नाबालिग बलात्कार मुद्दामा सन्दीप लामिछानेलाई कारागार चलानको आदेश


१८ कार्तिक २०७९, शुक्रबार
Sandeep lamichhane 2 2

काठमाडौं । नाबालिग बलात्कारको अभियोग लागेका राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ । वादी र प्रतिवादीका तर्फबाट भएको थुनछेक बहसपछि शुक्रबार न्यायाधीश माधवप्रसाद घिमिरेले आरोपित लामिछानेलाई मुद्दाको किनारा नलागेसम्म पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएका हुन् ।

लामिछानेलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न अदालतले आदेश दिएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिएका छन् । ‘मुद्दाको किनारा नलागेसम्म आरोपितलाई थुनामा राख्न आदेश भएको छ,’ सूचना अधिकारी दाहालले भने ।

लामिछानेको पक्षबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, कृष्ण सापकोटा, सविता भण्डारी, लभ मैनालीलगायतले बहस गरेका थिए । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार लामिछानेविरुद्ध १० देखि १२ वर्ष सम्म कैद र पीडितलाई अभियुक्तबाटै यथोचित क्षतिपूर्ति भराउन मागदाबी गर्दै काठमाडौं अदालतमा मुद्दा दायर गरेको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा ३ (घ) अनुसार नाबालिगमाथि बलात्कार गरेको कसुरमा सजाय मागदाबी गरेको थियो । अनुसन्धानका क्रममा संकलित तथ्य र प्रमाणले लामिछानेबाट नाबालिग बलात्कृत भएको आरोपपत्रमा उल्लेख छ ।

मुलुकी अपराध संहिताको दफा २१९ मा ‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिने’ उल्लेख छ ।

सोही दफाको उपदफा ३ मा जबरजस्ती करणी गर्ने व्यक्तिलाई करणी गर्दाको परिस्थिति र महिलाको उमेर हेरी कैद सजाय हुने व्यवस्था छ । उपदफा ३ को (घ) मा ‘१६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरे १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुने उल्लेख छ । अदालतमा पेस गरिएको अभियोगपत्रमा घटना हुँदाका बखत पीडितको नागरिकता प्रमाणपत्रअनुसार उमेर १७ वर्ष २ महिना उल्लेख छ ।

मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा ३ (घ) अनुसार लामिछानेलाई कैद र पीडितलाई क्षतिपूर्ति भराउनुपर्ने सुझावसहित काठमाडौं प्रहरी वृत्त गौशालाले गत कात्तिक ६ मा सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन पेस गरेको थियो ।

लामिछानेले गत भदौ ५ को राति तिलगंगाको एक होटलमा लगेर जबर्जस्ती करणी गरेको भन्दै नाबालिगका तर्फबाट भदौ २१ मा प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो । त्यसको भोलिपल्ट २२ गते प्रहरीले लामिछाने विरुद्ध जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरेको थियो ।

जाहेरी पर्दा लामिछाने केन्यासँगको ट्वान्टी–२० क्रिकेट शृंखला सकेर क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेस्ट इन्डिज पुगेका थिए । त्यहीबाट अमेरिका गएका लामिछाने असोज २० मा नेपाल आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७