउ–जाउले यहाँको होम–स्टे व्यवसाय अघि बढ्दैछ ।

पदमार्ग र यहाँका पर्यटकीय पोइन्टले तपाइँको वडा (वडा–६)को रम्भ्याङ गाउँलाई चाहिँ के फाइदा पुग्छ ?

रम्भ्याङ कृषि र पर्यटनमा उच्च सम्भावना बोकेको ठाउँ हो । पदमार्गको मुख्य पोइन्ट झन्डीडाँडा यही रम्भ्याङ गाउँमा पर्छ । त्यतिमात्र होइन, अर्काे महत्वपूर्ण र ऐतिहासिक स्थान धजे भञ्ज्याङसमेत यसको नजिकै पर्ने भएकाले रम्भ्याङ गाउँको विकासमा प्रत्यक्ष फाइदा पुग्छ । अहिले झन्डीडाँडा घुम्न आउने पर्यटकको खाने–बस्ने ठाउँ नै रम्भ्याङ हो । हासपोखरीबाट पदमार्गतिर पसेपछि बीचमा अरू घर छैनन्, पर्यटकले खान र बस्न करिब ९ किलोमिटरको रम्भ्याङ नै आइपुग्नुपर्छ । त्यसैले हासपोखरीदेखि झन्डीडाँँडाँसम्मका गन्तव्यमा घुम्ने पर्यटक प्रत्यक्ष ठोक्किने ठाउँ नै रम्भ्याङ भएकाले पनि यसको विकासमा पदमार्गले सहयोग पुग्छ । रम्भ्याङमा होम–स्टेसमेत सुरु भइसकेको छ । पर्यटनका माध्यमबाट रम्भ्याङको कृषिउपज विक्रीमा समेत सहयोग पुग्छ । पदमार्गले सलकपुर क्षेत्र त प्रत्यक्ष लाभान्वित हुने नै भयो ।

कृषिलाई चाहिँ कसरी पर्यटनमा जोड्न सकिएला त ?

अहिले यहाँ एक सय ४९ कृषि फार्म दर्ता भएका छन् । उनीहरू व्यावसायिक रूपमा कृषि उत्पादनमा छन् । यसबाहेक चालु आर्थिक वर्षभित्रै कम्तीमा अब डेढसय किसानलाई व्यावसायिक बनाउनेगरी हामीले योजना बनाएका छौं । यसले किसानको आम्दानी बढ्छ र उनीहरू करको दायरमा पनि आउँछन् । यहाँको अलैंची, सुन्तला, गोलभेंडालगायत बालीनालीले समेत पर्यटक आकर्षित गरिरहेका छन् । अहिले कफी र एबोकाडो खेती तथा गाईपालन सुरु भएको छ । रम्भ्याङतिर चिया खेती छ । यहाँ आउने पर्यटकले खानेकुरा स्थानीय परिकार नै हुने भएकाले कृषिमा सहयोग पुगिहाल्छ । त्यतिमात्र होइन, टाढाका पर्यटकले यहाँका बोटबाटै सुन्तला टिपेर खान–लान पाउँछन्, घर–घरमै आएर अलैंची चाख्न पाउँछन् । अब केही समयपछि एबोकाडोसमेत टिपेर खान पाउने अवस्था आउँछ । बारीमा लहलह फलेको फलफूल, खाउँखाउँ लाग्ने तरकारीमा पर्यटक लोभिइहाल्छन् नि ! कतिपय पर्यटक गाई दुहुन, खेतबारीमा आफैं गएर काम गर्नमा समेत रमाउँछन् । उनीहरूलाई त्यही काम नौलो लाग्छ । उनीहरूकै माध्यमबाट नेपाल र सीमावर्ती भारतका ठूला व्यापारीसमेत यहाँको नगदेबालीमा आकर्षित हुने सम्भावनासमेत रहन्छ ।

यहाँको पर्यटकीय सम्भावना चाहिँ कस्तो छ ?

यहाँको मुख्य सम्भावना नै कृषि र संस्कृतिसँग जोडिएको पर्यटन हो । अहिले निर्माण भइरहेको पदमार्गले पनि त्यही लक्ष्य पछ्याएको छ । तर, कोही पर्यटक यहाँ घुम्नमात्र आउँछन्, कोही २÷४ दिन शीतलमा बिताउन र कोही अध्ययन–अवलोकनका लागि पनि आउँछन् । जुन उद्देश्यले पर्यटक आउँछन्, उनीहरूको आवश्यकताअनुसार हामीले पूर्वाधार निर्माण गर्नुपर्छ । अहिले पदमार्गका विभिन्न २० वटा पोइन्ट त छन् नै, तिनका आसपासमा अझ महत्वपूर्ण पर्यटकीय गन्तव्य पनि छन् । र, यो पदमार्ग र यहाँका पर्यटकीय गन्तव्य भर्जिन भएकाले पहिलो पटक आएका पर्यटक निकै रमाएका हुन्छन् । तर, प्रचारप्रसार अभावले कतिपय पर्यटकीय गन्तव्य नै ओझेलमा छन् । यहाँ पौराणिक, धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटकीयस्थलदेखि साहसिक खेलसमेतको सम्भावना भएका ठाउँ छन्, जहाँ एक पटक आएका पर्यटकलाई फेरि आउँ–आउँ लाग्छ । पर्यटन पूर्वाधारकै लागि मेरो वडाका एकै जनाले एक सय २६ दिनसम्म पनि श्रमदान गरेका छन् । त्यसैले यहाँको विकास र समृद्धिमा पर्यटनको योगदान महत्वपूर्ण हुनेछ । पूर्वाधार विकास र पर्यटनको महत्वबारे स्थानीयलाई जागरुक र सचेत गर्ने गाउँपालिकाले प्रयास गरिरहेको छ । गेटबाट छिर्नेबित्तिकै इलाम भनेको केही न केही हो भन्ने देखाउन ब्युटी बोर्डरको अवधारणा आएको हो । समग्रमा, कृषि र संस्कृतिमा आधारित पर्यटनले नै रोङ गाउँपालिकामा समृद्धि ल्याउँछ ।

पर्यटनमा थप र नयाँ योजना के छन् ?

अहिले वडाले पर्यटकका लागि जंगली हात्ती हेर्ने गन्तव्यसमेत विकास गर्ने प्रयास गर्दैछ । हात्ती हेर्ने गन्तव्य निर्माणका लागि यो वडासँग जोडिएको झापाको मेचीनगर–४, बाहुनडाँगीका वडाध्यक्ष अर्जुन कार्कीसँग पनि समन्वय भइरहेको छ । यो क्षेत्रमा एउटा सर्किट बनाउने योजना छ । करसोङबाट सलकपुर–मेचीखोला–पाटापुर हुँदै हात्ती हेर्ने गन्तव्य बनाउनेबारे छलफल भइरहेको छ । यहाँको होम–स्टेहरूको विकास र गुणस्तर सुधारमा गाउँपालिकाले तालिम, क्षमता विकासलगायत कार्यक्रम पनि गर्दैछ । तर, सलकपुर क्षेत्रमा पर्यटक बाक्लै आउँछन्, यही आउ–जाउलाई रम्भ्याङसम्म लैजान हामी मेहनत गर्दैछौं । विभिन्न कलेजका विद्यार्थीलाई लक्षित गरी करसोङ बोटानिकल गार्डेनको अवधारणा पनि यो वडामा ल्याइएको छ । रोङ गाउँपालिका छिर्ने निन्दा क्षेत्रमा गाउँपालिकाको ब्युटी बोर्डरको अवधारणा पनि छ ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७