संसदमा दाङबाट शंकर : दाङलाई अवसर


०७:१९ बजे

नेताहरु नेतृत्वमा कसरी पुग्छन् ? हामीलाई यस्तो लाग्छ, ‘यो उसको आफ्नै योग्यता, योगदान र पहलकदमीको योगफल हो ।’ तर त्यसो मात्रै होइन । नेता निर्माणको निम्ती धेरै–धेरै मान्छेहरुले आफ्नो अमुल्य रगत–पसिना, असाधरण पौरख–परिश्रम र बलबर्कत बेहिसाब खर्चेका हुन्छन् । एकजना नेताको सफलता र असफलतासँग धेरै कार्यकर्ताहरुको सपना जोडिएको हुन्छ ।

तर हामीले अभ्यास गरेको प्रणाली यस्तो छ की तुलनात्मक रुपमा नेतासँगको पहुँचको दुरी भने कायम हुन्छ । अर्थात् निर्वाचन क्षेत्रको आधारमा नेतामाथिको पहुँच फरक पर्छ । नेता जति सुकै ठुलो होस् ? आफ्नो निर्वाचन क्षेत्रका नेतामाथि त्यहाँका जनता र नेता कार्यकर्ताहरुको पहुँच तुलनात्मक रुपमा बढी हुन्छ नै । आफ्नो निर्वाचन क्षेत्रका नेतालाई आफ्नो दुःख सुनाउन होस् वा खुसी बाढ्न । सहज पहुँच हुन्छ । घुर्काउँन होस् वा थर्काउन । त्यो सामिप्यता र सहजता हुन्छ । जिल्ला वा निर्वाचन क्षेत्रको विकासमा पनि असर पर्छ ।

त्यसैले त हरेक निर्वाचन क्षेत्रका आम नागरिकहरु चहान्छन्, ‘हाम्रो नेता अग्लो होस् । उपल्लो पदको होस् ।’ हरेक निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशले आफ्नो ‘हेवी वेट’ नेता खोजिरहेको हुन्छ । त्यसैले उपल्लो तहका अधिकांस नेताले एउटै निर्वाचन क्षेत्रबाट निरन्तर जितिरहेका हुन्छन् । यो निर्वाचनमा नेकपा (एमाले)का ‘हेवी वेट’ उम्मेदवार मध्येका एक महासचिव शंकर पोखरेल दाङ क्षेत्र नं.२ बाट उठेका छन् । अध्यक्ष पदको शत्तिशाली पदमा रहेका शंकर पोखरेलको उम्मेदवारीले पनि दाङतिर धेरैको ध्यान छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओली झापाबाट उठेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा डडेलधुराबाट । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड गोरखाबाट । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल रौतहटबाट । कांग्रेस महामन्त्री गगन थापा काठमाडौं क्षेत्र न.३, महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नं.१ बाट उम्मेदवार छन् ।

Shankar Pokhrel

दङाली शंकर : दाङका लागि शंकर

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ माघ ३ गते सरकारले प्रदेशको अस्थायी मुकामहरु तोक्यो । प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को धनगढी अस्थायी मुकाम तोकियो । अस्थायी भनिएपनि प्रदेश ५ बाहेक अरु सबै स्थायी मुकाम बन्यो । मुकाम परिवर्तनका लागि अनेकौं प्रयास र आन्दोलनहरु भए । तर प्रदेश ५ बाहेक सबै प्रदेशको मुकाम स्थायी नै भयो । प्रदेश ५ अर्थात् लुम्बीनि प्रदेशको मुकाम भने रुपन्देहीबाट दाङ सर्यो । कसरी सम्भव भयो त ? उत्तर सहज छ, ‘शक्तिशाली मुख्यमन्त्री दाङका थिए ।’ दोस्रोे सिङ्गो प्रदेशको साझा मनोविज्ञानलाई प्रतिनिधित्व गर्ने साझा स्थानको खोजी ।

यहाँनिर प्रष्ट हुन्छ, की नेतृत्व तहमा जिल्लाका नेता हुनुको फाइदा । शंकर बाहेक अरु मुख्यमन्त्री भएको भए त्यो कल्पना बाहिरको बिषय हुन्थ्यो । एक हिसाबले शंकरले रुपन्देहीका विभिन्न दलका ‘हेवी वेट’ नेताहरुलाई ‘स्तब्ध’ बनाएर आफ्नो गृह जिल्ला दाङलाई ‘सरप्राइज’ उपहार दिएका थिए । कतिपयले यसलाई शंकरको शक्ति अभ्यासको रुपमा व्याख्या गरे । उतिबेला नेकपाका स्थायी कमिटी सदस्य समेत रहेका प्रदेश ५ का मुख्यमन्त्री शंकरले प्रदेशको राजधानी भालुवाङ्गलाई बनाउने विषय आफ्नो शीर्ष नेतृत्व (अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’)लाई ‘कन्भीन्स’ गरे । तल आफूले कुशलतापूर्वक सबै जाँचो मिलाए ।

दिर्घकालसम्म गहिरो असर गर्ने प्रदेश राजधानी मात्रै होइन आफ्नो मुख्यमन्त्री कालमा शंकरले दाङमा धेरै आयोजनाहरु पनि भित्राए । राणनीतिक र दिर्घकालिन महत्वका आयोजना सुरु गरे । दाङमा सडक पूर्वाधारमा २ अर्ब ५० करोड लगानी भयो । शहरी विकासमा १ अर्ब ५० करोड, खानेपानीमा १ अर्ब र सिंचाइमा १ अर्ब लगानी भयो । स्वास्थ्यतर्फ १ अर्ब र पर्यटन, वन र वातावरणमा ५० करोड तथा विविधमा ५० करोड दाङ पठाए । संघबाट पनि उत्तिकै बजेटहरु पठाए । धेरै कुरामा दाङले शंकरबाट फाइदा उठायो ।

KP sharm oli

दाङको हाडिमेबाट केन्द्रको ‘केन्द्र’मा शंकर
नेकपा (एमाले) का अध्यक्ष ओलीका ‘अलराउन्डर’ विश्वासपात्र रुपमा चिनिन्छन् शंकर । अध्यक्षपछिको शक्तिशाली पद महासचिवमा रहेका शंकर दाङ हाडिमेका हुन् । हाडिमेबाट पढ्न शंकर बनारस गए । पढाईसँगै राजनीतिमा सक्रिय भए । भारतमा अध्ययनरत नेपाली विद्यार्थीहरुको संगठन अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनको प्रथम अध्यक्ष भए । कुनै बेला बनारस नेपालको राजनीतिको आधारविशिर जस्तै थियो । पुष्पलाल र बीपी कोइराला उतै थिए ।

शंकरलाई मदन भण्डारीले नेपाल ल्याए । अनेरास्ववियुमा जिम्म पाए । अनेरास्ववियु (२०४७–२०५०) को अध्यक्ष भए । उतिबेलाको राजनीतिको एउटा केन्द्र त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनको सभापति (२०४५—२०४८) भए । स्ववियु काउन्सिल नेपालको संस्थापक संयोजक (२०४५) भए । पोखरेल ३२ वर्षकै उमेरमा दाङबाट संसदमा पुगे। उतिबेला कांग्रेसको उर्वर जिल्ला । खुमबहादुर खड्का जस्तो नेता । त्यही दाङमा उनले कम्युनिष्टको लागि खोरिया खने । खुमबहादुरको रापताप अघि उनले वामपन्थी आन्दोलनको बाँझो खने । २०५१ सालमा दाङको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित भएपछि उनी राजनीतिको केन्द्रमा आइपुगे ।

२०५४ मा एमाले विभाजति भयो । २०५६ को चुनाव शंकरले गुमाए । २०६४ को चुनावमा समानुपातिक तर्फबाट संविधान सभा सदस्य भए । २०६५ मा माधवकुमार नेपाल नेतृत्वको सरकारमा सूचना तथा सञ्चारमन्त्री भए । २०७० को चुनाव पनि हारे । २०७४ को वाम गठबन्धन भयो । माओवादीका प्रभावशाली नेता कृष्णबहादुर महरालाई छोडेर उनी प्रदेशमा झरे । निर्वाचनपछि प्रदेश–५ को मुख्यमन्त्री बन्नेगरी दाङ निर्वाचन क्षेत्र नम्बर २ (क) बाट प्रदेश सभा सदस्यको उम्मेद्वार बन्न तत्कालिन अध्यक्ष द्धय ओली र दाहालले आग्रहलाई मानेर उनी प्रदेश फर्किए ।

पार्टीमा शंकर एमालेको बुटवल आठौं महाधिवेशनबाट सचिव भए । काठमाडौं नवौं महाधिवेशनमा उपमहासचिवमा पराजित भए । दशौं महाधिवेशनबाट सर्बसम्मत महासचिव भए । दाङको हाडिमेले जन्माएको शंकर अहिले केन्द्रको ‘केन्द्र’मा छन् ।

निष्कलंक छवि
संगठनमा बाहेक शंकरको अर्को छवि छ, ‘वैचारिक नेता ।’ एमालेमा उनले विचारक र अध्येताको रुपमा परिचय बनाएका छन् । भू राजनीति र अर्थशास्त्रबारे राम्रो ज्ञान भएका नेतामध्ये मानिन्छन् । उनी विचार, शक्ति र संगठनमा ‘सदाबहार’ नेता हुन् । ‘सदाबहार’ अर्थात् राजनीतिक रुपमा आफ्नो अडान र कित्तामा दृढतापूर्वक उभिरहने नेता । उनी जहाँ उभिएका छन्, त्यहाँ सधैं दृढ देखिन्छन् । त्यही कारण पार्टीभित्रको शक्ति संघर्षमा कतिपय बेला फरक कित्तामा उभिएका नेताहरुप्रति बढी अनुदार जस्तो देखिन्छन् ।

शंकर मन्त्री भए । मुख्यमन्त्री बने । सत्ताको नजिक भए । तर उनी आजसम्म विवादमा आएका छैनन् । अनेक नेताहरु अनपेक्षित रुपमा अनेक काण्डमा जोडिए । तर शंकरले छवि स्वच्छ कायम राखे । निष्कलंक देखिए । उनको अर्को शक्तिशाली र बलियो पक्ष भने यही हो । त्यत्यतिका अवसर र जिम्मेवारीमा रहँदा पनि विवादमुक्त रहन ठिकै महत्वपूर्ण कुरा हो । उनको अर्को सम्पती यो हो ।

लेखक नविन विभास शंकरले आफ्नो लामो राजनीतिक जीवनमा वैचारिक नेता र छवि स्वच्छ बनाएको उल्लेख गर्छन् । शंकरमाथि उनले लेखेका छन्, ‘एक, शंकरले आफ्नो लामो राजनीतिक जीवनमा वैचारिक नेताको छवि बनाए। यसका लागि उनले शुरु देखि नै सैद्धान्तिक र वैचारिक ढंगले कार्यकर्ता प्रभावित पारे। दुई, एमाले नेताहरूमाझ शंकरको छवि स्वच्छ रह्यो। पार्टीप्रति निष्ठावान, इमान्दार र नबिटुलिएको नेताको रूपमा छवि बन्यो। तीन, एमालेभित्रको आन्तरिक राजनीतिमा सुखदुःख जहिल्यै उनी ओलीसँगै रहे। शंकरले कहिल्यै दायाँबायाँ गरेनन्।’

shankar pokhrel

मुख्यमन्त्रीको रुपमा शंकर
मुलुक पहिलोपटक संघीयतामा जादैं थियो । यसको कार्यान्वयनको अनेक प्रश्न थियो । पार्टीका उच्च तहका नेता प्रदेश झर्नेमा नेकपा (एमाले)बाट शंकर पोखरेल र पृथ्वीसुब्बा गुरुङ थिए । प्रदेश कार्यान्वयनको सन्र्दभमा उनीहरु प्रदेशमा झर्नु सुखद रह्यो ।

शंकरले प्रदेश सरकार सञ्चालनका लागि पहिचान भएका १ सय १६ कानुन मध्ये ६० वटा कानुन विधेयक प्रदेशसभाबाट पारित गराए । समृद्ध प्रदेशको लक्ष्यलाई साकार पार्न पाँच वर्षे आवधिक योजना तयार बनाए । आवधिक योजनाको आधारमा सरकारको नीति, बजेट र कार्यक्रम बनाए । बजेट विनियोजन मागका आधारमा होइन्,योजनाका आधारमा हुनुपर्छ, त्यसो गर्न सक्दा विकासको प्रतिफल नागरिकले पाउन सक्छन् भन्ने मान्यतालाई व्यवहारमा स्थापित गराए ।

प्रदेशको गौरवको आयोजनाको रुपमा पाल्पाको रामपुर देखि रोल्पा हुँदै सल्यानको कपुरकोटस रणनीतिक सडक निर्माण सुरु गराए । पत्रकार शेरबहादुर केसी २ सय ९० किमि रामपुर–कपुरकोट सडकले प्रदेशका पहाडी जिल्लाको यातायात सञ्जाललाई भरपर्दो बनाउने बताउँछन् । भन्छन्, ‘यो सडकको निर्माणले पाल्पा, अर्घाखाँची,प्युठान,रोल्पा जिल्लाको सञ्चाल आसपासको क्षेत्रका कृषि उत्पादनलाई बजारसम्मको सहज पहुँच स्थापित गर्नेछ, जसले कृषिको व्यवसायिकरणमा बल पुग्ने छ ।’

पूँजीगत खर्च ९९ प्रतिशत पुग्यो । पत्रकार केसी शंकर मुख्यमन्त्री भएको बेला विनियोजित बजेट खर्चमा लुम्बिनी प्रदेश अब्बल भएको बताउँछन् । उनका अनुसार आर्थिक वर्ष २०७५। ०७६ मा ६० प्रतिशत बजेट खर्च गर्न सफल भएको प्रदेश सरकार २०७६।०७७ मा ७० प्रतिशत बजेट खर्च गर्न सफल भयो । खर्च भएको बजेट मध्ये पूँजीगत ७९ दशमलव २९ र चालुतर्फ ६० दशमलव ५४ प्रतिशत खर्च भएको थियो । त्यसैगरी २०७७।०७८ मा ३६ अर्ब ३५ करोड २५ लाख रुपैंया विनियोजन भएको थियो । विनियोजित बजेटमा ९९ प्रतिशत पूँजीगत खर्च गरी सात प्रदेशमध्ये लुम्बिनी प्रदेश अब्बल भयो ।


दाङलाई अवसर

shankar pokhrel


गएको ५ वर्ष शंकर संघ छोडेर प्रदेश झर्दा सबैभन्दा बढी फाइदा दाङले उठायो । प्रदेशको नेतृत्व गरे । केन्द्रमा पनि उनले हस्तेक्षपकारी भूमिका निभए । कहिले लुम्बीनिबाटै हस्तक्षेपकारी भूमिका निभए । कहिले काठमाडौँमा सक्रिय भए । संघीय सरकारका महत्त्वपूर्ण निर्णयमा उनी हावी भए । उनै शंकर ४ मंसिर २०७९ मा हुने निर्वाचनको लागि दाङ क्षेत्र नं.२ बाट उम्मेदवार बनेका छन् ।

शंकर र माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराविच भिडन्त हुने अनुमान थियो । धेरैले यी दुई नेताविच भिडन्त नहोस् भन्ने सुभेच्छा राखेका थिए । यी दुई नेताप्रति सम्मान राख्नेहरुको सुभेच्छा पुरा भएको छ । शंकर उम्मेदवार बन्दा धेरैले यसलाई दाङको अवसर भनेका छन् । शंकरको उम्मेदवारीलाई दङालीहरुले अवसरको रुपमा लिनुपर्छ भन्नेहरुको चाहना पुरा होला वा नहोला ? त्यो त ४ मंसिरमा फैसला हुनेछ ।

लेखक चिनारी

राजेश राई
राई नयाँ पेजका प्रधान सम्पादक हुन् । लेखकका अरु सामाग्री
प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७