मञ्चको होइन, मैदानको नेता : जसले पाँच वर्षमा धनकुटामा भित्र्याए २३ अर्ब बजेट


१६ कार्तिक २०७९, बुधबार
Rajendra Rai CPNUML scaled

१४ असोज २०५९ मा नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा धनकुटाका प्रतिनिधिसभा सदस्य राजेन्द्र राई सञ्चार माध्यम र सामाजिक सञ्जालमा भाइरलजस्तै भए । कारण थियो, पाख्रीबास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेललाई दिएको धम्कीको अडियो । राजनीति पूर्वाग्रह र प्रतिशोध राखेर जनतालाई दुःख दिएको भन्दै १३ असोज २०५९ मा राजेन्द्रले पौडेललाई फोन गरेर धम्काएका थिए ।

यो प्रकरणमा शुभेच्छुकहरूले उनलाई सोधे, ‘माननीयजस्तो पदका मान्छेले कर्मचारीसँग झगडा गरेर किन अलोकप्रिय हुने काम गर्नुभएको हो ?’ ‘मलाई त्यस्तो लोकप्रियता जरुरी छैन, कि जनतामाथि अत्याचार भएका बेला अलोकप्रिय हुने त्रासले चुपचाप बसिरहुँ,’ राजेन्द्रको उत्तर थियो, ‘जनताको पक्षमा बोल्दा आइपर्ने सबै खाले कष्ट भोग्न तयार भएर राजनीतिमा लागेको हुँ ।’

प्रमुख प्रशासकीय अधिकृत पौडेलले आफू प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस नेता रामचन्द्र पौडेलको मान्छे भन्दै नेकपा (एमाले)का जनप्रतिनिधिको कामसमेत रोक्ने गरेको गुनासोपछि उनी आक्रोशित भएका थिए । यही विषयमा टेलिफोन संवादमा राईले पौडेललाई भनेका थिए, ‘जनतामाथि अत्याचार गर्नुभएको छ, तपाईंले त्यहाँ । तर, म हेर्दै छु, तपाईंलाई कसैले जोगाउन सक्दैन । तपाईंको शेरबहादुर देउवा, रामचन्द्र पौडेल जो आए पनि जोगाउन सक्दैन । तपाईंलाई मैले भनिदिएको छु, खुरुक्क जाने अब । अर्को कुनै घटना घट्यो भने मलाई नभन्नू । तपाईं दादागिरी चलाउने ?’

यही प्रकरण भाइरल भयो । तर राजेन्द्रको सन्दर्भमा यो नयाँ घटना भने होइन । जनताको काममा आफैं मैदानमा पुग्ने उनको विशेषता नै हो । पत्रकार सन्तोष रुचाल भन्छन्, ‘सकेसम्म आग्रह वा अनुरोध गरेर जनताको काममा सहजीकरण गर्नुहुन्छ । अनुरोधलाई बेवास्ता गरे भने आफैं मैदानमा गएर भिड्न पनि पछि पर्नुहुन्न ।’


सिंहदरबारमा ‘सुलसुले’ माननीय
जनताको गुनासो हुन्छ, ‘नेताहरूले पदमा पुगेपछि धरातल भुल्छन् ।’ धेरै माननीयहरू यस्ता हुन्छन्, जो सिंहदरबारमा हुने संसदीय समितिका बैठकमा ठाँटिएर पुग्छन् । संसद् भवनमा उसैगरी पुग्छन् । संसदको रोस्ट्रममा उभिएर चर्का कुरा गर्छन् तर जनतासँग संवाद भने मञ्चबाट मात्रै गर्छन् अर्थात् टाढिन्छन् । तर, राजेन्द्र राईको विशेषता र हुलिया बिलकुल फरक छ । उनी मन्त्रालयका खरदारदेखि सचिव, मन्त्रीका कोठामा सामान्य सेवाग्राही जसरी सुटुक्क छिर्छन् ।

यसैको परिणाम हो, गएको पाँच वर्षमा धनकुटामा संघीय सरकारबाट विनियोजन भएको बजेट । उनले २२ अर्ब ९० करोडभन्दा बढी बजेट धनकुटामा लैजान सफल भए । ठूला–ठूला शक्तिशाली नेता र मन्त्रीहरूको तुलनामा उनले बढी बजेट लगे ।

राजेन्द्र राई यस्ता जनप्रतिनिधि हुन्, जसले मन्त्रालयका खरदारदेखि सचिव, मन्त्रीका कोठामा सामान्य सेवाग्राही जसरी सुटुक्क छिरेर आफ्नो क्षेत्रका जनताका लागि विकास माग्छन् । यसैको परिणाम गत पाँच वर्षमा संघीय सरकारबाट २२ अर्ब ९० करोडभन्दा बढी बजेट धनकुटामा लैजान सफल भए ।


बजेट हाल्न कसलाई के भन्नुपर्छ ? त्यो काइदा उनलाई थाहा छ । राजेन्द्र भन्छन्, ‘संसद्को रोस्ट्रमबाट बोलेर वा सार्वजनिक मञ्चबाट भाषण गरेर बजेट पर्दैन । सिंहदरबार धाउन सक्नुपर्छ । मैले धनकुटाको समृद्धिका लागि हरेक मन्त्रालयको कोठाचोटा चहारेको छु । मन्त्रालयका सहयोगीदेखि सचिव, मन्त्री र प्रधानमन्त्रीसँग समन्वय गरेको छु । सिंहदरबारमा आवश्यकताअनुसार हस्तक्षेपकारी र समन्वयकारी भूमिकामा अहोरात्र खटेको छु ।’

धेरै माननीयहरू संसद्मा सबैको ध्यान तान्ने गरी बोल्छन् । सञ्चार माध्यममा उसैगरी तर काम भने शून्य । पछिल्लो समय बाहिर चर्को र मीठो कुरा गरेर ‘सेलिब्रिटी’ बन्ने ध्यान प्रायः सबैको देखिन्छ । तर राजेन्द्र राई ‘सेलिब्रिटी’ नेता होइनन् । त्यतातिर उनलाई मतलबै छैन । भन्छन्, ‘मलाई दुनियाँले चिन्नुपर्छ भन्ने लाग्दैन । मलाई भोट दिएका जनताको काम भए पुग्छ । मेरो ध्यान जहिल्यै त्यसमा हुन्छ ।’

धनकुटा बहुमुखी क्याम्पसका उप–प्रध्यापक किरण घिमिरेको शब्दमा राजेन्द्र राई शासक होइनन्, साँचो अर्थमा जनताका सेवक हुन् । उनी भन्छन्, ‘पदमा पुगेपछि आफू शासक भएको ठान्ने रोगबाट नेताहरू ग्रसित देखिन्छन् । तर, राजेन्द्र राई यो रोगबाट मुक्त देखिन्छन् । उनी जिल्ला विकास समितिमा रहँदा होस् वा धनकुटाको पार्टी नेतृत्वमा बस्दा वा माननीय रहँदा। जहिल्यै उनी जनता नजिक रहेर काम गरे । उनी मञ्चका होइन, जनताका नेता बनेको देख्छु ।’ त्यस्तो राजेन्द्रले धनकुटामा बजेट लगेको देखेर उनका सहकर्मी माननीयहरू पनि छक्क पर्छन् । धेरै माननीयले जिस्किएर भन्ने गर्छन्–‘सिंहदरबारमा ‘सुलसुले’ माननीय ।’

अब समृद्धिका वर्ष

rajendra rai


राजेन्द्रले श्वेतपत्र जारी गर्दै करिब २३ अर्ब बजेट धनकुटा ल्याएको जानकारी दिँदा उनका विरोधीहरूले प्रश्न गरे, ‘त्यसो भए खै त धनकुटामा परिवर्तन ?’ यो प्रश्नले उनलाई हैरान पारेको छ । हैरान पारिरहेको यो प्रश्नमा उनको उत्तर छ, ‘धेरै बजेट भौतक पूर्वाधारमा खर्चिएको छ । दीर्घकालीन विकास, रणनीतिमा धेरै बजेट लगाइएको छ । त्यसको नतिजा एकै पटक देखिँदैन, विस्तारै देखिन्छ ।’

विकासका असर विस्तारै देखिन थालेको उनको भनाइ छ । भन्छन्, ‘२०७४ मा धनकुटामा १८ प्रतिशत गरिबी छ, मलाई चुनाव जिताए ५ प्रतिशत गरिबी घटाउँछु भनेको थिएँ। मैले तपाईंहरूको आम्दानी साढे ४ सयदेखि ६ सय छ । त्यसलाई बढाएर ६ सयदेखि ८ सय बनाउँछु भनेको थिएँ । त्योअनुसार योजना बनाएर जनताको गरिबी घट्यो । जनताको आम्दानी बढेको छ । स्वास्थ्यमा जनताले सेवा पाएका छन् । शिक्षामा व्यापक परिवर्तन भएको छ । हिजो मानिसले ५ हजार गोजीमा हाल्थे भने अहिले १० हजार पर्न थालेको छ । त्यसको नेतृत्व मैले नै गरेको हो । बूढीमोरङमा गाडी पुग्यो । त्यहाँका मान्छेले गोलभेडा राजमार्गमा ल्याएर बेच्न पाए । त्यहाँका मान्छेले दाना बेच्न पाए । धनकुटामा मात्रै ३० करोड बढीको दाना बेचियो । एभोकाडो २० करोडभन्दा बढीको बेचिएको छ । अब एभोकाडो प्रशोधन केन्द्र बनाउँदै छौं । कफी प्रशोधन केन्द्र बनाउँदै छौं । हिजो २६ सय मानिस विदेशमा थिए, अहिले त्यो २१ सयतिर झरेको छ । हामी विस्तारै रोजगारको व्यवस्था गर्दै छौं ।’

पछिल्लो समय बाहिर चर्को र मीठो कुरा गरेर ‘सेलिब्रिटी’ बन्ने ध्यान प्रायः सबैको देखिन्छ । तर राजेन्द्र राई ‘सेलिब्रिटी’ नेता होइनन् । त्यतातिर उनलाई मतलबै छैन । भन्छन्, ‘मलाई दुनियाँले चिन्नुपर्छ भन्ने लाग्दैन । मलाई भोट दिएका जनताको काम भए पुग्छ । मेरो ध्यान जहिल्यै त्यसमा हुन्छ ।’

राजेन्द्रसँग विकासको रणनीतिक र शृंखलाबद्ध योजना रहेछ । भन्छन्, ‘धनकुटामा विकासको लहर सुरु भएको छ । भौतिक पूर्वाधार र संरचना निर्माण क्रमशः पूरा हुनेछन् । अब उत्पादनको अभियान चलाउनेछौं । उत्पादित वस्तुलाई बजारसम्म लैजान बाटो बनेको छ । बजारको समस्या पनि हुने छैन ।’ अबको ५ वर्षमा रोजगारीमा विदेश गएका सबै धनकुटेली धनकुटा फर्किने अवस्था निर्माण हुने उनको दाबी छ ।

अबका वर्ष समृद्धिको वर्ष हुने र धनकुटामा त्यसको नेतृत्व आफूले गर्ने उनी बताउँछन् । भन्छन्, ‘संविधानसभाद्वारा जारी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान निर्माणपछिको पहिलो प्रतिनिधिसभा सदस्यको रुपमा म निर्वाचित भएको थिएँ । संघीयतालाई पूर्ण रुपमा कार्यान्वयनका निम्ति आवश्यक कानुन निर्माण भएका छन् । स्थानीय तहलाई सबल, सक्षम एवं क्रियाशील बनाउन वित्तीय, प्रशासनिक र कानुनी प्रबन्ध गरिएका छन् । संघ, प्रदेश र स्थानीय तहका आवश्यक सबै कानुन निर्माण भएका छन् । अबका वर्ष समृद्धिको वर्ष हो । अब धनकुटा बदल्ने अभियानमा हुनेछौं ।’

‘मण्डले’को आँगनमा हुर्किएको क्रान्तिकारी
‘चिसो भनेकै कोकाकोला’ भनेजस्तो कुनै बेला यस्तो विम्ब थियो, ‘पञ्चे भनेकै सूर्यबहादुर थापा’ । राजेन्द्र उनी पञ्चायतका आगोजस्ता सर्वमान्य नेता सूर्यबहादुर थापाको मूल घर रहेको धनकुटाको मुगामा जन्मिएका हुन् । सूर्यबहादुरको आँगननिर जन्मिएका मान्छे क्रान्तिकारी बन्नु असम्भवजस्तै थियो । प्रजातन्त्रका लागि कोही बोल्नेहरू सहिदको सूचीमा लामबद्ध हुनुपर्ने अवस्था थियो, धनकुटामा । त्यही मनोविज्ञानको उपज थियो, २४-२९ कात्तिक ०३६ सम्मको पाशविक दमनपछिको हत्या । तत्कालीन धनकुटे प्रधानमन्त्री सूर्यबहादुर थापाको प्रत्यक्ष निर्देशनमा धनकुटाको खोकु, आँखीसल्ला र छिन्ताङमा २४–२९ कात्तिकसम्म १६ जना सर्वसाधारण मारिएका थिए । त्यही अप्ठेरोमा उनी कम्युनिस्ट आन्दोलनमा सामेल भए ।

०४२ सालमा माथिल्लो गोकुण्डेश्वरबाट एसएससी दिएलगत्तै पूर्णकालीन भएर राजेन्द्र राई पार्टी काममा लागे । उनी धनकुटामा शिक्षकको आन्दोलनमा विद्यार्थी नेताको हैसियतमा सक्रिय सहभागी भए । धनकुटा बन्दका क्रममा उनी गिरफ्तारीमा परे । त्यसपछि ४१ दिन हिरासतमा राखेर राजकाज मुद्दा लगाइयो । त्यस घटनामा उनलाई मात्रै थुनिएको थियो ।

फुच्चे भए पनि आन्दोलनमा कुशल तरिकाले जनपरिचालन गर्न सक्ने भएकाले उनलाई पञ्चायती शासकले तारो बनाएका थिए । यसपछि उनलाई राजकाज मुद्दामा विराटनगर जेलमा लगेर २४ महिना थुनियो । जेलमा पनि उनी सबैभन्दा कान्छो राजनीतिक बन्दी थिए ।

२४ महिना लामो र कष्टकर जेल बसाइपछि रिहा भएर राई धनकुटा फर्किए । त्यसलगत्तै अनेरास्वावियु धनकुटाको उपाध्यक्ष भएर संगठन निर्माणमा लागे । करिब एक वर्षजति संगठन निर्माण गरेर राई उच्चशिक्षा र राजनीतिका लागि विराटनगरस्थित जनता ल क्याम्पसमा भर्ना भए । विराटगरमा अखिलको नगर कमिटी सचिव भएर आन्दोलनमा लागे । ०४६ को जनआन्दोलनको तयारीमा विद्यार्थी मोर्चाबाट उनी सक्रिय भए । तर, उनी आन्दोलनमा सहभागी हुन भने पाएनन् । जनआन्दोलनको पूर्वसन्ध्यामा खर्च लिन घर धनकुटा मुगा पुगेका बेला धनकुटाको पाख्रिबासमा १६ माघ ०४६ मा प्रहरीले पक्राउ गरी फेरि धनकुटा जेलमा थुन्यो । त्यसपछि प्रजातन्त्र पुनस्र्थापना भएको भोलिपल्ट २७ चैतमा जेलबाट छाडियो ।

जनआन्दोलनको सफलतालगत्तै उनी अनेरास्ववियु धनकुटाको अध्यक्ष र पार्टीको जिल्ला कमिटी सदस्य रहेर राजनीतिमा पूर्णकालीन बने । प्रजातन्त्र पुनस्र्थापनापछि धनकुटामा पार्टी संगठन निर्माण त्यति सहज थिएन । महापञ्च सूर्यबहादुर थापाको गृहजिल्ला भएकाले थापाको दबदबा उस्तै रह्यो । ‘जनआन्दोलनको सफलतापछि पार्टी निर्माण अन्यन्त चुनौतीपूर्ण थियो । पैसा, पद र अनेकौं तिकडमविरुद्ध केवल विचार मात्रै लिएर जाँदा निकै चुनौतीपूर्ण हुन्थ्यो,’ उनी सम्झिन्छन्, ‘तर सारा अवरोधबीच हामीले विचार स्थापित गरिछाड्यौं ।’

अखिलको अध्यक्षपछि उनले तत्कालीन प्ररायुसंघ अध्यक्ष भएर युवाहरूलाई संगठित गर्ने अभियान सुरु गरे । अखिलमा उनले संगठित गरेका अधिकांश विद्यार्थी नेताहरू अहिले पार्टीको उच्च तहमा पुगेका छन् । उनी ०४९ मा निर्वाचित जिविस सदस्य र ०५१ मा जिविस उपसभापति भए ।

त्यसपछि पार्टी सचिवालय सदस्य हुँदै किसान महासंघको केन्द्रीय सदस्य र राष्ट्रिय कफी तथा चिया विकास बोर्ड उपाध्यक्षको जिम्मेवारी सम्हाले । ०६२/६३ को जनक्रान्तिमा जनपरिचालन गर्न उनको सक्रिय सहभागिता रह्यो । आन्दोलनमा पार्टी तर्फबाट कमान्डर थिए । ०६६ असारमा भएको जिल्ला अधिवेशनबाट उनी धनकुटाको निर्वाचित जिल्ला अध्यक्ष भए । २०६६ देखि २०७८ सम्म जिल्लाको नेतृत्व गरे । हाल केन्द्रीय कमिटी सदस्य र धनकुटा जिल्ला इन्चार्ज छन् ।

सकसपूर्ण ५ वर्ष : धक फुकाएर काम गर्न नपाएको कार्यकाल
तीन साताअघि धनकुटा पुग्दा उनी चुनाव प्रचारमा थिए । यसपालि पनि उनी प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले)का उम्मेदवार छन् । यो निर्वाचन उनलाई सधैं जस्तो अप्ठेरो लागेको छैन । गत ५ वर्षमा गरेका कामको लामो सूचीसँग उनीसँग छ । श्वेतपत्र जारी गरेका छन् । २०७४ को निर्वाचनमा जाँदै गर्दा उनीसँग त्यो सूची थिएन, मात्रै एजेन्डा थियो।

तर उनी उति धेरै खुसी छैनन् । भनेजस्तो काम गर्न नपाएकामा थकथक गरिरहन्छन् । विश्वव्यापी रूपमा फैलिएको कोरोना र पार्टीभित्रको विवाद। भन्छन्, ‘गत ५ वर्ष यस्तो समयको रुपमा बितायौं कि आर्थिक समृद्धिभन्दा मानव समाजको रक्षाका निम्ति हामीले हाम्रा सम्पूर्ण बल, बर्कत खर्चिनुपर्ने अवस्थाको सिर्जना भयो ।

कोभिड–१९ बाट जनतालाई जोगाउन मैले प्रतिनिधिसभाको सदस्यको रुपमा सबै प्रयास र प्रयत्नहरू गरेंँ । तुलनात्मक रुपमा अन्य जिल्लाभन्दा धनकुटालाई कोभिड–१९ बाट सुरक्षित बनाउन सफल भयौं ।’ महामारी नभएको भए धनकुटाको विकास र समृद्धिको अवस्था माथि हुने उनको भनाइ छ । भन्छन्, ‘हाम्रो कार्यकालको यति लामो समयावधि कोभिड–१९ महामारीमा बिताउन नपरेको भए धनकुटाको विकास र समृद्धिको अवस्था यो भन्दै धेरै माथि हुने थियो । धनकुटेली जनताको आर्थिक अवस्था धेरै माथि पुग्ने थियो । पूरै समय धक फुकाएर विकास र समृद्धिको अभियानमा लाग्न नपाएकामा दुःख लागिरहेको छ ।’


अन्यायको अनूभूति र नेताहरूको स्वीकारोक्ति

Rajendra rai
२४ असार २०७४ मा धनकुटामा आयोजित विजयसभामा

स्थानीय तह निर्वाचनको सफलतापछि २४ असार २०७४ मा धनकुटामा आयोजित विजयसभामा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरे, ‘स्थानीय तह निर्वाचन, २०७४ मा एमालेको ‘म्यान अफ इलेक्सन’ राजेन्द्र राई ।’ अध्यक्ष ओलीले यो घोषणापछि रोस्ट्रमबाट एमाले धनकुटाका अध्यक्ष राई बसिरहेको ठाउँमै पुगेर माला लगाइदिए । उनको नेतृत्वमा जिल्लाका तीन नगरपालिकासहित सबै सात स्थानीय तह जितेर एमालेले धनकुटा जिल्लामा क्लिन स्वीप गरेपछि अध्यक्ष ओलीले ‘म्यान अफ इलेक्सन’ घोषणा गरेका हुन् ।

अध्यक्ष ओलीले अध्यक्ष राईको खुलेर प्रशंसा मात्रै गरेनन्, अन्य जिल्लाका विरोधीहरूलाई राजेन्द्र राई पठाएर ठीक पार्नेसमेत बताए । उनले भने, ‘एमाले विरोधीहरूले बढी चरक–मरक नगरे हुन्छ, धनकुटाबाट राजेन्द्र राई पठाइदिउँला ।’ अध्यक्ष ओलीसहित पार्टीका शीर्ष नेताहरूले उनको प्रशंसा गरे । मन्त्री बनाउने घोषणा गरे तर यसबीचमा उनी मन्त्री बन्न सकेनन् । अध्यक्ष ओलीसहित नेताहरूले भन्ने गरेका छन्, ‘राजेन्द्र राईलाई साँच्चिकै अन्याय भएको छ ।’ त्यसकारण पनि उनी यो निर्वाचनपछि एमाले सरकारमा पुग्यो भने प्रदेश १ बाट मन्त्री बन्ने पहिलो सूचीमा रहेको नेताहरूको भनाइ छ ।

सुनीलबहादुरसँगको ‘ह्याट्रिक’ भिडन्त
यसपालि उनको भिडन्त गठबन्धनका उम्मेदवार कांग्रेस केन्द्रीय सदस्य सुनीलबहादुर थापासँग हुँदै छ । उनी स्व. सूर्यबहादुर थापाका छोरा हुन् । यसअघि थापासँग २०७० र २०७४ को चुनावमा मैदानमा आमनेसामने भएका थिए । दुवै जना २०७० को संविधानसभा निर्वाचनमा क्षेत्र–२ बाट प्रत्यक्ष उम्मेदवार थिए । त्यसबेला ४ सय ५७ मतान्तरले थापाले बाजी मारेका थिए । थापाले १० हजार ७० मत र राईले ९ हजार ६ सय ३५ मत पाएका थिए । यस्तै, २०७४ को संसदीय निर्वाचनमा राई १० हजार ४ सय ५९ मतान्तरमा विजेता बने । राईले ३७ हजार ३ सय ३३ र पराजित थापाले २६ हजार ८ सय ७४ मत प्राप्त गरेका थिए ।

थापा यसअघि राप्रपाका नेताका रुपमा चुनाव लडेका थिए भने यसपालि कांग्रेसको नेता । सुनीलबहादुर बुबाको विरासतको जगमा नेता भएका हुन् । शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्च आयोगमा लामो समय जागिर खाएका सुनीलबहादुर बुबाको विरासतमा उभिएका छन् । तर त्यो विरासत कम्तीमा धनकुटाका लागि सम्झनालायक छैन । उनका बुबा सूर्यबहादुर थापासँग जोडिएर आउने घटना हो, छिन्ताङ हत्याकाण्ड ।

२०३६ सालको २४–२९ कात्तिकसम्म सूर्यबहादुर थापाको निर्देशनमा १६ जनाको हत्या भएको थियो । छिन्ताङ काण्डलाई आजपर्यन्त नेपाली राजनीतिमा ठूलो घटनाका रुपमा लिइने गरेको छ । थापाको ६२ वर्षे राजनीतिक जीवनमा छिन्ताङ काण्ड सधैं कलंकका रूपमा निधारमा टाँसिएर गयो । यसको उत्तर नदिई थापा बिदा भए । यद्यपि सुनीलबहादुर रुखको छहारीमा पुगेका छन् । रुखको छहारीले यो कलंकको टीका छलिदेला वा प्रस्ट देखाउला, त्यो हेर्न बाँकी छ । गठबन्धनका मुख्य दल माओवादी पोलिटब्युरो सदस्यबाट राजीनामा दिएर हेमराज भण्डारी पनि चुनावी मैदानमा छन् । त्यसले पनि राजेन्द्र राईलाई सजिलो बनेको स्थानीयको भनाइ छ ।

राजेन्द्र भन्छन् : सुनिल प्रतिस्पर्धी बन्दा दुःख लाग्छ

गीतकार गणेश इजमले लेखे र किशोर थुलुङले गाएको एउटा गीत छ ।

खोकु छिन्ताङ दुख्यो कि अरुण सुसाउँदा
मन सबको रुन्छ कि दुःख बिसाउँदा

अन्धकारमा बन्दुकहरु पड्किएको बेला
छातीभरी संगिनहरु गाढिएको बेला
धनकुटाको छाती दुख्यो चाल पायौं की
अन्यायको बिरोध गर्ने कसम खायौं की

वसन्तको पालुवामा सहिदहरु फुल्छन्
सल्लेरीको सुसाईमा हावा भई डुल्छन्
धनकुटाले आफ्नो घाउँ सम्झिराख्नुपर्छ
नशा भित्र तातो रगत बगाइराख्नुपर्छ

गीतमा भनेजस्तै ‘धनकुटाले आफ्नो घाउँ सम्झिराख्नु’ पर्ने राजेन्द्रको भनाई छ । हजारौं सहिदहरुको बलिदानबाट स्थापित गणतन्त्रमा पनि पञ्चायती व्यवस्थाको विरासत बोकेका नेताहरुसँग चुनाव लड्दा मज्जा नलगेको राजेन्द्रको भनाई छ । भन्छन्, ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा गणतन्त्रका लागि सँगै लडेका साथीहरु नै मुख्य प्रतिस्पर्धी हुँदा मज्जा आउन थियो । धनकुटाको माटोलाई बुझेका, छोएका र छामेका नेता प्रतिस्पर्धी भएको भए हुनेथियो । त्यसो भएन ।’ निर्वाचनमा वहस विकास र समृद्धिको एजेन्डामा हुनुपर्नेमा विरासतमा भएको उनको भनाई छ । उनी सोध्छन् ‘कसैको विरासत जोगाइदिएर धनकुटा र धनकुटेलीलाई के छ हुन्छ ?’

पछ्याउनुहोस्

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७