राजेन्द्र लिङदेनको आरोप : सुकुम्वासी र नागरिकता समस्यालाई भोट औजारका रूपमा प्रयोग गरियो


१९ कार्तिक २०७९, शनिबार
Rajendra Lingden

नवलपरासी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशका ठूला दलले सुकुम्वासी र नागरिकता समस्यालाई सधैं भोट माग्ने औजारका रूपमा प्रयोग गरेको आरोप लगाएका छन् ।

नवलपरासी निर्वाचन क्षेत्र नं २ को चुनावी सभालाई शनिबार सुनवलमा सम्बोधन गर्न पुगेका अध्यक्ष लिङ्देनले राज्य सत्तामा बस्दा समस्या समाधानमा नलाग्ने तर चुनावको बेला सुकुम्वासी र नागरिकता समस्या देखाई जनतालाई झुक्काएर भोट माग्ने गरेको आरोप लगाए । ‘हजुरबुवाले जोतभोग गरेको जग्गा नातीको पालासम्म आइपुग्दा पनि धनीपुर्जा पाउन सकेका छैनन् । बाबुले नागरिकता पाएका छन् । छोराले पाउन सकेको छैन । यो पनि न्याय हुन्छ ? सधैं झुक्काउने राजनीतिक दलका नेतालाई चिनेर मात्र भोट दिनुस् ।’

ठूला दलकै कारण मुलुकको राष्ट्रियता र अर्थतन्त्र बर्बाद भएको बताउँदै अध्यक्ष लिङ्देनले बर्बादीको बाटो रोक्ने उपाय मतदान भएकाले एक पटक ‘हात र भोट’ परिवर्तन गर्न मतदातालाई आग्रह गरे । कांग्रेस र माओवादी कसैले पनि एक्ला एक्लै बहुमत ल्याउने गरी उम्मेदवारी नै नदिएको बताउँदै लिङ्देनले गठबन्धनबाट बहुमतको सरकार बने फेरि जनताले दुःख पाउने बताए ।
मंसिर ४ को चुनाव देशको भविष्य मात्र नभई आउने सन्ततिको भविष्य निर्माणसँग पनि जोडिएकाले गम्भीर रूपमा सोचेर मतदान गर्न लिङ्देनले मतदातासँग आग्रह गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७