नवौँ राष्ट्रिय खेलकुद : आईटीएफ तेक्वान्दोतर्फ १९ स्वर्ण पदकको छिनोफानो


१ कार्तिक २०७९, मंगलवार
karate

बागलुङ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत यहाँ जारी आईटीएफ तेक्वान्दोको हालसम्म १९ स्वर्ण पदकको छिनोफानो भएको छ । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले सर्वाधिक सात स्वर्ण पदक जितेको छ । आर्मीले पाँच रजत र दुई कास्य पदकसमेत प्राप्त गरेको छ । यसैगरी बागमती प्रदेशले पाँच स्वर्ण र एक रजत पदक प्राप्त गरेको छ ।

यसैगरी गण्डकी प्रदेशले चार स्वर्ण र सात रजत, एपिएफ क्लबले दुई स्वर्ण, एक रजत र तीन कास्य, प्रदेश नं १ ले एक स्वर्ण, एक रजत र एक कास्य, लुम्बिनीले तीन रजत र पाँच कास्य, कर्णालीले एक रजत र एक कास्य तथा नेपाल पुलिस क्लबले दुई कास्य पदक प्राप्त गरेको छ ।

केहीबेर अघि सम्पन्न महिला एकल स्पाइरिङतर्फको । (५१–५५) किलो तौल समूहतर्फ प्रदेश नं १ की कुशुम राजवंशीले स्वर्ण, गण्डकी प्रदेशकी सुशिला अढाईले रजत तथा आर्मी क्लबकी रिना धिमाल र पुलिस क्लबकी सञ्जनाकुमारी घर्तीमगरले कास्य पदक प्राप्त गरेका छन् ।

यस्तै महिला एकल स्पाइरिङतर्फ नै (४०–४५) किलो तौल समूहमा गण्डकी प्रदेशकी सुनिता भण्डारीले स्वर्ण, बागमतीकी सुस्मिता तामाङले रजत तथा पुलिस क्लबकी मनिषा घर्तीमगर र एपिएफ क्लबकी लिलाकुमारी सापकोटाले कास्य पदक प्राप्त गरेका छन् ।

यसैगरी आजै सम्पन्न पुरुष एकल स्पाइरिङतर्फ (६१–६५) किलो तौल समूहतर्फ एपिएफ क्लबका गोविन्द खत्रीले स्वर्ण, आर्मी क्लबका प्रमोदकुमार साहुले रजत तथा लुम्बिनीका राहुल थापा र प्रदेश नं १ का नितेश खवासले कास्य पदक प्राप्त गरेका छन् ।

यसअघि पुरुष एकल स्पाइरिङतर्फ (४६–५०) किलो तौल समूहमा गण्डकीका खगेन्द्र घर्तीमगरले स्वर्ण, कर्णालीका मिलन धामीले रजत तथा आर्मीका पूर्णबहादुर मगर र लुम्बिनीका सन्तोष बुढामगरले कास्य प्राप्त गरेका थिए । यस्तै पुरुष एकल स्पाइरिङतर्फ (५१–५५) किलो तौल समूहमा बागमतीका रिक्सान वाइवाले स्वर्ण, आर्मीका प्रेमकुमार मगरले रजत तथा लुम्बिनीका अर्जुन नेपाली र एपिएफ क्लबका सुनिल महतोले कास्य प्राप्त गरेका थिए ।

यसैगरी पुरुष एकल स्पाइरिङतर्फ (५६–६०) किलो तौल समूहमा बागमतीका अनिल तामाङले स्वर्ण, गण्डकीका प्रविण बुढाले रजत तथा एफिएफ क्लबका सुमन रानामगर र लुम्बिनीका हेमराज डाँगीले कास्य पदक पाएका थिए । महिला एकल स्पाइरिङतर्फ (४६–५०) किलो तौल समूहमा गण्डकी प्रदेशकी सुस्मिता थापामगरले स्वर्ण, प्रदेश नं १ की इन्दिरा थापाले रजत तथा लुम्बिनी प्रदेशकी पूजा रसाइली र कर्णाली प्रदेशकी कमला विकले कास्य पदक प्राप्त गरेका छन् ।

नेपाल आईटीएफ तेक्वान्दोका महासचिव अञ्जु रावतका अनुसार शनिबारदेखि बागलुङमा सुरु भएको प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीका दुई सय ५० खेलाडीबीच ४५ स्वर्ण, ४५ रजत र ३० कास्य पदकका लागि प्रतिस्पर्धामा भइरहेको छ । नवौँ राष्ट्रिय खेलकुदमा गण्डकीका विभिन्न जिल्लामा दुई प्रदर्शनीसहित ३८ खेल भइरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७