गठबन्धन सरकारले देशको इज्जत माटोमा मिलायो : ओली

‘कम्फर्टेबल सरकार जनताका लागि भने माटोमा सुतेभन्दा बढी कष्टप्रद छ’


११ कार्तिक २०७९, शुक्रबार
kp oli 10

झापा । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको निर्वाचन क्षेत्रमा पुगेर उनका लागि भोट मागेका छन् । ओली र लिङ्देन दुवैको गृह जिल्ला झापामा एमालेले राप्रपासँग चुनावी तालमेल गरेको छ ।

आज झापा–३ मा आयोजित एमाले–राप्रपाको अगुवा कार्यकर्ता भेलामा दुवै अध्यक्षले एक अर्काका लागि भोट मागेका हुन् । ओलीले लिङदेनलाई राष्ट्र र राष्ट्रियतामा प्रतिबद्ध नेता भन्दै प्रशंसा गरेका थिए ।

ओलीले अहिले देशको राजनीति दुई चिरामा बाँडिएको बताएका छन् । एउटा कित्तामा राष्ट्रियता पक्षधर र अर्को कित्तामा राष्ट्रविरोधि शक्तिहरू रहेको उनको भनाइ छ । उनले कांग्रेस नेतृत्वको गठबन्धनले देशको इज्जत माटोमा मिलाइदिएको ओलीले आरोप लगाए ।

‘यो घोषित रुपमा नै विदेशीका लागि कम्फर्टेबल सरकार हो । तर, जनताका लागि भने अत्यन्तै माटोमा सुतेभन्दा बढी कष्टप्रद छ । जनतालाई भिष्मपितामहले सरसैयामा सुते जस्तो भएको छ,’ ओलीले भने ।

उनले राप्रपा अध्यक्ष लिङदेनको मूल्यांकन गर्दा उनले आफ्नो क्षेत्रमा विकास गरे कि गरेनन् भनेर नहेर्न आग्रह गरे । सत्तामा कहिल्यै नपुगेकाले उनले विकासको परीक्षा दिन नपाएको ओलीको भनाइ छ । ‘उनी सरकारमा नै थिएनन् त कसरी विकास गर्ने ? सरकारमा नभएको पार्टी र सांसदलाई हेर्ने भनेको नीतिको आधारमा हो । विकासको कुरा त मलाई सोध्नुस् । यसमा म जबाफदेही हुन्छु,’ ओलीले भने ।

लिङदेनले कहिल्यै देशहितविरुद्धमा नबोलेको र देशकाविरुद्ध बेइमानी नगरेको ओलीको भनाइ छ । ‘उहाँ सधैँ देश र राष्ट्रियताको पक्षमा उभिनु भयो । त्यसैले यहाँका जनताले उहाँलाई रोज्नु हुनेछ,’ ओलीले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७