भाइटीकाका दिन बालगोपालेश्वर मन्दिर खुला गरिने


९ कार्तिक २०७९, बुधबार
rani pokhari

काठमाडौँ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिन मात्र भक्तजनका लागि खुला गरिने रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिर बिहीबार बिहानैदेखि खुल्ने भएको छ ।

भाइटीकाका अवसरमा बिहीबार बिहानैदेखि मन्दिर खोल्न सबै तयारी पूरा भएको काठमाडौँ महानगरपालिकाले जनाएको छ । मन्दिर वर्षमा एक दिन भाइटीकाका दिन मात्र खुल्ने भएकाले खोल्नका लागि सबै तयारी गरिएको र भक्तजनले बिहानदेखि बेलुकीसम्म पूजा आराधना एवं दर्शन गर्न पाउने महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरल जानकारी दिए ।

भाइटीकाका अवसरमा दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाइ रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरमा आई पूजा आराधना गरेर टीका लगाउने गर्छन् । रानीपोखरी क्षेत्रमा विसं २०६३ पछि छठ पर्व पनि मनाउने गरिएको थियो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पका कारण त्यसै वर्षको तिहारदेखि भने छठ मनाउन बन्द गरिएको थियो ।

भूकम्पपछि भाइटीकाका अवसरमा पनि रानीपोखरी खुला गरेर मन्दिर क्षेत्रमा पूजा आराधना र दर्शन गर्ने व्यवस्था मिलाउने गरिएको थियो । त्यसबेला पूजा आराधना एवं दर्शन गर्न असहज भएको भक्तजनले गुनासो गरेका थिए । भूकम्पले क्षतिग्रस्त मन्दिर विसं २०७७ पुनर्निर्माण सम्पन्न भएपछि भक्तजनलाई सहज भएको छ । यसवर्षदेखि छठमा पनि रानीपोखरीमा कार्यक्रम गर्ने माग भएकाले खुला तयारी गरिएको पनि प्रवक्ता मानन्धरले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७