आरजुको हिसाब : सत्ता गठबन्धनले ९५ प्रतिशत सिट जित्छ


२०७९ कार्तिक १३ आइतबार ०७:२६ बजे

धनुषा । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनको जीत सुनिश्चित रहेको दाबी गरेकी छन् ।

आइतबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै डा. देउवाले गठबन्धनबाट अधिकांश बागी उम्मेदवारले उम्मेदवारी फिर्ता लिइसकेका र आ–आफ्ना कार्यकर्ताले गठबन्धनका उम्मेदवारलाई मतदान गर्न गठबन्धनमा आबद्ध पार्टीका नेता, स्थानीय तहका कार्यकर्ता तथा आम मतदाताहरु देशव्यापीरुपमा आतुर रहेकाले जीत सुनिश्चित रहेको उनले बताइन् । उनले भनिन्, ‘सत्ता गठबन्धनले ९५ प्रतिशत सिट जित्छ ।’

वर्तमान सरकारले छोटै समयमा गरेका राम्रा कामका साथै नेपाली कांग्रेस जस्तो पुरानो प्रजातान्त्रिक शक्तिको नेतृत्वलाई नै नेपाली जनताले रुचाएकाले पनि आगामी निर्वाचनमा सत्तारुढ गठबन्धनको जीत सुनिश्चित रहेको उनले दाबी गरिन् ।

उनले नेपाली कांग्रेसले अहिलेको गठबन्धनको टिमलाई नै लिएर निर्वाचनपछि पनि अघि बढ्ने प्रण गरिसकेकाले यही टिमको भावनालाई बुझेर सबैले गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने उनको आग्रह थियो । नेपाली कांग्रेसकी नेत्री डा. राणाले मुलुकमा लोकतन्त्रपछि प्राप्त उपलब्धिको रक्षा गर्न, संविधानको रक्षा गर्न तथा नागरिक स्वतन्त्रताको संरक्षणका लागि वर्तमान सत्ता साझेदार गठबन्धनका उम्मेदवारहरूले विजय हासिल गर्नुपर्ने धारणा पनि राखिन् ।

नेत्री डा. राणाले यो सरकार निर्माण भएको छोटो समयमै विकास निर्माणका साथै अरु धेरै काम भएका प्रसङ्ग पनि सो अवसरमा उल्लेख गरिन् । उनले भनिन्, ‘वर्तमान देउवा सरकार निर्माण हुँदा देश कोरोना महामारीमा थियो, नागरिकले पर्याप्तमात्रामा खोप पाउन सकेका थिएनन् । प्रधानमन्त्रीजीले कोरोनाविरुद्धको खोपलाई पहिलो प्राथमिकतामा राख्नुभयो र विदेशी दाताहरूसँग अनुरोध गर्नुका साथै खोप खरिद गरेर समेत ल्याइ देशमा खोप उपलब्ध गराउनु भयो । यो सरकार निर्माण भएपछि धेरै पहिलेदेखि रोकिएर रहेका ठूला परियोजनादेखि लिएर विकास निर्माणका काम अघि बढेका छन्, वैदेशिक सम्बन्ध र सहायता मजबुद हुँदै गएको छ ।’

नेत्री राणा आइतबार छठ पर्वका अवसरमा पूजा एवं दर्शन गर्न जनकपुरधाम आएकी हुन् । उनले आज दिउँसो जनकपुरधामस्थित गङ्गासागरमा छठ पर्वको ब्रत एवं आजापूजाको अवलोकन गर्ने कार्यक्रम छ । सोमबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिने क्रममा नेत्री राणा पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिको गृहगाउँ नगराइन नगरपालिका जाने कार्यक्रम रहेको कांग्रेस धनुषा क्षेत्र नं ३ का क्षेत्रीय सभापति धीरेन्द्र निधिले जानकारी दिए ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७