ताप्लेजुङका किसानलाई अलैंची थन्क्याउन भ्याइनभ्याइ


१६ कार्तिक २०७९, बुधबार
Alaichi

ताप्लेजुङ । ताप्लेजुङका किसानलाई अलैँची थन्क्याउन भ्याइनभ्याइ छ । तिहार र छठ पर्व सकिएसँगै अलैँची टिप्न, छोडाउन र सुकाउनमा व्यस्त छन् ।

असोजदेखि मंसिर महिना अलैँची थक्याउने मुख्य समय हो । ताप्लेजुङकै प्रमुख नगदे बालीका रूपमा खेती गर्दै आएको छ । बेंसी क्षेत्रमा साउन महिनादेखि लेकाली क्षेत्रमा मंसिर तेस्रो सातासम्म अलैँची टिपाइ हुन्छ । अहिले अलैँची थन्क्याउन मुख्य मौसम भएकाले किसानलाई चटारो हुने गरेको हो । अलैँची सङ्कलन गर्ने समय भएपछि केही समय मात्र ढिलो गरेमा वन्यजन्तुले खाएर क्षति पुर्‍याइदिने हुँदा किसानलाई अलि बढी चटारो लागेको पाथीभरा याङवरक गाउँपालिका–१ थेचम्बुका अलैँची किसान ज्ञानबहादुर गुरुङले बताए ।

अलैँची सिजनका कारण दसैँ, तिहार जस्ता चाडपर्व सहज गरी मनाउन नै नपाएको गुरुङले बताए । मुख्य सिजन भएकाले चाडपर्वमा पनि अलैँची बारी (बगान) मै बिताउनु परेको फक्ताङलुङ गाउँपालिका–६ मादिबुङका अलैँची किसान बसन्त लिम्बूले बताए । उनले दसैँ घरमै मनाए पनि तिहारमा भने अलैँची बगानमै बिताएका थिए ।

फुङ्लिङ नगरपालिका–६ बिहीवारेका किसान खाङ्डु शेर्पाले पनि अलैँची टिप्न, छोडाउन र सुकाउनमै तिहार बितेको बताए । घरमा बसेर चाडपर्व मनाउन थाल्दा जङ्गली जीवजन्तुले धेरै क्षति गर्ने भएकाले चाडपर्व नभनी अलैँची टिप्न र थन्क्याउनमा व्यस्त हुनुपरेको शेर्पाले बताए । यी त केही प्रतिनिधि मात्र हुन् ।

अलैँची खेतीमा संलग्न जिल्लाभरका किसानलाई अहिले अलैँची घर भित्र्याउन भ्याइनभ्याइ भएका छन् । जिल्लाका नौ स्थानीय तहका ६१ वटा वडामध्ये फक्ताङ्लुङ गाउँपालिका–७, ओलाङ्चुङगोला बाहेक सबै वडामा अलैँची खेती हुन्छ । जिल्लामा करिब चार हजार चार सय ५० हेक्टर क्षेत्रफलमा अलैँची खेती गरिँदै आएको छ । प्रमुख नगदेबाली भएकाले धान, मकै जस्ता खाद्यान्न बाली उत्पादन हुने जग्गा नै मासेर किसानले अलैँची खेती गर्दै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७