गायक आशिष सचिन ३० लाखमा एक वर्षका लागि ‘ओएसआर’ डिजिटलमा अनुबन्ध

काठमाडौं । दारी फूल्यो वैंशैमा, एक कान दुईकान मैदान, गलबन्दी पछ्यौरी, ए मुना, लगायतका हिट गीतका गायक आशिष सचिनलाई ओएसआर डिजिटलले अनुबन्ध गरेको छ ।
ओएसआरले गायक आशिषलाई वार्षिक ३० लाख रुपैयाँ दिने गरी अनुबन्धित गरेको हो । सम्झौताअनुसार गायक आशिष सचिनले एक वर्षसम्म ओएसआर डिजिटलको निर्माण र ब्यानरमा बन्ने विज्ञापनका सामग्रीसहित म्युजिक भिडियोमा काम गर्नुपर्नेछ ।

एक वर्षको अवधिमा ओएसआरसँग गायक आशिषले आट वटा गीतसहित वर्षभरि आउने विज्ञापनको काम गर्नुपर्नेछ । पछिल्ला दिनमा गायक आशिषले लगातार ओएसआरमार्फत आफ्ना म्युजिक भिडियो बजारमा ल्याइरहेका छन् । गायन सँगसँगै म्यूजिक भिडियोको अभिनयमा समेत अब्बल मानिएका आशिषले अभिनय गरेको पछिल्लो म्युजिक भिडियो छमक छमक तेरी पाउजुले औधी चर्चा बटुल्न सफल भएको छ ।
गायक आशिषको दारी फूल्यो वैँशैमा बोलको गीतले करिब ९ करोड ७० लाख (९७ मिलियन) दर्शक पाइसकेको छ । जुन गीत नेपालमा सर्वाधिक बढी हेरिने र सुनिने गीतको सूचिको शीर्ष स्थानमा रहेको छ । गायक आशिष पछिल्ला दिनमा बढी माग हुने गायकका रुपमा पनि दह्रिएका छन् । उनको माग देश विदेशका कन्सर्ट तथा महोत्सवहरुमा पनि बढ्दो छ ।