तक्मा बाँडेर भोट माग्दैनौं : पूर्व गृहमन्त्री थापा


१ कार्तिक २०७९, मंगलवार
thapa scaled

भैरहवा । पूर्व गृहमन्त्री निरञ्जन थापाले भोटका लागि तक्मा नबाँड्ने बताएका छन । रुपन्देहीको क्षेत्र नम्बर ३ भैरहवामा मंगलबार क्षेत्रीय संयुक्त चुनाव प्रचार प्रसार कार्यालयको उद्घाटन गर्दै उनले आफूहरू सरकारमा गएपछि अहिलेको सरकारले जस्तो तक्मा बाँडेर भोट नमाग्ने बताए ।

‘भोटका लागि तक्मा बाँडिएन बरू योगदानको मूल्यांकन गरी तक्मा बाँडेका थियौ,’ उनले भने, ‘अहिले त भोटकै लागि तक्मा बाँडिएको छ ।’ रुपन्देहीमा मात्रै पाँच दर्जन बढी तक्मा बाँडिएको उनले आरोप लगाए । रुपन्देही ३ मा तक्माको बाढी आएको उनले बताए । ‘म पनि गृहमन्त्री थिएँ कुनै बेला, तर यसरी तक्मा बाँडेका थिएनौं । सरकारमा गएपछि उद्योग सञ्चालन गर्ने उद्योगी, चोरी निकासी नियन्त्रण गर्ने प्रहरीलाई तक्मा दिन्छौं । पार्टीलाई भोट दिने शर्तमा बाँड्दैनौं,’ उनले भने ।

क्षेत्रको विकासमा लागेका राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहरालाई नै यस क्षेत्रबाट उम्मेदवार बनाएको र तक्माको लोभमा यहाँका जनताले भोट खेर नफाल्ने उनले बताए । उनले भने, ‘विकासप्रेमी नेता बोहरालाई निर्वाचन जिताउनु पर्छ । पाँचदलीय गठबन्धनलाई भोट दिनु भनेको भोट खेर फाल्नु हो ।’ राष्ट्रियता बचाउन एमाले, राप्रपा र जसपालाई जिताउनु पर्ने उनको भनाइ थियो ।

एमाले, राप्रपा र जसपाको रुपन्देही ३ को मंगलबार भैरहवामा संयुक्त चुनाव प्रचार प्रसार कार्यालयको उद्घाटन गरिएको हो । यस क्षेत्रबाट प्रतिद्वन्द्वीको रूपमा गठबन्धनबाट नेपाली कांग्रेसले बालकृष्ण खाँणलाई उठाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७