कांग्रेसले टुंग्यायो सात जिल्लाका उम्मेदवार (हेर्नुस् काे–काे परे)
पहिलो चरणमा निर्वाचन हुने प्रदेश नम्बर १ का चार र प्रदेश नम्बर ६ का तीन जिल्लाका उम्मेदवार टुंगो लागेका हुन् । ताप्लेजुङमा प्रतिनिधिसभातर्फ केशव दाहाल, प्रदेश सभा ‘क’ मा लीलादेवी बोखिम र ‘ख’ मा दीपेन्द्रकुमार सेन्दाङ, पाँचथरमा प्रतिनिधिसभाका लागि भीष्मराज आङदेम्बे, प्रदेश सभा ‘क’ मा नरेन्द्रकुमार केरुङ र ‘ख’ मा सुरेन्द्र दाहाललाई उम्मेदवार बनाइएको छ । आङदेम्बे गत संविधानसभामा पाँचथर २ बाट विजयी भएका थिए ।
सोलखुम्बुमा प्रतिनिधिसभातर्फ केन्द्रीय सदस्य बलबहादुर केसी, प्रदेश सभामा ‘क’ मा प्रकाशसिंह कार्की र ‘ख’ मा आङ्गेलु शेर्पालाई उम्मेदवार बनाएको छ । गत संविधानसभा निर्वाचनमा केसी सोलुखुम्बाट निर्वाचित भएका थिए ।
खोटाङमा प्रतिनिधिसभातर्फ सरस्वती बजिमय, प्रदेश सभा ‘क’मा सुभाषकुमार पोखरेल र ‘ख’ मा विष्णुकुमार राईको नाम टुंगो लागेको छ ।
मनाङमा प्रतिनिधिसभाका लागि टेकबहादुर गुरुङ, प्रदेश सभा ‘क’ मा चिन्ताबहादुर घले र ‘ख’ मा कर्मा गुरुङको उम्मेदवारी टुंगो लागेको छ । गुरुङ गत संविधानसभा निर्वाचनमा पनि मनाङबाटै विजयी भएका थिए ।
कांग्रेसले जाजरकोटमा प्रतिनिधिसभाका लागि राजीवविक्रम शाह, प्रदेश सभा ‘क’ मा वेदराज सिंह र ‘ख’ मा दीपकजंग शाहलाई उम्मेदवार बनाएको छ ।
केन्द्रीय सदस्य शाही प्रदेश सभामा
कांग्रेसले केन्द्रीय सदस्य जीवनबहादुर शाहीलाई प्रदेश सभामा उम्मेदवार बनाएको छ । उनी दोस्रो संविधानसभा निर्वाचनमा हुम्लाबाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए । हुम्लाको प्रदेश सभा ‘क’ मा थानबहादुर रोकाया र ‘ख’ मा शाहीलाई उम्मेदवार बनाएको छ ।
बाँकी जिल्ला आज टुंगिँदै
संसदीय समितिले पहिलो चरणमा निर्वाचन हुने हिमालीसहितका बाँकी जिल्लाका प्रदेश र प्रतिनिधिसभाका उम्मेदवार बुधबार नै टुंग्याउने भएको छ । ‘५ कात्तिकमा मनोनयन हुने भएपछि अब बाँकी जिल्लाका उम्मेदवार हामी बुधबार नै टुंगो लगाउँछौँ,’ समिति सदस्य डा. प्रकाशशरण महतले भने ।
–नयाँ पत्रिका दैनिकबाट