प्रधानमन्त्री देउवा धनगढीमा : असन्तुष्ट नेता–कार्यकर्तालाई मनाउन व्यस्त


२२ कार्तिक २०७९, मंगलवार
deuwa 3

धनगढी । चुनावी प्रचार प्रसारको क्रममा हाल धनगढीमा रहेका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीका कार्यकर्तासँगको भेटघाटमा व्यस्त छन् । आइतवारदेखि धनगढीमा रहेका देउवाले आसन्न चुनावका लागि पार्टीका तर्फबाट टिकट वितरणपछि असन्तुष्ट भएका र निस्क्रिय रहेका नेता–कार्यकर्तालाई बोलाएर पार्टीको पक्षमा लाग्न आग्रह गरेका छन् ।

कांग्रेसका जिल्ला सभापति नाराणदत्त भट्टले भने, ‘सम्पर्कमा आउने सन्तुष्ट असन्तुष्ट नेता कार्यकर्तालाई भेटेर पार्टी र सत्ता गठबन्धनका पक्षमा माहोल बनाउन प्रधानमन्त्रीले सम्झाई बुझाई गरिरहनु भएको छ ।’ भेटघाटका क्रममा सभापति देउवाले आसन्न चुनावमा पार्टीको अवस्थाका विषयमा नेता कार्यकर्तासँग जानकारी लिइरहेका छन् ।

धनगढी आएपछि प्रधानमन्त्रीको त्यस्तो औपचारिक चुनावी कार्यक्रम भने भएको छैन । आगामी मंसिर ४ गते हुने निर्वाचनमा गृह जिल्ला डडेलधुराको प्रतिनिधिसभा सदस्यका प्रत्यासी रहेका प्रधानमन्त्री देउवाले कात्तिक १७ देखि २० गते सम्म डडेलधुरामै बसेर विभिन्न पालिकामा भएका सत्ता गठबन्धनका चुनावी सभालाई सम्बोधन गरेका थिए ।

यसै बीच प्रधानमन्त्रीका स्वकीय सचिब भानु देउवाले प्रधानमन्त्री देउवाले कात्तिक २३ गते बैतडी र दार्चुलामा हुने गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी दिए । सोही कार्यक्रमलाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पनि सम्बोधन गर्ने बताइएको छ । कात्तिक २३ गते नै कैलालीको निर्वाचन क्षेत्र ३ को सुख्खडमा हुने चुनावी सभालाई माओवादी केन्द्रका अध्यक्ष दाहालले सम्बोधन गर्ने जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७