भारतले निर्वाचन प्रयोजनको लागि हालसम्म नेपाललाई दियो २४ सय बढी सवारीसाधन


११:३० बजे

काठमाडौं । भारतले निर्वाचन प्रयोजनको लागि हालसम्म २ हजार ४ सयभन्दा बढी सवारीसाधन नेपाललाई उपहारस्वरुप उपलब्ध गराएको पाइएको छ ।

नेपाल सरकारको अनुरोधमा भारतले २०४६ सालयता सम्पन्न भएका निर्वाचनमा उक्त संख्यामा सवारीसाधन नेपाललाई उपलब्ध गरेको हो । भारतले आज मात्र मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि भनेर २०० वटा सवारीसाधन उपहारस्वरुप नेपाललाई उपलब्ध गरेको छ ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज आयोजित एक समारोहबीच अर्थमन्त्री जनार्दन शर्मालाई भारत सरकारको तर्फबाट २०० वटा सवारीसाधन उपहारस्वरुप प्रदान गरेका हुन् । यी सवारीसाधनले नेपालका विभिन्न संस्थालाई आसन्न निर्वाचनका लागि आवश्यक प्रबन्धलाई थप व्यवस्थित गर्न सघाउ पुर्‍याउने भारतीय दूतावासले जनाएको छ ।

‘नेपाल सरकारको अनुरोधमा विगतका वर्षहरुमा पनि भारत सरकारले नेपालका सुरक्षा निकाय र निर्वाचन आयोगको प्रयोगका लागि सवारीसाधन उपलब्ध गराउदै आएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई झण्डै २ हजार वटा र नेपाली सेना र निर्वाचन आयोगलाई ४०० वटा गरी हालसम्म भारतले नेपाललाई निर्वाचनको समयमा २ हजार ४०० भन्दा बढी सवारीसाधन उपहारस्वरुप प्रदान गरिसकेको छ,’ काठमाडौंस्थित भारतीय दूतावासले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आज उपलब्ध गरिएका सवारीसाधनमध्ये १२० वटा सुरक्षा निकाय र ८० वटा निर्वाचन आयोगले प्रयोग गर्ने जनाइएको छ । ‘भारत र नेपालबीच बहुपक्षीय एवम् बहुआयामिक विकास साझेदारी रहेको छ जसले दुई देशका जनताबीचको निकटतालाई प्रतिबिम्बित गर्दछ । यी सवारीसाधनको हस्तान्तरणले जनता जनताबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन भारत सरकारले पुर्‍याउदै आएको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्दछ,’ भारतीय दूतावासले भनेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७