दार्चुला घटनाबारे नेपालले पठायो भारतलाई कूटनीतिक नोट


१३ कार्तिक २०७९, आईतवार
pawan mahara darchula 1

काठमाडौँ । महाकाली नदीपारि तावाघाट–लिपुलेक सडक चौडा पार्ने क्रममा बम विष्फोट गराउँदा उछिट्टिएको ढुंगा लागेर दार्चुलाको व्यास गाउँपालिका–२, दुम्लिङका ९ वर्षीय बालक पवन महराको मृत्यु भएको घटनालाई लिएर नेपालले भारतलाई कूटनीतिक नोट पठाएको छ । काठमाडौंस्थित भारतीय राजदूतावासमार्फत परराष्ट्र मन्त्रालयले आज (आइतबार) भारतलाई कूटनीतिक नोट पठाएको हो ।

गृह मन्त्रालयबाट कूटनीतिक नोट पठाउनका लागि परराष्ट्रलाई शनिबार नै पत्र पठाए पनि घटनाको विस्तृत विवरण नआएका कारण आइतबार कूटनीतिक नोट पठाइएको मन्त्रालयका एक अधिकारीले जानकारी दिएका छन् । ‘बाहिर सञ्चारमाध्यममा आए जस्तो परराष्ट्रले उक्त घटनाप्रति चासो नदिएको भन्ने कुरा सत्य होइन । गृह मन्त्रालयले पठाएको स्थलगत प्रतिवेदन आज बिहान मात्रै पाएका हौं । हामीले गृहको प्रतिवेदन नआउँदै भारतलाई पत्र लेख्नु उपयुक्त ठानेनौं’ मन्त्रालयका अधिकारीले भने ।

नोटमा पीडितलाई उचित राहत र क्षतिपूर्ति दिलाउनका लागि आग्रह गरिएको छ । यसका साथै अन्तर्राष्ट्रिय सीमानामा यस्ता गतिविधि गर्दा नेपाली पक्ष र सम्बन्धित स्थानीय प्रशासन र बासिन्दालाई समेत अगाडि नै जानकारी दिन आग्रह गरिएको छ ।

भारतीय सडक निर्माण कम्पनी गर्ग एन्ड गर्गले घटनामा गल्ती स्वीकार गर्दै मृतकको परिवारलाई १० लाख रुपैयाँ भारु राहत पनि उपलब्ध गराएको छ । धारचुला–लिपुलेक–कैलाश मानसरोवर सडक खण्डअन्तर्गत नज्याङ–लखनपुर भीरमा भारतीय पक्षले बम विष्फोट गराउँदा बतासिएर वारि तम्बाकुमा आइपुगेको ढुंगा लागेर शुक्रबार बिहान महराको घटनास्थलमै मृत्यु भएको थियो ।

ढुंगा लागेर पवनकी दिदी १४ वर्षीया सरिना महरा घाइते भएकी छन् । उनीहरू बुबा हिक्मत सिंहसँगै व्यासकै थी गाउँबाट महाकालीको किनारै हुँदै दुम्लिङस्थित घर फर्कंदै थिए । नेपालको प्रशासन र प्रभावित क्षेत्रका बासिन्दालाई पूर्वजानकारी नै नदिई भारतीय पक्षले शुक्रबार बिहान विष्फोट गराएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७