हरिबहादुर राईको मार्गचित्र : अब अतिवाद होइन विकास, समृद्धि र सद्भाव


१६ कार्तिक २०७९, बुधबार
Hari Bahadur Rai CPNUML scaled

राजनीतिमा पूर्वी पहाडी जिल्ला भोजपुरको इतिहास बढो गौरवमय छ । भोजपुरको परिचय हो, ‘नेता जन्माउने जिल्ला’ । राष्ट्रपति सहित मन्त्री, मुख्यमन्त्रीहरुको सूची भोजपुरसँग लामो छ । विभिन्न राजनीतिक दलका उपल्लो तहमा नेताहरु पुगेका छन् । भोजपुरेहरु कहिले चियागफमा जिस्किएर भन्छन्, ‘हाम्रो जिल्लाबाट बिभिन्न पार्टीमा प्रतिनिधित्व गर्ने नेताहरु एकै ठाउँ भेला भए ठुलो ट्रकले पनि बोक्न सक्दैनन् ।’

पार्टीका नेता मात्रै होइन अवसरको हिसाबले राज्य सञ्चालन तहमा पनि पटक–पटक अवसरमा पुगेका छन् । क्रान्तिको चरणमा भोजपुरेहरु ‘च्याम्पियन’ साबित भएका छन् । तर विकास हिसाबले भोजपुरतिर फर्केर हेर्दा बढो कहाली लाग्दो छ । मध्यपहाडी राजमार्गले छोएको र टक्सार एयरपोर्टदेखि भोजपुर बजारसम्मको बाहेक सडक ग्राभेल भएको छैन । बर्खाभरी सदरमुकामदेखि स्थानीय तह पुग्ने सडकहरु प्राय बन्द जस्तै हुन्छ । पछिल्लो समयमा सोधिने प्रश्न हो, ‘आन्दोलनमा ‘च्याम्पियन’ भोजपुरेहरु विकासको सन्र्दभमा किन पछि ?’ पछिल्लो पटक यो वहस सुरु भएको छ । यही वहसमा मिसिएका छन्, नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा भोजपुर इन्चार्ज हरिबहादुर राई । जो प्रदेशसभा सदस्यको लागि भोजपुर क्षेत्र नं.१ बाट उम्मेदवार बनेका छन् ।

यसपाली उनको चुनावी एजेन्डा विलकुल फरक छ । न आन्दोलनका कुरा, न क्रान्तिका । न बिरोधी माथि कुनै आरोप । राई भन्छन्, ‘अब आरोप प्रत्यारोप होइन समृद्धिको युग सुरु गर्ने बेला भयो ।’ भोजपुरको गौरवमय इतिहासको विरासतमा उभिएर समृद्ध भोजपुर निर्माण अबको आफ्नो अभिष्ट रहेको उनको भनाई छ । भन्छन्, ‘हाम्रो गौरवमय इतिहास भन्छ–परिवर्तनको लागि क्रान्तिको आगो र चेतनाको उज्यालो भोजपुरबाट सल्किएको हो ।’ अब त्यही इतिहासलाई साक्षी राखेर म भन्छु, ‘दुनियाँले देख्ने, सुन्ने र थाहा पाउने गरी उदाहरणीय समृद्धिको अभियान भोजपुरबाट सुरु गर्नेछौं ।’

मार्गचित्र बनाएर मैदानमा

यसपटक उनले समृद्धिको मार्गचित्र तयार गरेका छन् । भोजपुरको विकासको लागि विशेष १७ संकल्प सहितका मार्गचित्र उनले प्रस्तुत गरेका छन् । आफ्नो घोषणापत्रमा कसैको बिरोध वा आलोचना गरेका छैनन् । बरु आफू विकास र समृद्धिका पक्षधरको साझा उम्मेदवार भएको दाबी प्रस्तुत गरेका छन् । उनले घोषणापत्रमा लेखेका छन्, ‘उम्मेदवारी र प्रतिनिधित्वको हिसाबले नेकपा (एमाले)को उम्मेदवार भएपनि भोजपुरको विकास र समृद्धिको पक्षधर भोजपुरेहरूको साझा उम्मेदवारहरूको रुपमा तपाईँहरूले बुझीदिनु हुन अनुरोध गर्दछु । भोजपुर समृद्धिको मार्गचित्र पनि सोही अनुरुप प्रस्तुत गरेको छु ।’

हेर्नुहोस् राईको १७ संकल्प

अब ‘नो टुकी’ : अब हरेक वडामा बत्ती बिजुली ।
 हरेक वडा, विशेष उत्पादन : उत्पादित वस्तुको बजार व्यवस्थापन ।
 अब ‘नो खर’ : सबै जनताको छानोमा च्यादर ।
 अरुण नदीका सबै परियोजनामा सेयर लगानी : समृद्ध बनाउनेछौं सबैको जिन्दगानी ।
 इरखुवा र पिखुवाको पानीमा सबैको लगानी : समृद्ध बन्नेछ सबैको जिन्दगानी ।
 एक घर, एक धारा : सफा खानेपानीको सुविधा सुनिश्चितता मेरो अभिभारा ।
 हरेक स्थानीय तहमा चिकित्सकसहितको अस्पताल : मर्ने छैनन् कोही अकाल ।
 हरेक वडादेखि पालिका-नगर केन्द्रसम्म पक्की सडक : बनाउनेछौं सबैको दैनिकी सहज ।
 सरकारी विद्यालयको शैक्षिक गुणस्तरमा वृद्धि : बोर्डिङ छाडेर फर्किनेछन् हाम्रा विद्यार्थी ।
 किसानलाई उन्नत जातको बिउबिजन : कृषिको आधुनिकीकरण मेरो ‘मिसन’ ।
 सहरमा संघर्ष गरिरहेका तपाईंका सन्तति : उनीहरूको दुःखमा हुनेछु म सधैं साथी ।
 मुन्धुम पदमार्ग र तेन्जिङ हिलारी पदमार्गमा पर्यटकको भीड : हुने छैन हामीलाई पैसाको पीर ।
 एक वडा एक सहकारी : खाली हुने छैन हाम्रो भकारी ।
 एक वडा एक खेलकुद मैदान, एक पालिका-नगर एक रंगशाला : खेलाडीको संरक्षण मेरो अभिभारा ।
 सबै जातिको भाषा र संस्कृतिको संरक्षण : सहिष्णुता र सद्भाव मेरो अभियान ।
 सबै वडामा इन्टरनेट सेवा : हुने छैन अब सूचना र सञ्चार कसैको पेवा ।
 राष्ट्रिय सडक सञ्जालमा भोजपुर जोड्ने मेरो अभियान : अरुण नदीमा मोटरेबल पुल निर्माण ।

Hari Rai

उनले १७ संकल्पसँगै ७ प्रतिबद्धता पनि मार्गचित्रमा उल्लेख गरेका छन् । हेर्नुहोस् उनको प्रतिबद्धता :

 शासक होइन होइन जनताका सेवक रुपमा काम गर्नेछु ।
 म विकास र समृद्धिको अभियान्ता भएर जनतासँग सहयात्रा गर्नेछु ।
 स्थानीय सरकार र संघीय सरकारबिच पुलको काम गर्नेछु ।
 समृद्धि र बिकासको सन्र्दभमा स्थानीय सरकारका जनप्रतिनिधिसँग गहिरो सहकार्य र समन्वय गर्नेछु ।
 सुशासन र सदाचारको अभियान सञ्चालन गर्नेछु ।
 सबै जनताको हरेक फोन उठाउनेछुँ । व्यस्त भएर नउठे ‘कल ब्याक’ गर्नेछु ।
 हरेक ६ महिनामा तपाईँहरूसँग संवाद गर्न तपाईँको वडासम्म आइपुग्नेछुँ ।
 म जनताको हरेक दुःख र संकटमा साथ हुनेछु ।
 सम्झिनुहोस्, तपाईको दुःखमा साथ दिने एउटा साथी आजबाट थपिएको छ ।

उनले आफ्नो निर्वाचन क्षेत्रको प्रत्येक पालिकाको समृद्धिको लागि अलग अलग मार्गचित्र पनि बनाएका छन् ।

हेर्नुहोस् उनको मार्गचित्र

Arun
Hari Rai Bhojpur
Hari Rai 2
Hari Rai
Hari Rai Arun

टेम्केको फेदीदेखि राष्ट्रिय राजनीतिको केन्द्रसम्म
भोजपुरको टेम्के मैयुङ–५ खावामा आमा मित्रमाया राई र बुबा समृतमान राईको जेठा सन्तानको रूपमा २०२५ मा जन्मिनुभएका राई २०३९ सालदेखि राजनीतिमा सक्रिय भए । देशभरि पञ्चायती व्यवस्थाविरुद्ध विद्रोहको आगो फैलिरहेको थियो । त्यो आगो भोजपुरसम्म पनि आइपुग्दै थियो । यही रापतापमा २०३९ देखि विद्यार्थी राजनीतिमा सामेल भए । २०४० मा अनेरास्ववियु एकता पाँचौंको सदस्यता लिए । २०४२ मा अनेरास्ववियु अन्नपूर्ण माध्यमिक विद्यालय प्रारम्भिक कमिटीको सदस्य बने । अन्नपूर्ण माविबाट एसएलसी उत्तीर्ण गरेलगत्तै उच्च शिक्षाका लागि भोजपुर बहुमुखी क्याम्पस पुगे । २०४६ सालमा अनेरास्ववियु भोजपुर बहुमुखी क्याम्पस प्रारम्भिक कमिटी सदस्यमा निर्वाचित भए । २०४६ सालको जनआन्दोलनमा संयुक्त वाममोर्चा खावाको संयोजकको जिम्मेवारी भए ।

२०४६ सालको पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा सक्रिय रहनुभएका उहाँले २०४६ को जनआन्दोलनको सफलतासँगै पार्टी राजनीति सुरु गरे । २०४७ मा नेकपा (माले)को संगठित सदस्यता लिनुभयो । २०४७ मा नेकपा (एमाले) गाउँ पार्टीको उपसचिव भए । २०४९ सालमा नेकपा (एमाले) जिल्ला कमिटी सदस्यमा निर्वाचित हुनुभयो । २०५४ सालमा जिल्ला विकास समिति भोजपुरको सदस्यमा निर्वाचित भए । जिल्ला विकास समिति सदस्यको रूपमा २०५४ देखि २०५९ सम्म काम गरे । २०५४ देखि २०५८ सम्म पार्टी जिल्ला कमिटीको उपसचिव भए । यसैगरी २०६५ देखि २०६८ सम्म नेकपा (एमाले) जिल्ला कमिटीको उपसचिवको रूपमा जिम्मेवारी लिए ।

जिल्लाको पार्टी कामसँगै तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपालमा पनि सक्रिय भए । २०५६ सालमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सदस्यमा मनोनीत हुनुभयो । २०५९ जेठमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपालकोे चौथो महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भए । २०६१ मंसिरमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपालको पाँचौं केन्द्रीय सम्मेलनबाट केन्द्रीय सचिवालय सदस्य र पूर्वाञ्चल प्रमुखमा निर्वाचित भए । २०६६ माघमा लहानमा भएको युवा संघको छैटौं महाधिवेशनबाट केन्द्रीय उपाध्यक्षमा निर्वाचित भएर पूर्वाञ्चल प्रमुखको जिम्मेवारी सम्हाले ।

२०६९ फागुनमा बुटवलमा भएको युवा संघको सातौं महाधिवेशनबाट केन्द्रीय सल्लाहकार सभापतिमा निर्वाचित भए । २०७१ मा सम्पन्न नेकपा (एमाले) को नवौं राष्ट्रिय महाधिवेशनबाट वैकल्पिक केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भए । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को एकतापछि बनेको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी सदस्य भए । २०७८ मा सम्पन्न नेकपा (एमाले) को आठौं राष्ट्रिय महाधिवेशनबाट पुनः केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भए । हाल केन्द्रीय कमिटी सदस्य तथा भोजपुर इन्चार्ज छन् ।

Hari Rai 1 scaled

युवाका प्रिय नेता
उनी युवामाझ लोकप्रिय नेता हुनुहुन्छ । कतिपय युवा नेताहरूले उनलाई सम्मान गरेर युवा संघको भीष्मपिता भनेर सम्बोधन गर्ने गरेका छन् । संघमा रहँदा उहाँले युवा संघले सञ्चालन गरेका परिवर्तन र रुपान्तरणका आन्दोलनको कमान्डरको रूपमा भूमिका निर्वाह गरे । जनजीविका, राष्ट्रियता र राष्ट्रिय स्वाभिमानका पक्षमा भएका आन्दोलनको नेतृत्व गरे योसँगै समतामूलक समाज निर्माणका अनेक अभियानमा पनि राई उत्तिकै सक्रिय भए

उनले युवा संघमा रहँदा संगठित, प्रशिक्षित र संरक्षण गरेका युवाहरू आज देशभरका विभिन्न पार्टी कमिटीको नेतृत्व तहमा पुुगेका छन् । केन्द्रीय कमिटी र राजकीय जिम्मेवारीमा पुुगेका छन् । उनले संगठित र प्रशिक्षित गर्नुभएका सयौं युवाहरू आज राज्यको निर्णायक तहमा पुगेका कारण पनि उहाँलाई जिल्लाको विकासमा बजेट ल्याउन असाध्यै सजिलो छ ।

साझा, सरल र सादगी नेता
उनी जिल्लाको साझा, सरल र सादगी नेता हुन् । विचारको सन्दर्भमा कतिपय नेताहरू अतिवादी कित्तामा उभिने गरेको आरोप लाग्ने गरेको छ । तर, उनी जहिल्यै अतिवादविरुद्धमा उभिए । सामाजिक सहिष्णुता र सद्भावसहितको समतामूलक समाज निर्माणको पक्षमा दृढ छन् । जिल्लाभित्रका सबै वर्ग, धर्म, जातजाति, जनजातिका संस्कृति, रीतिरिवाज, परम्परा र पहिचानलाई संरक्षण र सम्वद्र्धन गर्दै सामाजिक एकतामा आधारित बलियो नेपाल राष्ट्र निर्माण गर्नु सबैको साझा कर्तव्य रहेको उनको बुझाइ छ ।

भोजपुरका धेरैले भन्छन्, हरि राई सजिलो नेता हो । सजिलो अर्थात् उनी जिल्लाबासीका हरेक सजिला÷ अप्ठेरा, सुखदुःखमा उपलब्ध हुने नेता हुन् । आमजनता र कार्यकर्ताको गुनासो हुन्छ, नेताहरू जनताभन्दा टाढा भए । तर, उनी यस्तो सरल नेता हुन्, जिल्लाबासीलाई कुनै पनि अप्ठेरो पर्दा आफंै मैदानमा उत्रिएर सहयोग गर्ने बानीको सबैले प्रशंसा गर्छन् ।

पर्यटन विकासका अभियन्ता

भोजपुरको पछिल्लो परिचय बनेको छ, ‘मुन्धुम पदमार्ग ।’ नेपालकै आकर्षक पर्यटकीय गन्तव्यको रूपमा विकास भइरहेको मुन्धुम पदमार्ग भोजपुर समृद्धिको एउटा कडीको रूपमा विकास हुँदै छ । यसको विकास, प्रचार–प्रसारमा उनको गहिरो साथ र सहयोग रहेको छ । स्व. रवीन्द्र अधिकारी पर्यटनमन्त्री भएका बेला उनीहरुकै समूहको पहलकदमीमा मुन्धुम पदमार्ग नेपालको नयाँ गन्तव्यको रूपमा सूचीकृत भएको हो ।

प्रतिस्पर्धी आफ्नै सहयोद्धा
यसपाली भोजपुरको प्रदेशसभामा रोचक प्रतिस्पर्धा छ । मुख्यमन्त्री राजेन्द्र राई गठबन्धनको तर्फबाट उम्मेदवार छन् । एकीकृत समाजवादीका नेता मुख्यमन्त्री राई कुनैबेला उनको नजिकको सहयोद्धा हुन् । लामो उनीहरु नेकपा (एमाले)को एउटै समूहमा थिए । एकले अर्काको लागि काँध थापेर हिडेका थिए ।

त्यसो त अघिल्लो निर्वाचनमा नै प्रदेशसभा सदस्यमा हरिबहादुरले टिकट पाउने चर्चा थियो । तर वाम एकतापछि प्रतिनिधिसभामा माओवादीको भागमा पर्यो । माओवादीका नेता सुदन किरातीले संघमा टिकट पाएपछि राजेन्द्र प्रदेशमा ओर्लिए । हरिबहादुर राजेन्द्रको चुनावी कमाण्डर भए । भोजपुरको हरिबहादुर एक मात्रै यस्तो नेता हुन्, जो राजेन्द्रको प्रचारको लागि भोजपुरका असाध्यै विकट खाटाम्मा, चौकीडाँडाको तालसम्म पुगे ।

त्यस यता उनीहरु एउटै समूहमा निरन्तर थिए । तर एमाले विभाजनपछि राजेन्द्र नयाँ पार्टीमा लागे । मुख्यमन्त्री भए । हरिबहादुरले एमाले छोडेनन् । त्यसो त प्रचारहरुमा पनि हरिबहादुर र राजेन्द्रविच अहिलेसम्म सौहाद्र नै देखिएको छ । हरिबहादुर भन्छन्, ‘आरोप प्रत्यारोप किन गर्ने ? आ–आफ्नो एजेन्डा मतदातालाई भन्नु राम्रो हुन्छ ।’

राजेन्द्रलाई गठबन्धनको गणितको साथ छ । तर स्थानीय तहको निर्वाचनमा राजेन्द्रको पार्टीको मत भोजपुर क्षेत्र नं. १ मा १७ सय ९४ मात्रै छ । एमालेको १४ हजार ५४ आफ्नो मत छ । राजेन्द्रको सम्पूर्ण भर नेपाली कांग्रेस र माओवादीमाथि छ । हरिबहादुर भने आफू एमालेको मात्रै भएर विकास र समृद्धिको पक्षमा उभिएको साझा उम्मेदवार भएको कारण जित सुनिश्चित रहेको दाबी गर्छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७