नवौं राष्ट्रिय खेलकुद : एन्टी डोपिङ परीक्षणमा ४० खेलाडी


३ कार्तिक २०७९, बिहीबार
Pokhara game 1
फाइल फोटो

काठमाडौं । पोखरामा आज सम्पन्न हुँदै गरेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभिन्न खेलका ४० जना खेलाडीको एन्टी डोपिङ परीक्षण गरिएको छ । राष्ट्रिय खेलकुदको इतिहासमा पहिलो पटक यो अभ्यास गरिएको हो ।

पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुदमा एन्टी डोपिङ सुरु गरिएको राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत गठित एन्टी डोपिङका उपसमितिका सचिव डा. ज्ञानेन्द्र शाहले जानकारी दिए ।

‘राष्ट्रिय खेलकुदको इतिहासमा नै पहिलोपटक यो अभ्यास सुरु भएको छ । यसले नेपाली खेलकुदको स्वच्छतालाई अघि बढाउन सहयोग पुग्ने छ’, दक्षिण एसिया एन्टी डोपिङका सदस्य समेत रहेका डा. शाहले भने, ‘यो निकै संवेदनशील विषय हो । हामीले गरेको नमूना संकलन कुनै पनि दक्षिण एसियाली खेलकुदको इतिहासमा धेरै हो । हामीले गरेको नमूना संकलनहरु कतार पठाएका छौँ । नतिजा प्राप्त हुन केही समय कुर्नुपर्ने हुन्छ ।’

डा. शाहले पदक जित्न खेलाडीहरू शक्तिवद्र्धक औषधि प्रयोग गरेका कारण एन्टी डोपिङबाट पदक खोसिएको इतिहास पनि भएको बताए । डा. शाहले नेपाली राष्ट्रिय खेलाडीहरूले अब आफ्नै क्षमतामा निर्भर हुनुपर्ने बताए । खेलाडीले जितेको पदक र खेललाई आधिकारिकता दिन एन्टी डोपिङको समेत विशेष भूमिका हुने उनले बताए ।

पोखरामा जारी राष्ट्रिय प्रतियोगितामा एन्टी डोपिङका लागि दक्षिण एसियाली एन्टी डोपिङ संस्थाले सहयोग गरेको उनले जानकारी दिए । राखेपले एन्टी डोपिङका लागि डा. नविशमान सिंहको संयोजकत्वमा ६ सदस्य कमिटी बनाएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७