प्रचण्डविरुद्ध भोट मागेको भन्दै गण्डकीका मन्त्री आचार्यलाई बर्खास्त गर्न प्रदेश प्रमुखलाई पत्र

पोखरा । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ऊर्जामन्त्री हरिशरण आचार्यलाई हटाउन प्रदेश प्रमुख समक्ष पत्राचार गरेका छन् ।
गोरखा–२ घर भएका आचार्यले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध मत मागेको आरोप लागेपछि मुख्यमन्त्रीले हटाउन पत्र पठाएका हुन् । मुख्यमन्त्री पोखरेलका प्रेस संयोजक भरत कोइरालाका अनुसार आचार्यलाई बर्खास्त गर्न प्रदेश प्रमुखलाई पत्र पठाइएको छ ।
आचार्य २०७४ सालमा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबाट गण्डकी प्रदेशसभामा निर्वाचित भएका थिए । गोरखामा आचार्यले आफूविरुद्ध मत मागेको भन्दै प्रचण्डले आचार्यविरुद्ध बाबुराम भट्टराईसमक्ष पनि गुनासो गरेका थिए । यो सूचना प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष पनि पुगेपछि उनले गण्डकीका मुख्यमन्त्री पोखरेललाई भनेर हटाउन लगाएको स्रोतले जनाएको छ ।
बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीमा रहेका उनी ४ मंसिरको प्रदेशसभा निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ (क) बाट उम्मेदवारको आकांक्षी थिए । तर नेपाल समाजवादी पार्टीबाट फणिन्द्र देवकोटा प्रदेशसभा सदस्य उम्मेदवार भएपछि आचार्यले स्वतन्त्र उम्मेदवारी दिए पनि पछि फिर्ता लिएका थिए ।