गिरिजालाई भेटेदेखि नै लालसलाम र जय नेपालको मित्रता शुरु भएको हो : प्रचण्ड


२२ कार्तिक २०७९, मंगलवार
prachanda Jumla

जुम्ला । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ४ मंसिरमा हुने निर्वाचन निर्वाचन मात्रै नभएर दुई विचार र सिद्धान्तको प्रतिस्पर्धा भएको बताएका छन् । जुम्लामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सत्ता गठबन्धन संविधान, गणतन्त्र, समावेशी र समानुपातिक गणतन्त्रको पक्षमा खडा भएको बताए ।

आगामी निर्वाचन संविधान तथा गणतन्त्रका पक्षमा उभिने र त्यसको विपक्षमा रहेकाबीच हुने उनले बताए । उनले भने, ‘दुई वटा विचार, प्रवृत्ति, संस्कृतिका बीचमा आमनेसामने हुँदैछ ।’ अध्यक्ष दाहालले परिवर्तन र अग्रगमनका पक्षधर र त्यसको विरोधीबीचमा ४ मंसिरमा संग्राम हुने बताए ।

उनले प्रत्येक निर्वाचन कुनै न कुनै राजनीतिक विषयमा केन्द्रित हुने गरेको तथ्य पेश गर्दै यस पटक अग्रगमन र परिवर्तनका पक्षमा उभिने कि नउभिने भन्ने बारेमा केन्द्रित भएको दाबी गरे । नेपालमा शान्ति प्रक्रिया सुरू गरेको र १२ बुँदे समझदारीका सहयात्री कांग्रेस नै भएको र अहिले पनि आफूहरू एकै ठाउँमा भएकाले निर्वाचन जित्ने उनले बताए ।

नेपाली जनताले प्राप्त गरेको अधिकारलाई थप स्थापित गर्न र आर्थिक समृद्धिको चाहना पूरा गर्न पनि केन्द्रित रहेको उनको भनाइ छ । अध्यक्ष ‘प्रचण्ड’ ले आफूले जय नेपाल भन्दै आएको शव्दको रहस्य खुलाएका छन् । अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालालाई भेटेदेखि नै जय नेपाल भन्न सुरू गरेको बताएका हुन् ।

‘गिरिजाप्रसाद कोइरालाले एकतर्फ लालसलाम भन्नु भएको थियो । अर्कोतर्फ मैले गिरजाप्रसाद कोइरालालाई जय नेपाल भनेको थिएँ । त्यहीबाँट सुरू भएको थियो लालसलाम र जय नेपालको मित्रता’, उनले भने, ’अनि जतिबेला हामीले हस्ताअक्षर गरौँ, विस्तृत शान्ति सम्झौतामा, त्यसको अर्थ के थियो भने गिरिजाप्रसाद कोइरालाले हँसिया हथौडामा छाप लगाउनु भएको थियो । मैले माओवादी अध्यक्षको हैसियतले कांग्रेसको रुख चिह्नमा छाप लगाएको थिएँ । नेपालमा एक युगान्तकारी परिर्वतन सम्भव भएको थियो ।’

उनले तत्कालीन एमालेको नेतृत्वमा माधवकुमार नेपाल नै भएकाले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र सम्भव भएको जानकारी दिए । अध्यक्ष दाहालले भने, ‘परिवर्तन, प्रगति, स्थिरता चाहने शक्ति एक ठाउँमा उभिएको र अर्कोतर्फ निरंकुशता र सामन्तवादतर्फ लैजान चाहने शक्ति उभिएका छौं । यो स्वभाविक र प्राकृतिक छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७