महेश बस्नेतको दावी : निर्वाचनपछि भक्तपुरले सिंहदरवारको नेतृत्व गर्छ


३१ आश्विन २०७९, सोमबार
mahesh basnet
फाइल फोटो

भक्तपुर । नेकपा एमालेको तर्फबाट भक्तपुर क्षेत्र नं २ को प्रतिनिधि सभा सदस्यका उम्मेदवार महेश बस्नेतले निर्वाचनपछि सिंहदरवारको नेतृत्व भक्तपुरले गर्ने दाबी गरेका छन् ।

रफत सञ्चार क्लबले सोमबार गरेको साक्षात्कारमा बस्नेतले विगतको पाँच वर्ष भक्तपुरको उपस्थिति सिंहदरवार रहेता पनि अब सिंहदरवारको नेतृत्व भक्तपुरले गर्ने दावी गरे । उनले प्रधानमन्त्री देउवाले स्वयम् दुर्लभ थापालाई हराएर देखाउन गरेको आग्रहलाई स्मरण गर्दै आफूले नेपाली कांग्रेसका तर्फबाट भक्तपुर क्षेत्र नं २ को प्रतिनिधि सभाका उम्मेदवार थापालाई तेब्बर मतान्तरले पराजित गर्ने ठोकुवा गरे ।

उनले गठबन्धनको सरकार भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाए । उनले केपी ओेलीको प्रधानमन्त्रीत्वकालमा देशमा अभूतपूर्व विकास भएको तथा भक्तपुरमा समेत विकासको लहर आएको फेहरिस्त नै जितको आधार भएको चर्चा गरे ।

उनले भक्तपुरमा आएको विकासको लहरलाई कांग्रेसले रोक्न खोजेको उल्लेख गर्दै गठबन्धन सरकार बनेपछि भक्तपुरको विकासमा अवरोध भएको जनाए । उनले भक्तपुरका विभित्र अस्पताल र कलेजहरूमा कांग्रेसले आफ्ना आसपासेलाई नियुक्त गर्दै कमिशनको खेलमा डुबेको बताए ।

भक्तपुरको विकासको आँधीवेहरीलाई कांग्रेसले रोकेको बताउँदै आफूले शिक्षा, स्वास्थ्य, सडक, खानेपानीको विकासका लागि ल्याएको योजना र बजेटको फेहरिस्त सुनाए । ती बजेट र योजनालाई गठबन्धन सरकारले कटौती गरी विकासमा बाधा पुरयाउने काम गरेको उनले चर्चा गरे ।

भक्तपुर क्षेत्र नं २ मा कांग्रेस र नेमकिपाले यसअघि जीत हासिल गरेर संसदको यात्रा तय गरेको अवधिमा भएको विकास भन्दा आफ्नो एक कार्यकालमा भएको विकासको मूल्यांकन गर्न समेत अनुरोध गरे । सांसद कोषबाट प्राप्त क्षेत्र नं. २ को १६ करोड बजेट कांग्रेसले आफ्ना आसेपासेको लागि खर्च गरेको बताउँदै आफूले भने यस क्षेत्रको भौतिक विकासमा खर्च गरेको उनले बताए । उनले कांग्रेसलाई उक्त बजेटको खर्च दिन समेत चुनौती दिए । उनले आफूले गरेको खर्चबारे सम्पूर्ण तथ्यांक दिनसक्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७