अर्घाखाँची सिमेन्टले थाल्यो निकासी, १४ सय बोरा भारत पठायो


३१ आश्विन २०७९, सोमबार
arghakhachi cement niryat
फाइल फोटो

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटमा गरेको व्यवस्थानुसार नै उद्योगी तथा व्यवसायीले भारततर्फ सिमेन्ट निर्यात शुरु गरेका छन् ।

यसअघि नै तानसेन सिमेन्ट भारत निर्यात भएको थियो । यसैक्रममा आजदेखि अर्घाखाँची सिमेन्टले आफ्नो उत्पादनको औपचारिक निर्यातको थालनी गरेको छ । रुपन्देहीको मैनहियास्थित कारखानामा एक कार्यक्रमको आयोजना गरी कम्पनीले भारततर्फ पहिलो लटमा एक हजार चार सय बोरा (७० टन) ‘पोर्टल्यान्ड पोजोलान सिमेन्ट’ (पिपिसी) सिमेन्ट निर्यात गरेको हो । कम्पनीका अनुसार भारतको नौतनवा, महाराजगंजस्थित शिभान्स एसोसिएट्सले पहिलोपल्ट अर्घाखाँचीको उत्पादन खरिद गरेको हो ।

‘भारतीय बजारतर्फको निकासीमा यो पहिलो कदम हो । सरकारले प्रदान गरेको आठ प्रतिशत अनुदानले यो उपलब्धि सम्भव भएको हो । यसले भारतसँगको व्यापार घाटा कम गर्नमा सहयोग पुग्ने छ’, अर्घाखाँची सिमेन्टका प्रबन्ध निर्देशक राजेशकुमार अग्रवाल बताउँछन् ।

त्यसैगरी अर्घाखाँची सिमेन्टका सञ्चालक तथा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष पशुपति मुरारकाले उद्योग सुरु भएदेखि निर्यात गर्ने सपना पूरा भएको बताए । ‘अब मेरो चाहना उद्योगले उत्पादन गर्ने अधिकांश सिमेन्ट भारत निकासी होस् भन्ने हो’, उनले भने ।

मुरारकाका अनुसार भारतका उत्तर प्रदेश, बिहार, पश्चिम बङ्गाललगायत क्षेत्रमा चुनढुङ्गा खानी छैन । त्यही बजार उपयोग गर्न भारत निर्यात थालिएको हो । यस अवसारलाई नेपालका सम्पूर्ण सिमेन्ट उत्पादकले उपभोग गर्नुपर्नेमा पनि उनले जोड दिए । सिमेन्ट निर्यात अझै बढाउन सरकारले भारतबाट कोइला आयात गर्ने वातावरण मिलाइ दिनुपर्ने उनको भनाइ छ ।

भारतको ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड्सले अर्घाखाँची सिमेन्ट लिमिटेडको उत्पादन अर्घाखाँची सिमेन्टलाई गुणस्तर सम्बन्धि इन्डियन स्ट्यान्डर्ड्स इन्स्टिच्युट (आईएसआई) मार्क दिएपछि नेपालबाट सिमेन्ट निर्यात हुन थालेको हो ।

कम्पनीले ओपीसी, पीपीसी र क्लिंकर निर्यातका लागि आईएसआई मार्क पाइसकेको छ । त्यसअनुसार कम्पनीले आगामी दिनमा आफ्ना ओपिसी र क्लिंकर उत्पादनलाई पनि छिमेकी मुलुकका बजारमा निर्यात गर्ने योजना लिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७