सुदूर पहाडमा जात्राको रौनक


०८:०० बजे

बैतडी । तिहार सकिएसँगै बैतडीसहित सुदूरपश्चिमका विभिन्न पहाडी जिल्लामा जात्रा सुरु भएको छ । तिहारपछिको १५ दिनसम्म यहाँका शक्तिपीठमा जात्रा लाग्ने गर्दछ । कातिक शुक्ल पक्षमा बैतडी, दार्चुला, डडेल्धुरालगायतका सुदूरपहाडका शक्तिपीठ तथा मन्दिरमा जात्रा लाग्दै आएको छ ।

सुदूरपहाडका विभिन्न जिल्लाका शक्तिपीठ तथा मन्दिरमा कातिक शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विभिन्न जात्रा लाग्ने गरेको पण्डित जयानन्द भट्टले बताए । शरद ऋतु देवीदेवताको पूजा उपासना गर्ने उत्तम समयका रुपमा मानिने भएकोले कात्तिक शुक्ल पक्षमा देवीदेवताको पूजन गर्ने चलन रहिआएको छ ।

दसैँमा जात्रा लाग्ने मन्दिरमा समेत कात्तिक शुक्ल पक्षमा समेत विभिन्न देवीदेवताका मन्दिर र शक्तिपीठमा सामूहिक पूजाआजा गर्ने चलन रहेको भट्टको भनाइ छ । बैतडीको प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा कात्तिक शुक्ल अष्टमी र नवमीका दिन जात्रा लाग्ने गर्दछ । राँगाको बलीसहित पूजाआजा हुने त्रिपुरासुन्दरी मेलामा नेपालका मात्रै नभएर भारतीय दर्शनार्थी समेत आउने गरेका स्थानीय जयसिंह धामीले बताए ।

प्रसिद्ध रौलाकेदार धाममा पनि कात्तिक शुक्ल अष्टमी, शिवनाथ गाउँपालिकास्थित शिवनाथ धाममा पनि कात्तिक शुक्ल सप्तमी र अष्टमी, पाटन नगरपालिका २ स्थित प्रसिद्ध महारुद्र मन्दिरमा कात्तिक शुक्ल अष्टमी र सुर्नया गाउँपालिका–४ स्थित सनेशरीमाडौँंमा कात्तिक शुक्ल षष्ठीका दिन जात्रा लाग्ने गरेको छ ।

यसका साथै प्रसिद्ध मेलौली भगवती मन्दिर र सुर्नयास्थित फाल्ङासैनी भगवती मन्दिरमा कात्तिक शुक्ल पूर्णिमाका दिन र महारुद्र मन्दिर, त्रिवणीधाम (राताशीला) मा पनि जात्रा लाग्दछ । दार्चुलामा रहेको राष्ट्रकै सातौँं धामका रुपमा रहेको मालिकार्जुनधाम, लटिनाथ लगायतका मन्दिरमा जात्रा लाग्ने गर्दछ । मालिकार्जुन धाममा कार्तिक शुक्ल चर्तुदर्शीका दिन जात्रा लाग्ने गर्दछ ।

दार्चुलाको लटिनाथ बन्तोली मन्दिरमा कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाकै राति जात्रा सम्पन्न भइसकेको छ । डडेल्धुराको उग्रतारा र भागेश्वरलगायतका मन्दिरमा कात्तिक शुक्ल पक्षमै मेला लाग्ने गर्दछ । उग्रतारा लगायतका मन्दिरमा कात्तिक शुक्ल पूर्णिमाका दिन जात्रा लाग्दै आएको छ ।

डोटीमा सुदूरपश्चिम प्रदेशकै प्रख्यात शक्तिपीठ ठूला केदार, मसानी, शैलेश्वरी, दीपायल जात, मष्टो, ब्वाराकी जात, ऐतिहासिक अछामको गाज्रास्थित डौठेगडा जात्रा लाग्दछ । विभिन्न शक्तिपीठ तथा मन्दिरमा लाग्ने जात्रामा सहभागी हुन बसाइँसराइ गरेर गएका पनि पुर्ख्यौली थलोमा फर्कने गरेको स्थानीय हेमराज गिरीले बताए । जात्राका बेला पारिवारिक भेटघाट हुने र धार्मिक हिसाबले पनि जात्रा महत्वपूर्ण हुने गरेका छन् । रासस

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७