पृथ्वीसुब्बाको गहिरो ‘गण्डकी प्रेम’


२० कार्तिक २०७९, आईतवार
Prithvi Subba Gurung scaled

नेकपा (एमाले)का उपमहासचिव तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ लमजुङबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार छन्। उनले आफ्नो चुनावी अपिलमा भनेका छन्, ‘२०३५ तिर बालबालिकाको भविष्य उज्यालो बनाउने शिक्षकहरूको आफ्नै जीवनचाहिँ अन्धकारमय थियो । तिनै शिक्षकहरूको हकहितमा आवाज उठाउँदा त्यसलाई अपराध मानेर पञ्चायती तानाशाहले मलाई जेलभित्र कोचिदिए । पञ्चायतभित्र छिरेर त्यसलाई ध्वस्त पार्ने रणनीतिअनुरूप जेलभित्रबाटै २०४३ मा राष्ट्रिय पञ्चायत सदस्य पदको निर्वाचनमा उम्मेदवार भएँ। जालझेलले मैले त्यो चुनाव हारें पनि त्यतिबेला तपाईंले मलाई अमूल्य मत दिनुभएको थियो । त्यसैको प्रेरणास्वरुप त्यसपछि मेरो राजनीतिक यात्रा सुरु भयो । जितहार भए होलान् तर म सधैँ तपाईंहरूको साथमा छु ।’

गुरुङको यो अपिल पढ्दै गर्दा लमजुङप्रतिको उनको समर्पण मात्रै थाहा लाग्दैन, उनका प्रमुख प्रतिस्पर्धी देव गुरुङका बारेमा सम्झाएजस्तो पनि लाग्छ । उनका प्रतिस्पर्धा नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङ छन् । देव गुरुङ संसदीय निर्वाचनमा तेस्रो पटक मैदानमा छन् । पहिलो संविधानसभा निर्वाचनमा कास्की–१ र मनाङबाट उम्मेदवार बने । पछि मनाङ रोजे । मोहन वैद्य नेतृत्वको गुरुङको समूहले माओवादीबाट विद्रोह गरेर अलग पार्टी बनाए । दोस्रो संविधानसभा वहिष्कार गरे । वैद्यसँग बिदा भएर गुरुङ माओवादीमै फर्किए । २०७४ को निर्वाचनमा वाम गठबन्धन भयो । देव गुरुङ पृथ्वीसुब्बाकै रुचिमा लमजुङबाट प्रतिनिधिसभाको उम्मेदवार भए ।

पृथ्वीसुब्बा भने २०४३ यता लमजुङबाट निरन्तर चुनाव लडेका छन् । यसपालि सातौं पटक चुनाव लड्न लागेका हुन् । सात पटकमा ५ पटक उनले पराजय बेहोरेका छन् । तर लमजुङ छाडेर कहिल्यै भागेनन् । लमजुङेहरू भन्छन्, ‘पृथ्वीसुब्बाले लमजुङका हरेक उकाली–ओरालीहरू छिचोलेका छन् । यहाँका ढुंगामाटो छामेका छन् । लमजुङसँग देव गुरुङको साइनो र सम्बन्ध मूलतः चुनावी देखिन्छ । पृथ्वीसुब्बाको भने माटोसँगको भावनात्मक साइनो छ ।’

अपिलमा भनेजस्तै गण्डकी र लमजुङप्रतिको पनि पनि असाध्यै गहिरो छ, पुथ्वीसुब्बाको । उनी यतिधेरै काठमाडौंमा टिक्दैंनन् । महत्वपूर्ण पार्टी काम बाहे उतै बस्छन् । उनी अहिले प्रचार विभागको प्रमुख छन् । प्रचार विभागका उपप्रमुख तथा केन्द्रीय कमिटी सदस्य विष्णु रिजालले कहिलेकाही भन्छन्, ‘हाम्रो प्रमुख कमरेडको गण्डकी प्रेम असाध्यै गहिरो छ । यता राजधानीमा टिक्नु नै हुन्न । उतै गैहाल्नुहुन्छ ।’ एमाले बिट हेर्ने पत्रकारहरु पनि उही शैलीमा जिस्किर भन्ने गर्छन्, ‘प्रचार प्रमुखलाई भेट्न गण्डकी वा लमजुङ जानुपर्छ ।’

Prithvi Subba Gurung CPNUML

मुलुकको समृद्धि र स्वाभिमानका लागि अबको राजनीति

लमजुङ घर भएका वरिष्ठ पत्रकार खिम घले लेख्छन्, ‘पछिल्लो २३/२४ वर्षदेखि म कुनै पनि राजनीतिक दल तथा तिनका भ्रातृ संगठनहरूको क्रियाकलापमा संलग्न छैन । यद्यपि परिवर्तनका एजेन्डामा आफ्नो तर्फबाट सधैँ सक्रिय रहें । लमजुङको मतदाताको हिसाबले यस पटक ४ मंसिरमा हुने चुनावमा मेरो भोट र शुभेच्छा दुवै प्रतिनिधिसभाका उम्मेदवारमध्ये पृथ्वीसुब्बा गुरुङलाई दिन चाहन्छु किनभने प्रतिस्पर्धीमध्ये मेरो विचारमा उहाँ लमजुङे जनताका लागि उपयुक्त हुनुहुन्छ ।’

पत्रकार घलेले पृथ्वीसुब्बालाई समर्थन गर्नुको ६ कारण दिएका छन् । लेखेका छन्, ‘पहिलो म सबल संघीयताबाट मात्र देशको विकास हुन्छ भन्ने मान्यता राख्छु । उहाँले गण्डकी प्रदेशको मुख्यमन्त्री भएका बेला संघीयता सबलीकरणका लागि देशकै नेतृत्वदायी भूमिका खेल्नुभयो । दोस्रो, म अहिलेको समस्याको मूल जड सुशासनको अभावलाई मान्छु । अहिलेसम्म आर्थिक तथा नैतिक पतनका विषयमा उहाँ मुछिनुभएको छैन । राजनीतिक आस्थाका आधारमा काखापाखा गरेको थाहा छैन । सुशासनका सम्बन्धमा उहाँका बुझाइसँग सहमत छु । तेस्रो, गण्डकी प्रदेशको मुख्यमन्त्रीको रूपमा उहाँले अघि सारेका कतिपय विकासका पहल राष्ट्रिय रुपमै अनुकरणीय रहे । उहाँले अघि सारेका विकाससम्बन्धी अवधारणासँग धेरै हदसम्म सहमत छु ।’

पत्रकार घले पृथ्वीसुब्बालाई समर्थन गर्नुको चौथो कारणबारे लेख्छन्, ‘लमजुङ लामो समयसम्म तनहुँका ठूला नेताहरूको छायामा परेको जिल्ला हो । त्यसलाई चिरेर राष्ट्रिय तहमा पहिचान दिलाउन सक्ने लमजुङे नेता उहाँ मात्र हो । पछिल्लो समय उहाँले लमजुङको विकासका लागि पहल पनि गर्नुभयो ।’ थप लेख्छन्, ‘अहिले विश्व ‘ग्लोबल भिलेज’ को रूपमा रहेको छ । अन्य देशहरूसँगको सहकार्य, सद्भाव र हातेमालोले नै मुलुकको तीव्र विकास र समृद्धि सम्भव छ । यस सम्बन्धमा पनि पृथ्वीसुब्बाका बुझाइ सन्तुलित लाग्छन् ।’

छैटौं कारण लेख्छन्, ‘म जातिवादी होइन, पहिचान पक्षधर हो । यस विषयमा पनि उहाँका सन्तुलित बुझाइसँग धेरै हदसम्म सहमत छु । यिनै कारणले गर्दा यस पटकको चुनावमा मेरो भोट र शुभेच्छा दुवै पृथ्वीसुब्बा गुरुङलाई ।’

पत्रकार घलेले लेखेजस्तै लमजुङको विकासका लागि सबैभन्दा बढी पहल गर्ने नेता हुन्, पृथ्वीसुब्बा । यसको पुष्टि चुनावमा जाँदै गर्दा गत ५ वर्षमा उनले लमजुङका लागि गरेका विकास कामको सूचीले गर्छ । उम्मेदवारको रुपमा पुग्दै गर्दा उनीसँग ‘अब गर्ने कामको सूची’ अर्थात् प्रतिबद्धताको पोका मात्रै छैनन्, गरेका कामको श्वेतपत्र पनि छ । उनले भनेका छन्, ‘मुख्यमन्त्रीका रूपमा मैले लमजुङको मुहार फेर्न गरेका काम तपाईंका अगाडि छँदै छन् ।’

समकालीन नेताहरूमा सबैभन्दा ‘क्लियर’ बोल्ने नेताहरूमा पर्छन्, उनी । शनिबार राइनास नगरपालिको एक कार्यक्रममा उनले भने, ‘अब जनतालाई स्पष्ट भन्नुपर्छ, अबको राजनीति नेताका लागि होइन, समृद्धि र स्वाभिमानका लागि हुनुपर्छ । जनतालाई सुखी बनाउने र मुलुकको स्वाभिमान बढाउने कामका लागि हुनुपर्छ ।’

उनले जिल्लाको समृद्धिको मार्गचित्र बनाएका छन् । पूर्वी लमजुङलाई विकास पथमा अगाडि बढाउने मेरुदण्डका रूपमा रहेको हर्राबोट–तार्कुघाट–अलैंचे–रामचोकबेंसी–लेतेफाँट हुँदै घेर्मुबाट स्यांगे जोड्ने सडक र हर्राबोट–तार्कुघाटबाट चेपेको किनारै किनार दूधपोखरी कुनाघाटबाट गोर्खाको अजिरकोट जोडने सडक निर्माण तथा स्तरोन्नति । केन्द्रसम्म पिच बाटो, वडादेखि टोलसम्म बाह्रै महिना सवारी चल्ने व्यवस्था, जिल्लाभरि रहेका सडक स्तरोन्नति र कालोपत्रे ।

गुणस्तरीय सार्वजनिक शिक्षा, सुदृढ स्वास्थ्य सेवा, सञ्चार, सुरक्षा, जलस्रोतबाट समृद्धि, कृषि र पर्यटनको विकासमा । लमजुङका हरेक वडामा स्वास्थ्य चौकी । एक पालिका एक अस्पताल । घरघरमा धारा । होमस्टेहरूको सुदृढीकरण र नयाँ होमस्टे सञ्चालन । पदमार्गहरूको खोजी । जलविद्युत्को प्रचुर सम्भावना भएको लमजुङमा जिल्लाभरि नै थ्री फेज विद्युतीकरण गर्ने । स्थानीय स्तरमा रहेका जलविद्युत्लाई राष्ट्रिय ग्रिडमा जोड्ने कामलगायतका एजेन्डा अगाडि सारेर उनी चुनावी मैदानमा होमिएका छन् ।

PS Subba Gurung

गण्डकीमा पृथ्वीसुब्बा पदचाप
पृथ्वीसुब्बा ४ फागुन २०७४ मा मुख्यमन्त्री भए । उनी मुख्यमन्त्री भएर प्रदेश जाँदै गर्दा धेरै संघीयताका पक्षधर खुसी भए । त्यसअघि संघीयताको पक्षमा लिएका अडानका कारण उनीजस्ता नेता प्रदेशमा झर्दा संघीयता कार्यान्वयन र सबलीकरणमा सघाउ पुग्ने उनीहरूको विश्वास थियो । मुलुक संघीय संरचनामा जाँदै गर्दा ‘कार्यान्वयन’ प्रक्रिया मात्रै होइन, यसको भविष्यमाथि नै प्रश्न थिए ।

अन्नतः उनीमाथिको त्यो विश्वास सही सावित भयो । किनभने, उनी एक मात्रै यस्ता मुख्यमन्त्री भए, जसले संघीयतालाई बलियो बनाउन केन्द्र सरकारसँग आँखामा आँखा जुधाएर काम गरे । प्रदेशहरूमा पुगेको सिंहदरबारलाई फेरि उही काठमाडौं फर्काउने कतिपय प्रयासहरूको डटेर प्रतिरोध गरे । २१ भदौ २०७५ मा पोखरामा सातै प्रदेशका मुख्यमन्त्रीहरूको भेला गराए । केन्द्रलाई जहीँतहीँ सुँड नघुसार्न चेतावनी दिए । त्यसो त, प्रदेशको अधिकारको कुरा मात्रै गरेनन्, संघीयताप्रति आशा र विश्वास जगाउने गरी कामको सुरुआत पनि गरे ।

‘समृद्ध प्रदेश र सुखी नागरिक’ नारा बनाएर दीर्घकालीन प्रादेशिक लक्ष्य तथा दिगो विकास लक्ष्य बनाए । प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य दलहरूको विश्वास लिए । तीन वर्षको छोटो अवधिमै प्रदेशका नागरिकले अनुभूति गर्ने गरी समृद्ध प्रदेश निर्माणको बलियो आधारशिला बनाए उनले। सबैभन्दा छिटो साझा सहमतिमा प्रदेशको नाम राखे । केन्द्र तोके । प्रदेश लोकसेवा आयोग, गण्डकी विश्वविद्यालय, प्रदेश नीति तथा योजना आयोग, गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान, प्रदेश खेलकुद परिषद्, सूचना प्रविधि पार्क, ताल संरक्षण तथा विकास प्राधिकरण, गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक प्रतिष्ठान, गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठान र प्रदेश प्रज्ञाप्रतिष्ठान स्थापना गरे ।

संघ, प्रदेश र निजी क्षेत्रले कार्यान्वयन गर्ने गरी २३ वटा प्रदेश गौरवका आयोजना निर्धारण गरेर कार्यान्वयनमा ल्याए । प्रदेशभित्र १९५ किमि सडक कालोपत्रे तथा ढलान र ३६४ किमि सडक ग्राभेल गराए । उनकै कार्यकालमा ३६ सडक र पुल बने । उज्यालो गण्डकी प्रदेशअन्तर्गत विद्युत् सेवा पुगेका घरपरिवारको संख्या ८२ प्रतिशतबाट बढेर ९८.९ प्रतिशत पुग्यो । उनले यस्ता धेरै काम गरे, जुन कामले संघीयताप्रति मान्छेको आशा र विश्वास जगायो ।

गण्डकीका साझा नेता
२०३५ यता पार्टीमा निरन्तर सक्रिय गुरुङ जिल्लाको नेतृत्व हुँदै पार्टी केन्द्रीय कमिटीको सदस्य, सचिव हुँदै हाल एमाले उपमहासचिव छन् । संगठन विभाग प्रमुख, गण्डकी इन्चार्ज, कार्यालय सचिवलगायतका जिम्मेवारी सम्हालेका गुरुङ अहिले प्रचार विभागका प्रमुख छन् । पृथ्वीसुब्बा गण्डकीको साझा नेता भएको लेखक झलक सुवेदी बताउँछन् । भन्छन्, ‘उनी एमालेको मात्रै होइन, गण्डकीकै साझा नेता हुन् । गण्डकमै जन्मिएर गण्डकीलाई कार्यक्षेत्र बनाएर सक्रिय नेताहरूमध्येमा उनी सबैभन्दा माथिल्लो तह र सम्भावना भएका नेता हुन् ।’

Prithvi Subba Gurung 2

दृढ र स्पष्ट नेता
मार्क्सवादका अध्येता घनश्याम भुसालले भन्ने गरेका छन्, ‘पृथ्वीसुब्बा गुरुङ जिउँदा नेता हुन् ।’ भुसालले भनेजस्तै उनी जे बोल्छन्, हृदयबाट बोल्छन् तर दृढताका साथ बोल्छन् । स्पष्ट वैचारिक दृष्टिकोण राख्छन् । लेखक झलक सुवेदी स्पष्ट र दृढ नेता भएको बताउँछन् पृथ्वीसुब्बालाई । उनी भन्छन्, ‘उनी संगठन र विचारमा अब्बल दर्जाका नेता हुन् ।’

उनको विशेषता अर्को छ । उनी बाहिरी मञ्चमा उति धेरै खुल्दैनन् तर पार्टीको आन्तरिक मञ्चमा भने कार्यकर्तालाई मन्त्रमुग्ध पारेर प्रशिक्षण दिने क्षमता राख्छन् । मार्क्सवाद गहिरो ज्ञान राख्छन् । एमालेभित्र लेनिनवादी संगठनात्मक सिद्धान्तको विषयमा सबैभन्दा गहिरो ज्ञान भएका नेता हुन्, पृथ्वीसुब्बा ।

मनमा जे छ, त्यही बोल्छन् । जे गर्ने हो, त्यो भन्छन् । उनको राजनीतिक श्रीवृद्धिको लागि उनको स्पष्ट वैचारिक दृष्ट कहिले बाधक बनेको छ, कहिले साधक ।

उनी वाम एकताको पक्षधर हुन् । नेकपा विभाजन रोक्न असाधरण हिसाबले सक्रिय भए । फेरि एमाले विभाजन रोक्न उसै गरी सक्रिय भए । स्थानीय तहको निर्वाचन लगत्तै पनि वाम एकता अपरिहार्य भन्दै दौडधुप गरे । बोले । तर दुःखको कुरा आफूले माया गरेर अघिल्लो निर्वाचनमा लमजुङ ल्याएको नेतासँग नै चुनाव लड्नु परेको छ ।

उनी २०६४ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भए । मुख्यमन्त्री भए तर सत्तामा रहँदा विवादमुक्त रहे । आफ्नो निष्कलंक छविलाई कायमै राखे । पटक–पटक सत्तामा पुगेर पनि प्रश्न उठ्ने गरी विवादमा आएनन् । उनको सबैभन्दा ठूलो सम्पत्ति र शक्ति यही हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७