भ्रष्टाचार नियन्त्रण गर्न अधिकार सम्पन्न जनलोकपाल गठन गर्ने जसपाको प्रस्ताव

‘एक परिवार एक रोजगार’, अन्यलाई बेरोजगार भत्ता


१९ कार्तिक २०७९, शनिबार
Upendra Yadav scaled

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले भ्रष्टाचार र आर्थिक अनियमितालाई नियन्त्रण गर्न अधिकार सम्पन्न जनलोकपाल गठन गर्ने प्रस्ताव गरेकोे छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीका तर्फबाट प्रतिबद्धता पत्र सार्वजनिक गर्दै जसपाले संसद् मातहत रहने गरी शक्तिशाली जनलोकपाल गठन गर्ने प्रस्ताव गरेको हो ।

जसपाले सबै तहका भ्रष्टाचार अन्त्यका लागि जनताको भावनानुसार जनसहभागितामा आधारित कार्यक्रम सञ्चालन गर्ने, सरकारको लगानीमा सञ्चालित विकासे योजना र कामको अनुगमन तथा मूल्याङ्कनको व्यवस्था गर्ने, पारदर्शी शासन पद्धतिलाई अवलम्बन गर्दै सबै सरकारी कारोबारसँग सम्बन्धित सूचना इन्टरनेटको माध्यमबाट पाउने व्यवस्था गर्ने जनाएको छ ।

भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लिइने जसपाले जनाएको छ । गैरकानुनी तरिकाबाट आर्जित सम्पत्ति जफत गर्ने र सो सम्पत्ति भूमिहीन तथा आवासहीन र श्रमजीवी नागरिकहरुका लागि भूमि र आवासको व्यवस्थामा खर्च गरिने जसपाले जनाएको छ ।
‘एक परिवार एक रोजगार’, अन्यलाई बेरोजगार भत्ता
जनता समाजवादी पार्टी नेपालले प्रत्येक घर परिवारलाई आर्थिक रुपमा सम्पन्न बनाउन ‘एक परिवार, एक रोजगार’को नीति अवलम्बन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ का लागि आज प्रतिबद्धतापत्र सार्वजनिक गर्दै जसपाले मुलुकमा प्रशस्त रोजगारीका अवसर सिर्जना हुने गरी आर्थिक नीति तय गर्ने जनाएको हो ।

श्रम संस्कृतिलाई प्रोत्साहित गर्ने, वैदेशिक रोजगारमा जानुअघि श्रमिकलाई आवश्यक सीपमूलक तालिम प्रदान गर्ने व्यवस्था गरिने जसपाको प्रतिबद्धता पत्रमा उल्लेख छ । देशभित्रै रोजगारी सिर्जना गर्नका लागि सहरी क्षेत्रमा रोजगार बैंकको स्थापना र शिक्षित बेरोजगारलाई शैक्षिक प्रमाणपत्र धितो राखी स्वरोजगार व्यवसाय गर्न प्रोत्साहित गर्ने जसपाले जनाएको छ ।

जसपाले बेरोजगार नागरिकलाई भत्ताको व्यवस्था गर्ने, सीमान्तकृत तथा लोपोन्मुख समुदायलाई रोजगारीको विशेष व्यवस्था गर्ने, वैदेशिक रोजगारीमा जाने श्रमिकमाथि हुने अनियमितता र शोषणलाई अन्त्य गर्न सम्बन्धित मुलुकको दूतावासमा विशेष कक्षको व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गरेको छ ।
एपमार्फत बजार विस्तार
जसपाले स्थानीयस्तरमा उत्पादित वस्तुको बजारीकरण मोबाइल एपमार्फत गर्ने प्रतिबद्धता व्यक्ति गरेको छ । नेपालका आदिवासी जनजातिका सीप, कला र ज्ञानको प्रयोग गरी उत्पादित वस्तुको अन्तर्राष्ट्रियस्तरमा ‘ब्रान्डिङ’ गर्न ‘मेक इन नेपाल बाई इन्डिजिनियस ह्यान्डस्’ नारा तय गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७