महोत्तरीमा दलका उम्मेदवारलाई चुनौती बन्दै स्वतन्त्र


५ कार्तिक २०७९, शनिबार
Mahotari chunab mangsir 4

महोत्तरी । स्थानीय तहको निर्वाचनको समयमा मधेस प्रदेशमा अन्तिम समयमा टिकट खोसिएपछि नेपाली कांग्रेसबाट बागी बनेका प्रह्लादकुमार क्षेत्री र मनोज साह सुडीले दुई वटा पालिकामा चुनाव जिते । मनोज साह सुडीले जनकपुर उपमहानगरपालिका र प्रह्लाद कुमार क्षेत्रीले बर्दिबास नगरपालिकामा निर्वाचित भए ।

अहिले मनोज साह सुडीले नेपाली कांग्रेसलाई नै सहयोग गरिरहेका छन् भने प्रह्लादकुमार क्षेत्रीले स्वतन्त्रकै नाममा स्वतन्त्र गतिविधि अगाडि बढाएका छन् । बर्दिबास नगरपालिकाका ४ वडामा वडा अध्यक्षसहित उपमेयर पनि क्षेत्री समूहबाट नै निर्वाचित भएका थिए । सोही स्थानीय तहमा पाएको भारी मतलाई नै आंकलन गर्दै क्षेत्री समूहले प्रदेश र प्रतिनिधिसभाको लागि आफ्ना उम्मेदवार उठाएपछि महोत्तरीमा निक्कै चर्चा पाएको छ ।

नेपाली कांग्रेसले स्थानीय तहमा बागी बनेकालाई निष्क्रिय बनी गठबन्धनलाई सहयोग गरे कारबाही फुकुवा गर्ने बताएता पनि क्षेत्री समूहले त्यस्लाई अटेर गर्दै पुनः गठबन्धनका विरुद्ध बागी बनेका छन् । कांग्रेसबाट उठेको राजनीति हाइटलाई समेत दाउमा राखेर पुनः स्वतन्त्र गतिविधि चलाउनुले कांग्रेसका कतिपय नेताले अब पार्टीको ढोका पूर्णरुपमा बन्द भएको बताइरहेका छन् ।

क्षेत्री समूहमा क्षेत्र नम्बर १ को प्रतिनिधिसभामा पोषण थापालाई, प्रदेशसभा अन्तर्गत ‘क’ मा युवराज पोखरेल, (ख) मा विनोदकुमार महतो स्वतन्त्र उम्मेदवारकोरुपमा चुनावी मैदानमा छन् । यातायातको अधिकृतको जागिर छाडेर चुनावी मैदानमा होमिएका थापालाई दलबाट बनेका उम्मेदवार जत्तिकै अप्रतिस्पर्धीको रुपमा हेरिएको छ ।

बर्दिवास–११ स्थित खयरमारा घर भएका थापाले चलाएको चुनावी रणनीति र चुनाव प्रचारप्रसारको रफ्तारले नेकपा एमालेका प्रतिनिधिसभा उम्मेदवार लक्ष्मी महतो र सत्ता गठबन्धन दलका साझा उम्मेदवार गिरिराजमणि पोखरेल समेत सशंकित बनेका छन् । त्यसो भए थापा कसरी बलिया उम्मेदवार हुन्, निर्वाचन जित्ने उनीसँग के–के आधार छन् ? भन्ने प्रश्न पनि उठ्न सक्छ ।

अहिले थापासँग निर्वाचन जित्ने आधार एउटै मात्र हो त्यो हो मतदाताहरूको विश्वास । थापासँग न सागंठनिक संरचना छ न त पुरानो विरासत नै । क्षेत्रीले पाएको मतलाई आंकलन गर्ने हो भने १४ हजार २ सय १० मत पाएर निर्वाचित भएका हुन् । यसमध्ये बर्दिबास वडा नम्बर १, वडा नम्बर ७, वडा नम्बर १३, १४ र उपमेयर पनि क्षेत्रीपक्षले जित हासिल गरेको थियो ।

सागंठनिक संरचनाका हिसाबले माओवादी केन्द्र बर्दिबासमा बलियो मानिन्छ तर यो निर्वाचन क्षेत्रअन्तर्गत गौशाला र भंगाहा नगरपालिकाका केही वडा समेत पर्दछन् । बर्दिबास नगरपालिकाका १४ वडा, गौशाला नगरपालिकाका १२ वडा र वाकी ४ वडा भंगाहा नगरपालिकामा गरी ३० वटा वडा यस क्षेत्रमा पर्दछन् । क्षेत्रीलाई स्थानीय तहमा निर्वाचित गराउने मुख्य योजनाकार मानिएका उनै थापा चुनावी प्रतिस्पर्धामा होमिनुलाई फरक–फरक कोणबाट विश्लेषण गर्न थालिएको छ । बर्दिबास नगरपालिकाको बलमा मात्र निर्वाचन जित्ने आधार नभएको स्थानीय बताउँछन् ।

तर दलबाट वितृष्णा पैदा भएका सर्वसाधारणले आफूलाई विश्वास गर्ने थापाको पहिलो आधार वनेको छ । त्यसो त क्षेत्रीलाई स्थानीय तहमा जति मत आएको थियो त्यो मत अहिले सुरक्षित छैन । कांग्रेसको बागी भएता पनि स्थानीय तहको निर्वाचनमा क्षेत्रीले कांग्रेस र एमालेको बलमा निर्वाचन जितेका थिए ।

स्वतन्त्रभित्रको एउटा खेमा अहिले छुट्टिएको छ । दक्षिणतिरको एउटा शक्तिशाली समूह क्षेत्री समूहबाट छुटिएपछि यसको प्रत्यक्ष असर थापालाई नै पर्ने देखिन्छ । तर थापाको आंकलन भने अलि फरक छ । निजामती कर्मचारी संघको माध्यमबाट कांग्रेसबाट नै सक्रिय राजनीति गर्दै आएका थापा कांग्रेस छाडेर स्वतन्त्र उम्मेदवारी दर्ता गराएर चुनावी प्रतिस्पर्धामा होमिनुले दलसँगको बार्गेनिङको लागी एउटा अनुकूल हुने हाइट खोजिरहेको कतिपयको आंकलन छ ।

पुराना नेता त्यो पनि राजनीतिका चतुर खेलाडीसँग चुनावी मैदानमा होमिनुले थापाको साहस र आकलन सर्वसाधारणले सोचेभन्दा फरक छ । उनी कर्मचारी रहँदा जुन ठाउँ र जुन हैसियतमा जिम्मेवारी समाले उनको नेतृत्व सम्झन लायक नै छ । बर्दिबास यातायात कार्यालयको हाकिम हुँदा उनले खेलेको भूमिका वास्तवमै कर्मचारीवृतमा अनुकरणीय छ । तर प्रह्लाद क्षेत्री पक्षले ल्याएको मतमाथि टेकेर निर्वाचनको मैदानमा उत्रेको भए त्यसले खासै फाइदा नपुग्ने विपक्षी दाबी छ ।

यता एकपल्ट बागी बनेर निर्वाचन जितेका प्रह्लाद क्षेत्री पक्षको कारबाही फुकुवा नहुँदै पुनः बागी बन्नुले कांग्रेसको ढोका बन्द भएको नेताको भनाइ छ । तर पोषण थापाको चुनावी मैदानमा देखिएको हस्तक्षेपले दलका उम्मेदवारहरूमा भने भय सिर्जना भएको छ । उनी यतिवेला घरदैलो भेटघाट अभियानमा छन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार गिरिराजमणि पोखरेल र नेकपा एमाले र जसपा गठबन्धनका साझा उम्मेदवार लक्ष्मी महतोको रफतारलाई ब्रेक लगाउन थापा सफल वनेका छन् । निर्वाचनको परिणाम आउँदा जसले बाजि मारेता पनि एउटा सामान्य कर्मचारी पृष्ठभूमिको व्यक्तिले दलका हस्ती उम्मेदवारलाई सोचनीय बनाउनुले महोत्तरी क्षेत्र नम्बर १ चुनावी समिकरणलाई महत्वपूर्ण ढङ्गले हेरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७