क्रान्तिका ‘कमाण्डर’ योगेश : समृद्धि अभियानको ‘च्याम्पियन’ बन्ने दौडमा


१९ कार्तिक २०७९, शनिबार
Yogesh Bhattarai scaled

नेकपा (एमाले) का नेताहरु भन्ने गर्थे, ‘आन्दोलन नउठे योगेशलाई कमाण्डर बनाएर जिम्मा दिनु ।’ फर्केर हेर्दा सजिलोमा होइन अप्ठ्यारो आरोहहरुमा योगेशलाई आन्दोलनको जिम्मा आइलाग्ने गरेको देखिन्छ । र, जिम्मेवारीहरुलाई सफलतापूर्वक निर्वाह गरेकै कारण सडक आन्दोलनको ‘कमाण्डर’ को रुपमा बिम्ब बनेको छ, एमाले सचिव योगेश भट्टराईको ।

२०४६ सालमा अखिलको केन्द्रीय सदस्य । आन्दोलनमा कृर्तिपुरबाट अखिलको कमाण्डर । अखिलको अध्यक्ष भएपछि राष्ट्रियताको आन्दोलनका कमाण्डर । उनकै नेतृत्वमा राष्ट्रियताको आन्दोलन सीमा वरिपरिबाट काठमाडौंको केन्द्र भागसम्म आइपुग्यो । २०५५ जेठमा काठमाडौंदेखि दार्चुलाको कालापानीसम्म भएको ऐतिहासिक काठमाडौं–कालापानी मार्चको नेतृत्व । पूर्व पाँचथरको च्याङथापुदेखि सुस्ता, महेशपुर, टनकपुर हुँदै कालापानीसम्मको सीमा सुरक्षा अभियानको अगुवाइ योगेशकै नेतृत्वमा भयो ।

नेपालका ६२ स्थानमा भारतले सीमा अतिक्रमण गरेको प्रमाण सार्वजनिक गरियो । योगेशले २०४५ सालमा भारतले नेपालमाथि गरेको नाकाबन्दीविरुद्ध विद्यार्थी नेताका रूपमा आन्दोलनको अगुवाइ गरे । राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि उतिधेरै आन्दोलन उठिरहेको थिएन । त्यही बेला उनलाई काठमाडौं उपत्यका कमिटीको सचिवका रूपमा आन्दोलनको संयोजन र परिचालनका लागि कमाण्डरको जिम्मेवारी दिइयो ।

२०६२/६३ मा सम्पन्न ऐतिहासिक जनक्रान्तिमा उपत्यकामा आन्दोलनको उभार ल्याउनमा उनको नेतृत्वदायी भूमिका थियो । पञ्चायी व्यवस्थाविरुद्धको आन्दोलन र राजतन्त्रविरुद्धको आन्दोलनका कमाण्डर योगेश ५० को दशकदेखि शुरु भएको राष्ट्रियता र स्वाधिनताको आन्दोलनका कमाण्डर हुन् ।

गएको ५ वर्ष मुलतः संबिधान कार्यान्वयनका लागि कानुनहरुको निर्माण वर्ष थियो । संबिधान कार्यान्वयन भएको छ । साँचो अर्थमा समृद्धिको बर्ष अब शुरु भएको छ । निर्वाचन हुँदै गर्दाको मुख्य प्रश्न हो, ‘व्यवस्था परिवर्तनका आन्दोलनहरुको अगुवाई गरेका नेताहरुले अवस्था परिवर्तनको नेतृत्व गर्न सक्लान् ?’ योगेशमाथिको प्रश्न पनि यही हो ।

Yogesh Bhattarai 1
२०६२/६३ को जनक्रान्तिमा

ताप्लेजुङको विकासमा योगेश
योगेश गत निर्वाचनमा आफ्नो गृह जिल्ला ताप्लेजुङ फर्किए । ताप्लेजुङवासीको विश्वास पाए । २१ मंसिर २०७४ मा सम्पन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । संविधान जारी भएपछिको पहिलो निर्वाचन थियो । संविधान कार्यान्वयनका लागि कानुनहरुको निर्माण यो संसदहरुको पहिलो जिम्मेवारी थियो । कानुनहरुको निर्माणमा उनले हस्तक्षेपकारी उपस्थिति देखाए । एमालेको नेतृत्वमा संविधानको सफल कार्यान्वयन भयो । प्रदेश र स्थानीय सरकारहरू गतिशील बने ।

सांसदहरुको मुख्य जिम्मेवारी नीति निर्माण र कानुनहरुको निर्माण हो । तर जनताको अपेक्षा विकाससँग जोडिएका हुन्छन् । योगेशसँगै प्रदेशसभामा बलबहादुर साम्सोहाङ र टंक आङबुहाङ निर्वाचित भएका थिए । उनीहरुले जिल्लाको योजनाबद्ध र रणनीतिक विकासको अभियान शुरु गरे । योजनाबद्ध रुपमा जिल्लाको विकासको लहर नै शुरु भएको जिल्लावासीहरु बताउँछन् ।

शुरुमा जिल्लाको पूर्वाधार विकासमा जोड दिए । योगेश भन्छन्, ‘जिल्लाको विकास भनेको मुलतः पूर्वाधारको विकास नै हो । हाम्रो प्राथमिकता सोही अनुरुप रह्यो ।’ ओलाङ्चुङगोला हुँदै तिब्बतसँग जोड्ने तमोर करिडोर, सदरमुकामदेखि उत्तरी क्षेत्र जोड्ने सुकेटार–गढी–थिवा सडक, ताप्लेजुङको पूर्वी क्षेत्रलाई समेट्ने काबेली करिडोर, मदन भण्डारी मार्ग, इवा–निगुरादिन–हाङ्पाङ–ढुंगेसाँघु सडक, सुकेटार–काफ्लेपाटी सडक, बाहनन्दे–दोभान सडकलाई प्राथमिकतामा राखे । त्यसो त आम माननीयहरुलाई भन्दा जिल्लाको विकासको लागि योगेशलाई सजिलो छ । किनभने उनले बनाएको उचाईले विकासे कार्यालयहरुले उनको आवज बढी सुन्छ । त्यसको फाइदा ताप्लेजुङले उठायो ।

योगेश अप्ठ्यारो समयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भए । यसको फाइदा ताप्लेजुङले उठायो । जिल्लाका पर्यटकीय क्षेत्र तिम्बुङपोखरीद, फुङफुङदेन झरना, मिल्के जलजले, पाथीभरालाई देशको सय गन्तव्य सूचीमा सूचीकृत गरी पूर्वाधार निर्माणका लागि करोडाैं रकम विनियोजन गराए ।

Yogesh Bhattarai CPNUML

ओलाङचुङगोलामा रहेको नेपालको पुरानो डिकीछोलिङ गुम्बालगायत जिल्लाका २९ वटा गुम्बालाई रकम विनियोजन गराए । ताप्लेजुङ सुकेटार विमानस्थलको विस्तार, स्थानीय पूर्वाधार विकास कार्यक्रमअन्तर्गत खेल मैदान, सडक, विद्यालय, स्वास्थ्य, शिक्षा पाथीभरा क्षेत्रमा बृहत् खानेपानी आयोजनामा उल्लेख्य बजेट विनियोजन गराए ।

ताप्लेजुङ जिल्लामा बृहत्तर स्वास्थ्य शिविर सञ्चालन गरी ६० बढी मुटुरोगी बिरामीलाई काठमाडांैमा लगेर ५ करोडभन्दा बढीको निःशुल्क शल्यक्रिया गराए । विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संघ–संस्थासँग समन्वय गरी ताप्लेजुङका ६ दर्जन बढी विद्यालय भवन निर्माण गराए ।

भौतिक पूर्वाधारको हिसाबले पाथीभारा/मुकुलुङले मुहार नै बदल्यो । ८ करोड २२ लाखको खानेपानी योजनाबाट पाथीभरा/मुकुलुङको खानेपानी समस्या समाधान भयो । ऐतिहासक महत्व बोकेका धार्मिक स्थलहरू, लिम्बू संग्राहलय, मांगेनायाकहरू, माङ्हिमलगायतको संरक्षण तथा विकासमा बजेटको व्यवस्था गरे । ऐतिहासिक तथा पुरातात्विक दिकीछ्योलिङ गुम्बादेखि अन्य गुम्बाहरूका साथै सबै जाति तथा समुदायका ऐतिहासिक तथा पुरातात्विक सम्पदाको संरक्षणको लागि बजेट लगे ।

Yogesh Bhattarai 2 1

ताप्लेजुङमा योगेश
०४६ सालयता ताप्लेजुङले धेरै वर्षहरु बितायो । तर गएको ५ वर्षमा विकास एउटा लहर नै शुरु भयो । यतिभन्दा धेरैलाई लाग्नसक्छ, ‘खै उस्तै छ त ?’ ‘भित्तामा रङ्ग लगाए जस्तो योजनाबद्ध विकासको असर तुरुन्तै देखिंदैन,’ ताप्लेजुङका अगुवा रमेश बराल भन्छन्, ‘ताप्लेजुङ बदलिने गरी कामहरु शुरु भएको छ । अब यसको निरन्तरता जरुरी छ ।’

योगेश पछिल्लो पुस्ताका प्रतिस्पर्धी नाम हो । धेरैले उनलाई भबिष्यमा पार्टी र देशको नेतृत्व गर्ने युवाको रुपमा हेरेका छन् । लेखक तथा नेता झलक सुवेदी भविष्यमा नेपालको प्रधानमन्त्री बन्ने सम्भावना भएका युवापुस्ताका नेताहरू छनोट गर्नु पर्यो भने औंलामा गन्न सकिने र तिनीहरूमध्ये एउटा नाम योगेश भट्टराई भएको बताउँछन् । सुवेदी भन्छन्, ‘एमालेभित्र भविष्यमा पार्टी अध्यक्ष र नेताका रूपमा हेरिने थोरै नाममध्ये अग्रभागमा पर्ने नाम पनि हो योगेश भट्टराई । यसरी हेर्दा अहिलेसम्मका आफ्ना कर्महरू र भूमिकाका कारण स्थापित भएका थोरै सम्भावनायुक्त नेताहरूमा पर्छन् योगेश ।’

तर यसको लागि हाम्रो संसदीय राजनीतिमा आफ्नो निर्वाचन क्षेत्रमा बलियो हुनुपर्छ । राम्रो गर्नुपर्छ । जितेर जानुपर्छ । उनी परिवर्तनका आन्दोलनहरुमा ‘च्याम्पियन’ भए । परिचय बनाए । तर अब विगतले मात्रै काम गर्दैन । । केवल इतिहासले मात्रै अब नेता बन्दैन । बाँच्दैन । यसमा सचेत छन्, योगेश । ताप्लेजुङमा उदाहरणीय विकास र समृद्धिको अभियान शुरु गरेर देशभरी आशाको सञ्चार गराउने सपना छ उनको । उनी भन्छन्, ‘भोलिका सम्भावित सम्भावनाहरुको लागि पनि मैले ताप्लेजुङलाई उदाहरणीय बनाउनु पर्नेछ । योगेशले ताप्लेजुङ बदल्यो । अब देश बदल्छ भन्ने सन्देश दिनका लागि पनि मैले अबका ५ वर्ष असाध्यै समपर्णको साथ काम गर्नुछ ।’

‘कुनै दिन पार्टी र देशको नेतृत्व गर्न सक्छु’ भन्ने योगेशको हुटहुटीले पनि ताप्लेजुङको समृद्धिमा ठूलो सहयोग हुने ताप्लेजुङका नेता सन्तोष मादेनको भनाई छ । भन्छन्, ‘भोलि देश र पार्टीको नेतृत्वको लागि उहाँले ताप्लेजुङबाटै आधारभूमि तयार पार्नुपर्छ । त्यस कारण पनि उहाँ जिल्लाको विकासमा असाधारण रुपमा सक्रिय हुने निश्चित छ । यसबाट पनि हामी जिल्लावासीले फाइदा लिन सक्छौं ।’

Yogesh Bhattarai


सदनमा योगेश
निकै लामो आन्दोलन र पार्टी जीवनपछि २०७९ मा मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनबाट योगेश संसदीय मोर्चाको जिम्मेवारीमा पुगे । जनताको पक्षमा राम्रा कानुन बनाउन र खराब कानुनहरु रोक्ने कामको अगुवाई गरे । जनतासँग जोडिएका सरोकारका बिषयहरुलाई उनले संसदमा दृढतापूर्वक राखे ।

ताप्लेजुङ र ताप्लेजुङका जनतासँग जोडिएका समस्या र सवालहरुको बिषयमा उनले संसदमा सुनिने गरी आवाज उठाए । संसदीय समितिमा शुसासन र समृद्धिसँग जोडिएका अनेकन बिषयहरुमा उनले दृढतापूर्वक बिषय उठाए । कार्यान्वयन गराए । संसदको शिक्षा तथा स्वास्थ्य समितिमा रहेर जनताको शिक्षा र स्वास्थ्यसँग जोडिएका दर्जनौं बिषयमा कुरा मात्रै उठाएनन् त्यसको नेतृत्व गरेर कार्यान्वयन समेत गराए ।

संसदीय सुनुवाई समितिको सदस्यको रुपमा पनि उनले उसैगरी प्रभावकारी भूमिका निभाए । संवैधानिक अंगका पदाधिकारी, न्यायिक क्षेत्र र राजदूतहरुको नियुक्तिका सन्दर्भमा संसदीय सुनुवाई समितिको भूमिका निर्णायक हुन्छ । तर, संसदीय सुनुवाई कर्मकाण्डी मात्रै हुने गरेको भन्दै यो समितिको औचित्यमाथि प्रश्न उठाइँदै आएको थियो ।

आचरण, इमान्दारिता, कार्यक्षमता र शैक्षिक प्रमाणपत्रबारे प्रश्न उठेको दीपकराज जोशीलाई प्रधानन्यायाधीश बनाउन संसदीय सुनुवाई विशेष समितिले अस्वीकृत गरेको थियो । संसदीय सुनुवाईको इतिहासमा समितिबाट अस्वीकृत हुने जोशी पहिलो व्यक्ति बनेका हुन् । यो सुनुवाईको सबै नेतृत्व योगेशले नै गरेका थिए । सडक आन्दोलनमा च्याम्पियन योगेशले पछिल्लो ५ वर्षमा बनाएको नयाँ परिचय र बिम्ब हो, ‘संसदीय मोर्चामा पनि च्याम्पियन ।’


सरकारमा योगेश
योगेशले १५ साउन २०७६ देखि ५ पुस २०७७ सम्म संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको जिम्मेवारी सम्हाले । योगेश अप्ठ्यारो र असजिलो अवस्थामा मन्त्री बनेका थिए । आफ्नै प्रिय साथी तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको २०७५ फागुन १५ गते हेलिकप्टर दुर्घटनामा निधन भएपछि लामो समय खाली भएका मन्त्रालय उनी सम्हाल्न पुगेका थिए ।

योगेशले मन्त्री भए लगत्तै ‘भिजिट नेपाल–२०२०’ को अभियानलाई तीव्रता दिए । शानदार आरम्भ गराए । नेपालको अर्थतन्त्रमा नै बदलाब ल्याउने गरी उनी पर्यटनको बिकासको श्रृखलाबद्ध योजना बनाएर अघि बढ्दै थिए । बिडम्बना यही बीचमा विश्वव्यापी कोरोना भाइरस ( कोभिड–१९) को महामारी शुरु भयो । ११ चैत २०७६ देखि मुलुक ‘लकडाउन’ मा गयो ।

संकटको समय पनि केही आशलाग्दा कार्य भने शुरुवात गरे । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई समयमै सम्पन्न गर्न निर्णायक पहलकदमी लिए । आन्तरिक विमानस्थलमा रात्रिकालीन उडान सुचारु गराए ।

Yogesh Bhattarai 2


प्रश्नहरुमा योगेश
४ मंसिर २०७९ मा निर्वाचन हुँदैछ । योगेश पनि यसबेला आफ्नो एजेण्डा लिएर घरदैलोमा छन् । चुनावको बेला उम्मेदवारहरुको समर्थन र बिरोध दुबै हुने नै भयो । उनका विरोधीहरुले समेत जिल्ला विकासको लागि योगेशले केही गरेनन् भन्न सकेका छैनन् ।

तर केही धार्मिक, सांस्कृति र ऐतिहासिक स्थलको नामको सन्र्दभमा योगेशको बिरोध गरेका छन् । पहिलो, ‘पाथीभरा कि मुकुलुङ ?’ यो चाँहि केवल बिरोधका लागि विरोध मात्रै भएको पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष राजेन्द्र श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘पाथीभरा वा मुकुलुङ जुन नाम भए पनि अहिलेका पुस्ता कसैले राखेका होइनन् । यो इतिहासको कुरा हो । नामको सन्दर्भमा स्थानीयले भन्ने हो । हामीले हेर्ने भनेको यसको विकासमा जनप्रतिनिधिको हिसाबले योगेश भट्टराईले गर्नु भयो वा भएन त्यो हेर्ने हो ।’

यो बिषयमा योगेशले पनि प्रष्ट पारिसकेका छन् । विज्ञप्तिमार्फत भनेका छन्, ‘कुनै पनि साँस्कृतिक स्थलहरु आफ्नै ऐतिहासिकता र विशिष्टतााबाट परिचित हुन्छन् । ताप्लेजुङमा अवस्थित पाथीभरालाई कसैले पाथीभराका रुपमा त कसैले मुकुलुङका रुपमा सम्मान गर्दछन् । लामो खोज, अनुसन्धान तथा तथ्यहरुको विश्लेषणबाट त्यसको टुङ्गो लगाउन उपयुक्त हुनेछ । पाथीभरा वा मुकुम्लुङ जुन रुपमा भए पनि त्यसको ऐतिहासिकता, साँस्कृतिक महत्व र गरिमामा आँच आउन नदिनु समस्त ताप्लेजुङबासीहरुको साझा कर्तब्य हो । साँस्कृतिक पर्यटनमार्फत ताप्लेजुङको समृद्धिमा हाम्रा धार्मिक तथा साँस्कृतिक स्थलहरुको संरक्षण तथा सम्बद्र्धन गरिनु पर्दछ भन्नेमा म दृढ छु ।’

योगेशमाथि बिरोधीहरुले लगाएको दोस्रो आरोप हो, ‘तिम्बुङ पोखरीलाई बिष्णु पोखरी भनियो ।’ स्थानीय जनप्रतिनिधिहरुका अनुसार योगेशमाथि लगाइएको निराधार अरोप हो । त्यसमा योगेशको एउटै भुमिका छ, उनले त्यसको संरक्षण र विकासको लाजि बजेटको व्यवस्था ।

यसमा योेगेशले भनेका छन्, ‘तिम्बुङ पोखरीको इतिहास कसैले पनि नष्ट गर्न सक्दैन । पर्यटन विकासका लागि सय गन्तब्यमा तिम्बुङ पोखरीलाई स्थापित गर्दै, पैदलमार्ग र होमस्टे निर्माणमा मैले बजेटको व्यवस्था गरेको छु । ती काम सम्पन्न भएका छन् । आज तिम्बुङ पोखरीको यात्रा विगत भन्दा सहज भएको छ । तिम्बुङ पोखरी तिम्बूङ पोखरी नै हो त्यसको नाम बदलिएको छैन र कसैले चाहेर पनि बदल्न सक्ने छैन ।’

सामाजिक सञ्जालमा लगाइएको अर्को आरोप हो, ‘सुकेटार विमानस्थलको नाम परिर्वतन ।’ आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमा ताप्लेजुङस्थित सुकेटार विमानस्थललाई ‘रवीन्द्र अधिकारी विमानस्थल’ नामकरण गरिए लगत्तै २०७८ जेठ १५ गते नै सामाजिक सञ्जाल फेसबुकमार्फत उनले असहमति जनाएका थिए ।

लेखेका थिए, ‘ऐतिहासिक रुपमा कुनै नाम वा बिशेषताबाट चिनिएका स्थानहरुको परिचय बदल्नु अघि त्यसको आवश्यकता, औचित्यता, सान्दर्भिकता र परिणामका बारेमा स्थानीय सरोकारवाला समूह, जनप्रतिनिधिसहित नागरिकस्तरमा व्यापक छलफल र बिर्मश गरी सहमति निर्माण गर्नु पर्दछ । यसरी मात्र सहभागितामुलक लोकतन्त्र बलियो हुनसक्छ । असल काम पनि असल नियत र सही प्रक्रियाबाट गरियो भने मात्र सही परिणाममा पुग्न सकिन्छ । अन्यथा विवाद, बिभाजन र अनावश्यक तनाब मात्र झेल्नु पर्दछ ।’ योगेशले भनेका छन्, ‘सुकेटार विमानस्थल, सुकेटार विमानस्थलकै रुपमा सदा रहनेछ ।’


बन्लान् त ‘च्याम्पियन’ ?

Yogesh Bhattarai


२०४७ यताका परिवर्तनका आन्दोलनहरुमा उनको भूमिका आधारमा भन्न सकिन्छ, ‘क्रान्तिका ‘कमाण्डर’ योगेश ।’ गएको ५ वर्षमा ताप्लेजुङको जनप्रतिनिधिको रुपमा उनको उपस्थीतिबाट ताप्लेजुङका जनता तुलनात्मक रुपमा उत्साही नै देखिन्छन् । क्रान्तिका ‘कमाण्डर’ योगेश समृद्धि अभियानमा ‘च्याम्पियन’ बन्ने हुटहुटी सहित चुनावी मैदानमा छन् । क्रान्तिका सफल कमाण्डरलाई ताप्लेजुङका जनताले समृद्धिको नेतृत्व गर्ने अवसर दिए ४ मंसिर २०७९ पछि उनकाे खास परिक्षा अब सुरु हुनेछ ।

त्यसो त योगेशलाई नेकपा (एमाले)का मात्रै उम्मेदवार नभएर ताप्लेजुङको विकास र समृद्धिको पक्षधर सबै दलका साझा उम्मेदवारको रुपमा जनताहरुले लिएको दाबी गर्छन्, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष राजेन्द्र श्रेष्ठ । भन्छन्, ‘जिल्लाको विकासको लागि उहाँलाई सबैले साझा उम्मेदवारको रुपमा लिएको पाएको छु । उहाँको उचाईको अरु नेता नै छैन । जिल्लाको साझा अभिभावकको रुपमा मतदाताले लिन्छन् जस्तो लाग्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७