नेतृत्वमा युवाको खाँचो


२२ कार्तिक २०७९, मंगलवार
7 Shares
older people
फाइल फोटो

पाल्पा । रामपुर नगरपालिका ६ किसानटोल बस्ने ७७ वर्षीय जयनारायण न्यौपानेले आफ्नो जीवनमा धेरै पटक मतदान गरे । चुनाव आएका बखत अब त देशले गति लिन्छ कि भन्ने आशै आशले मतदान गर्दै आए पनि आफूले दिएको मतको कदर नभएकामा उनी गुनासो गर्छन् ।

आगामी मंसिर ४ मा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा दिनहुँजसो घर–घरमा विभिन्न राजनैतिक दल तथा स्वतन्त्र उम्मेदवार चुनावी योजना लिएर पुगेका छन् तर देशमा सक्षम र योग्य व्यक्ति नेतृत्वमा नआउँदा नागरिकले अनायासै दुःख र कष्ट भोग्नु परेकामा न्यौपाने चिन्तित छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

ठूला आश्वासन दिने तर सत्तामा पुगेपछि विकासमा चासो नदिदा देशको विकास अझ पछि धकेलिन्छ कि भन्ने चिन्ताले पिरोलिनु परेको गुनासो गर्दै उनी चुनाव जितेर सत्तामा पुग्ने नेताले देशको विकास गर्न नसकेकामा नेतृत्वसंग रुष्ठ छन् ।

देशको परिवर्तनका लागि युवा जनशक्ति नै नेतृत्वमा आउनुपर्नेमा जोड दिएका ज्येष्ठ नागरिक न्यौपाने भन्छन्, ‘देश र जनताको भावना अनुसार काम गर्ने युवा नेताको खाँचो छ, देशमा रोजगार नहुदा अहिले युवा जनशक्ति सबै विदेश पलायन भएका छन्, घरमा उमेर ढल्कदै गएका अभिभावक परदेशिएका छोराछोरीलाई सम्झदै एक्लै बस्न बाध्य छन्, विदेश जाने युवालाई रोक्न र स्वदेशमै स्वरोजगार सिर्जना गर्ने खालका कार्यक्रम ल्याउनु पर्छ ।’

jagdamba.cement
rbbbb

पञ्चायतकालमा कोरिएका विकासका रेखा नै अहिले पनि यथावत रहेको हुँदा चुनाव आउँदा धेरै विकास गर्छौ भन्ने तर पछि गाउँ नफर्कने नेताको प्रवृत्तिप्रति उनी असन्तुष्ट छन् । ‘मुलुकमा व्यवस्था बदलियो, राणाशासन, पञ्चायतकाल, प्रजातन्त्र हुँदै लोकतन्त्र आयो तर विकासको अनुभूति भएन’, न्यौपाने भन्छन्, ‘पहिले नै बनेका विकासका खाकाले अहिलेसम्म पूर्णता पाउन सकेको छैन, दीर्घकालीन रुपमा विकास गर्ने विकासप्रेमी युवा नेतृत्वमा आउनुपर्छ, पाका नेतृत्वले देशमा परिवर्तन आएन ।’

देश परिवर्तन युवाले गर्ने हो । युवासँग नयाँ जोश, जाँगर र नयाँ विकास निर्माणका योजना आउँछन् । हामी जस्ता पाका पुस्तासँग सल्लाह लिएर युवाले नेतृत्व गरेमा देशले फड्को मार्ने ज्येष्ठ नागरिक न्यौपानेको बुझाई छ । ठूला आश्वासन मात्र दिनुभन्दा गाउँका सामान्य आधारभूत समस्या समाधान गर्ने नेतृत्व भए छोरा नातिले हामीले जस्तो स साना कुरामा पनि दुख भोग्नु नपर्ने अर्का ज्येष्ठ नागरिक रन्नता बाशिष्ठ बताउँछन् ।

‘मताधिकार प्रयोग गर्न उमेर पुगेदेखि नै लगातार निर्वाचनमा सहभागी भएर मतदान गरिरहेका छौँ तर हामी मतादाताले अनुभूति हुने गरी केही काम भएका छैनन्, नेतृत्वले सुख र विकास देलान् भनेको झन् नेताहरु बीच नै कुर्र्सीको लडाई भइरहेको छ, देशमा आजभन्दा भोलि महंगी बढ्दै गएको छ, हामी जनता कसरी बाँच्ने हो ?’ उनी भन्छन् ।

उम्मेदवार गाउँ केन्द्रित भइरहदा मतदाता भने पहिलेको निर्वानमा जस्तो त्यति उत्साहत देखिदैनन् । पुराना उम्मेदवार, दलका नेता तथा कार्यकर्तामा विकासको कुनै ‘भिजन’ नभएको गुनासो सबै मतदाताले गरिरहेका छन् । अहिले मतदाता पनि सक्षम हुदै गएकाले सक्षम र विकासप्रेमी नेतृत्वको पखाईमा उनीहरु छन् ।

निर्वाचनको मिति नजिकिदै गर्दा यतिबेला राजनैतिक दल र स्वतन्त्र उम्मेदवार गाउँघरमा पुग्न थालेका छन् । गाउँ ठाउँको विकास गर्ने आश्वासन दिदै विभिन्न चुनावी योजना लिएर मतदातालाई आफ्नो पक्षमा मतदान गर्न उम्मेदवारले आग्रह गरिरहेका छन् । चुनाव अगाडि गरिएका प्रतिबद्धताअनुसार काम नहुँदा उम्मेदवारलाई झुट्टा आश्वासन नदिन मतादाताले खबरदारी गरिरहेका छन् । मतदाताले आफ्नो मताधिकार सही ठाउँमा प्रयोग गर्ने हो भने देश परिवर्तन हुन समय नलाग्ने बताउँछन्, युवा मतदाता दीपेन्द्र भट्टराई ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७