रानीपोखरीको नक्सा नै गलत


१ कार्तिक २०७४, बुधबार
Rani Pokhari Renovation Stopped 2

काठमाडौं : साढे दुई वर्षअघि गएको भूकम्पमा ध्वस्त रानीपोखरीको नक्सा त्रुटिपूर्ण रहेको फेला परेको छ । काठमाडौं महानगरपालिकाले करिब तीन महिना लगाएर रानीपोखरीको नक्सा ‘ड्रइङ एन्ड डिजाइन’ तयार गरेको थियो । पुरानै नक्साअनुसार काम अघि बढाउने कि नयाँ नक्सा बनाउने विषयमा अन्योल भएपछि रानीपोखरी निर्माण वर्ष दिनदेखि अलपत्र बन्न पुगेको छ ।

Rani Pokhari Renovation Stopped 2

महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले नक्सामा त्रुटि देखिएपछि निर्माण कार्य अलपत्र बनेको बताए । ‘रानीपोखरीको नक्सा हामीले नै बनाएका हौँ । तर, पछि त्रुटिपूर्ण देखियो । पुरानै नक्साअनुसार काम अघि बढाउने कि नयाँ नक्सा बनाउने विषय अझै टुंगो लागेको छैन, यही कारण निर्माण कार्य रोकिएको हो,’ उनले भने ।

महानगरपालिकाका भौतिक पूर्वाधार विभाग प्रमुख डा। उत्तरकुमार रेग्मीको नेतृत्वमा रानीपोखरीको नक्सा तयार गरिएको थियो । तयार नक्सा त्रुुटिपूर्ण रहेको तथ्य त्यतिवेला पत्ता लाग्यो, जतिवेला पानी सुकाएर रानीपोखरी पूर्णरूपमा भत्काइसकिएको थियो । महानगरपालिकाका अनुसार इन्जिनियरले रानीपोखरीको आकर्षक नक्सा निर्माण ग¥यो ।

पोखरीवरिपरि मनोरम गार्डेन रहेन भनी नक्सामा उतारियो । पोखरीभित्र म्युजिकल फाउन्टेनसमेत बनाउने भनियो । तर, पोखरीमा पानी अड्याउने विषयतर्फ इन्जिनियरको ध्यान नै गएन । पोखरीमा पानी अड्याउने विषय नै समावेश नभएपछि रानीपोखरीको नक्सामा त्रुटि भेटिएको हो । ‘नक्सा ठीक नभएको पछि मात्रै थाहा भयो । प्राविधिकले पहिले नै यति विषय त सोच्नुपर्ने हो, तर सोचेको देखिएन । गल्ती यहीँ भएको छ,’ उनले भने ।

मान्दिर निर्माण पनि सुस्त

महानगरपालिका र पुरातत्व विभागबीच लामो विवादपछि निर्माण सुरु गरिएको रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरको निर्माण कार्य पनि ठप्प छ । सो मन्दिर एक करोड ६० लाख रुपैयाँमा पुरातत्व विभागले बनाउने सम्झौता थियो । गत असारमै मन्दिरकोे निर्माण कार्य सुरु गरिए पनि प्रगति भने शून्य छ । विभागले आगामी तिहारसम्म मन्दिर निर्माण कार्य सक्ने भनेको थियो । नक्सामा त्रुटि देखिएकै कारण मन्दिर निर्माणबारे महानगरपालिका र विभागबीच विवाद भएको थियो । मन्दिरको नक्सा पनि काठमाडौं महानगरपालिकाले नै बनाएको थियो ।

पोखरीमा पानी अडाउने योजना छैन
महानगरपालिकाले योजनाअनुसार पोखरीभित्रको पानी झिक्यो । पोखरीमा रहेका माछा अन्तै सारियो । पोखरीवरिपरि पर्खाल लगाइयो । पोखरीभित्र पुरानो माटो थियो । माटो हटाउनुपर्ने भयो । महानगरपालिका माटो हटाउनेतर्फ लाग्यो । माटो हटाउँदै जाँदा पिँधमा बालुवा भेटियो । बालुवामा पानी अड्नै सक्दैन । त्यसका लागि पोखरीको पिँधमा टायल राख्नुपर्ने हुन्छ । टायल राख्दा रानीपोखरीको ऐतिहासिक महत्व हराउने खतरा पनि त्यत्तिकै छ । यस्तो अवस्थामा पोखरीको पानी अडाउने विषयमा नक्सामा केही उल्लेख छैन । पोखरीको पिँधमा टायल राख्ने कि माटो भन्ने विषयमा महानगरपालिका अलमलमा छ । रानीपोखरी निर्माण योजना अलपत्र हुनुको कारण यही हो ।

– भूकम्पलगत्तै महानगरपालिकाले ०७३ कात्तिकमा सम्पन्न गर्ने गरी रानीपोखरी निर्माण कार्य अघि बढाएको थियो । यसका लागि १० करोड रुपैयाँ बजेट पनि विनियोजन भयो । डिजाइनअनुसार पोखरीभित्र म्युजिकल फाउन्टेन, अत्याधुनिक बगैँचा, मन्दिर पुनर्निर्माण गर्ने भनियो । तर, पोखरीमा पानी अड्याउने विषयमा भने कसैको ध्यान पुगेन ।

नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७