हरिवंश आचार्यको घरमा बालेनको देउसी


९ कार्तिक २०७९, बुधबार
balen

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले वरिष्ठ अभिनेता हरिवंश आचार्यको घरमा देउसी खेलेका छन् । उनी फिल्म ‘महापुरूष’ ले आयोजना गरेको देउसी भैलो कार्यक्रममा नजिकका साथीहरूसँग अभिनेता आचार्यको निवासमा पुगेका थिए ।

उनले त्यहाँ आफू मेयरभन्दा पनि साथीभाइ बनेर देउसी खेल्न आएको बताए । र्यापर बालेनले लोकभाकामा भट्याउँदै गर्दा अभिनेता आचार्यसहित फिल्मका निर्माता म्याक्स दिपेश खत्री, निर्देशक प्रदीप भट्टराई, कलाकारसमेत रहेका कार्यकारी निर्माता रविन्द्रसिंह बानियाँ, कलाकार अरुण क्षेत्रीसहितको टोली छमछमी नाचेका थिए ।

maha 3

सामाजिक कार्यका लागि फेसबुकमा खोलिएको मेन्ज रूम रिलोडेड (एमआरआर) ग्रुपसँग जोडिएका केही सदस्यहरूसँगै सामाजिक अभियन्ताहरू देउसी खेल्न अभिनेता आचार्यको निवासमा पुगेका थिए । अभिनेता आचार्यकहाँ देउसी खेल्ने योजना बनेको थाहा पाएपछि आफू सहभागी भएको बालेनले बताए ।

आफ्नो प्रांगणमा देउसी खेल्न आइपुगेका युवाहरूलाई स्वागत गर्दै कला संस्कृतिको प्रवर्द्धन गर्न अभिनेता आचार्यले सुझाए । ‘हाम्रो कला, संस्कृतिलाई युवाले आउँदो पुस्तासम्म पुर्‍याउनु पर्छ । उहाँहरू देउसी खेल्न आउनु भयो । खुशी लागेको छ,’ अभिनेता आचार्यले भने ।

देउसीमा अभिनेता आचार्य र मेयर साह देउसी भट्ट्याउँदै नाचेका थिए । साथीभाइहरू मिलेर एकछिन रमाइलो गरिएको कार्यकारी निर्माता बानियाँले जानकारी दिए । ‘हामीले हाम्रो कला, संस्कृतिलाई महापुरूष हरिदाइको प्रांगणमा उत्सवको रुपमा मनायौँ । हाम्रो संस्कृतिले हामीलाई एकत्रितसँगै एकताबद्ध गराउने गरेको छ,’ कार्यकारी निर्माता बानियाँले भने ।

मह जोडीलाई सम्मान गर्दै नेपालगञ्जमा ‘महापुरुष’ को र्‍याली

नेपालगञ्जमा पिके इभेन्टले आयोजना गरेको ‘फेस अफ नेपालगन्ज सिजन ३’ का १४ जना प्रतिस्पर्धीको सहभागीतामा धम्बोझी चोक हुँदै क्युएफएक्स सिनेमाज बागेश्वरीसम्म र्‍याली गरिएको छ । र्‍यालीमा ‘महापुरूष’ को फ्लेक्स लिएर ‘फेस अफ नेपालगञ्ज’ का सहभागीहरूले यात्रा गरेका थिए । काठमाडौं केन्द्रीत भइरहने प्रचारप्रसारभन्दा यस पटक महापुरूष टिमले फरक गरेको चलचित्र पत्रकार संघ बाँके शाखा अध्यक्ष रामचन्द्र पौडेलले बताए ।

‘महापुरूष टिमले दर्शकसम्म आफ्नो सूचना पुर्‍याउन यहाँ प्रचारप्रसार गरिरहनु भएको छ । मह जोडीको सम्मानमा ब्युटी प्याजेन्टका सहभागीहरूले आफैँ फिल्मको प्रचारप्रसार गरिदिनु भएको हो । आउँदो कात्तिक ११ गते फिल्म हेर्न हामी आतुर छौँ,’ अध्यक्ष पौडेलले भने । र्‍यालीमा पिके इभेन्टका प्रबन्धक प्रकाश कुँवर, क्युएफएक्स बागेश्वरीका प्रवन्धक सन्जीव शाक्य लगायतको समेत सहभागिता थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७