राजु गुरुङको उम्मेदवारी खारेजीविरुद्धको रिट हेर्न नभ्याइनेमा


२ कार्तिक २०७९, बुधबार
raju gurung

काठमाडौं । सत्ता गठबन्धनबाट रुपन्देही २ मा उम्मेदवारी दिएका नेकपा (एकीकृत समाजवादी) का राजु गुरुङको रिट हेर्न नभ्याइनेमा परेको छ । आफ्नो उमेदवारी खारेजविरुद्ध गुरुङले सर्वोच्च अदालतमा हालेको रिटमा आज पेसी तोकिए पनि हेर्न नभ्याइनेमा परेको हो ।

नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेल उम्मेदवार रहेको उक्त क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालयले गुरुङको उम्मेदवारी खारेज गरेको थियो । बैंकिङ कसुरमा दोषी रहेको पाइएको भन्दै निर्वाचन अधिकृतको कार्यालयले गुरुङको उम्मेदवारी खारेज गरेको थियो । सोही विरुद्ध गुरुङले हालेको रिटमा अन्तरिम आदेशको विषयमा सुनुवाइ गर्न आज न्यायाधीश सुष्मालता माथेमा र कुमार रेग्मीको संयुक्त इजलासमा पेसी परेको थियो । हेर्न नभ्याइनेमा परेपछि उक्त रिटमाथि आज सुनुवाइ हुन सकेन ।

गत आइतबार न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासले रुपन्देही २ का निर्वाचन अधिकृतको कार्यालयले गरेको गुरुङको उमेदवारी खारेज गर्ने निर्णय तत्काल कार्यन्वयन नगन अल्पकालीन आदेश जारी गरेको थियो ।

गुरुङको उमेदवारी फौजदारी मुद्दामा सजाय पाएको र तीन वर्ष नपुगेको आधारमा बदर गरिएको थियो । उनले निर्वाचन आयोगमा उमेदवारी बदरविरुद्ध उजुरी पनि गरेका थिए । आयोगले बदरको निर्णय सदर गरेपछि उनी आयोगका विरुद्ध रिट लिएर सर्वोच्चमा पुगेका हुन् । गुरुङलाई ७८ पुस १२ मा चेक अनादरको मुद्दामा जिल्ला अदालत काठमाडौंबाट सजाय भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७