सूर्य थापाको संकल्प : प्यूठानको परिचय बदल्ने

राजनीतिको हिसाबले आफ्नै पहिचान छ, प्यूठानको । विकासको हिसाबले प्यूठानको परिचय उति धेरै गतिलो छैन । विकासको हिसाबले प्यूठानको परिचय बदल्ने संकल्प छ, सूर्य थापाको । भन्छन्, ‘हामी अब प्यूठानको डिस्कोर्स बदल्न चाहन्छौं । भाष्य परिर्वतन गर्नेछौं । प्यूठानी जनताको भाग्य, भविष्य हामी बदल्न चाहन्छौं ।’


२३ कार्तिक २०७९, बुधबार
1393 Shares
Surya Thapa scaled

सहरमा सूर्य थापाको परिचय छ, ‘जब्बर नेता ।’ नेपाली बृहत् शब्दकोशमा ‘जब्बर’को अर्थ लेखिएको छ, ‘शारीरिक तथा मानसिक रूपले वशमा राख्न नसकिने’, ‘अटेरी’, ‘नटेर्ने’, ‘मजबुत’, ‘बलियो’, ‘दरो’, ‘स्वस्थ’, ‘सरसौँदो’ । सूर्य थापामाथि प्रयोग भएको ‘जब्बर’ विम्वचाहिँ बलियो अर्थात् दृढ हो । उनी यस्ता जब्बर छन्, लोकप्रिय होस् वा जतिसुकै अलोकप्रिय । आफ्नो विचार दृढताका साथ राख्छन्, त्यहाँ उभिइरहन्छन् । आफ्नो दृष्टिकोण निर्भीकतापूर्वक राख्छन् । कहिलेकाहीँ विरोधीहरूकै टिप्पणी हुन्छ, ‘होइन यो सूर्य थापाले के खान्छन् हो, कसैको डर लाग्दैन कि क्या हो ?’

आफूले हाँकेको, ताकेको काममा एकोहोरो भिडिरहन्छन्, सूर्य । र नजिता निकाल्छन् । उनको यही स्वभाव, अभिव्यक्ति र शैलीले भीडमा परैबाट देखिन्छन् । पछिल्लो समय राजनीतिमा आइरहेका लाखौंका भीडमा उही शैली, स्वभावले अलग परिचय र पहिचान बनाएका छन्, उनले ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

सूर्य थापा भन्नेबित्तिकै राजनीतिमा चासो राख्नेहरूको दिल–दिमागमा एउटा बिम्व जरुर आउँछ– कि कट्टर समर्थक छन्, कि त चर्को विरोधी । समर्थक भन्छन्, ‘सूर्य थापा निर्भीक र दृढ छन् । पार्टी र नेतृत्वका लागि सतिसालजस्तै उभिन्छन् ।’ विरोधीहरू भन्छन्, ‘सूर्य थापा विरोधी दल र नेताप्रति निर्मम छन् ।’

ncll 2

जेहोस्, राजनीतिको भीडमा सूर्य थापा अतिरिक्त परिचय खोजिरहनुपर्ने नेता होइनन् । उही परिचय, शैली र स्वभावका साथ सहरमा पार्टी अनि नेतृत्वका लागि सामाजिक सञ्जाल र सञ्चारमा भिडिरहने सूर्य थापा अहिले सहरबाट गायब छन् । आफ्नो गृहजिल्ला प्यूठानका जनतामाझ भोटका लागि घरदैलो गरिरहेका छन् ।

jagdamba.cement

प्यूठानबाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले)का उम्मेदवार छन् । उही शैलीमा भनिरहेका छन्, ‘जनता र प्यूठानप्रतिको जिम्मेवारी नभएको उम्मेदवारलाई काँधमा बोक्न छाडेर जिल्लाको विकास र समृद्धिका लागि मलाई यसपालि जिताउनुस् ।’ थापाले उही दृढताका साथ भनिरहेका छन्, ‘यसपालि जिताएर मेरो परीक्षा लिनुस् । म विकासको हिसाबले प्यूठानको परिचय बदल्छु । तपाईंहरूको अवस्था बदल्छु ।’

२०७४ मा वाम गठबन्धनको समर्थनमा प्यूठानबाट प्रतिनिधिसभा सदस्य निर्वचित राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल उनको प्रतिद्वन्द्वी । नेपाली कांग्रेस, माओवादी, एकीकृत समाजवादीसहितको गठबन्धनको बलमा सांसद दोहोरिन चाहेकी दुर्गालाई उही खरो शैलीमा प्रश्न गरिरहेका छन्, ‘गएको ५ वर्षमा प्यूठानलाई के दिनुभयो ?’

प्यूठान र थापा जन्मिएको गाउँ झिमरुक जनमोर्चाको आधार क्षेत्र मानिन्छ । उही आधार क्षेत्र झिमरुक गाउँपालिका–१ मा ८ साउन २०३१ मा जन्मिएका थापाले हुँकार दिइरहेका छन्, ‘गठबन्धनको नाममा जिल्ला र जनताका लागि केही गर्न नसक्ने जनमोर्चा र उनका नेतालाई बोक्न प्यूठानी जनता तयार छैनन् ।’

Surya thapa 2 1

प्यूठानको परिचय बदल्ने प्रतिबद्धता

प्यूठान कम्युनिस्टहरूको गढ हो । त्यसमा पनि लामो समय जनमोर्चाहरूको प्रभाव । विकासको हिसाबले प्यूठानको परिचय उति धेरै गतिलो छैन । प्यूठानको परिचय र डिस्कोर्ष बदल्ने गरी आफू उम्मेदवार बनेको उनको भनाइ छ । भन्छन्, ‘हामी अब प्यूठानको डिस्कोर्स बदल्न चाहन्छौं । प्यूठानी जनताको भाग्य, भविष्य हामी बदल्न चाहन्छौं ।’

जनमोेर्चाको डायरीमा विकास र समृद्धि नै नभएको उनको दाबी छ । आफैंमा खिइँदै गएको पार्टीका प्रतिनिधिलाई प्यूठानीले जनप्रतिनिधिको रुपमा पठाउँदा जिल्ला पछाडि परेको उनको दाबी छ । उनी भन्छन्, ‘म दुई–दुई पटक प्रधानमन्त्रीको प्रेस सल्लाहकारको जिम्मेवारीमा रहँदा पनि धेरै काम भएका छन् । त्यसको फेहरिस्त कसैले खोज्छ भने हामी दिन तयार छौं । त्यसैले यसपालिको निर्वाचनदेखि प्यूठानी मतदाताले पक्कै पनि विवेकपूर्ण निर्णय गरेर हामीलाई प्रतिनिधि बनाएर पठाउनुहुनेछ । जब हामी जिल्लाको प्रतिनिधि र सत्तामा पुग्छौं, प्यूठानको मुहार फेरिनेछ । यो हाम्रो अठोट र प्रतिबद्धता हो ।’

थापाले पत्रकारिता, पार्टी संगठनसँगै सरकारी जिम्मेवारीमा रहेर सत्तालाई नजिकबाट हेरेका छन् । बुझेका छन् । सत्ता सञ्चालनको प्रत्यक्ष वा अप्रत्यक्ष अनुभव संगालेका छन् । उनी २०६१ मा उपप्रधानमन्त्री भरतमोहन अधिकारीको सञ्चार परामर्शदाता (सल्लाहकार) भए । २०६७ देखि ०६८ सम्म तत्कालीन प्रधानमन्त्री झलनाथ खनालको पे्रस सल्लाहकार भए । पछिल्लो पटक प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीको पे्रस सल्लाहकारको जिम्मेवारी थिए ।

एमाले प्यूठानका अध्यक्ष विजय विराज विष्टको भाषामा ‘सूर्य थापालाई कहाँ बजेट बन्छ ? कसरी बन्छ ? बजेट ल्याउन के गर्नुपर्छ ? सिंहदरबार र बालुवाटार कहाँ, के गर्दा जिल्लामा बजेट आउँछ ?’ त्यो थाहा छ । त्यो अनुभवले पनि जिल्लाको विकास र समृद्धिमा सहयोग हुने अध्यक्ष विष्टको भनाइ छ ।

जिल्लाको विकास र समृद्धिका लागि थापा र दुर्गा पौडेलको तुलना नै हुन नसक्ने अध्यक्ष विष्टको दाबी छ । उनले सभाहरूमा भनिरहेका छन्, ‘दुर्गा पौडेललाई जिताउनुभयो भने उहाँका लागि सिंहदरबार छिर्ने एक थान पासबाहेक केही हुन्न । सिंहदरबारमा बन्ने हरेक नीति र बजेटलाई नजिकबाट देखेका सूर्य थापालाई जिताउनुहोस् । प्यूठान बदलिनेछ ।’

थापाले प्यूठानको भौतिक पूर्वाधारदेखि, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, सञ्चार क्षेत्रलगायतका विकासको मार्गचित्र बनाएका छन् । भन्छन्, ‘५ वर्षमा हामी प्यूठानको परिचय नै बदल्नेछौं । हामी प्यूठानको भबिष्य बदलेर प्यूठानको नयाँ भाष्य निर्माण गर्नेछौं ।’

प्यूठानको आवश्यकतालाई आफूले नजिकबाट बुझेको, प्यूठानी जनताको समस्यालाई नजिकबाट देखेको उनको दाबी छ । थापा भन्छन्, ‘म प्यूठानका ६४ वटै वडामा पुगेको छु । त्यहाँको रहनसहन, भौगोलिक अवस्थिति र जनताले चाहेको के हो ? सबै कुराका एथेष्ट जानकारी छ । त्यस कारण पनि कुन गाउँमा के विकासको आवश्यकता छ, त्यसलाई नजिकबाट बुझेको र गाउँमै हुुर्के–बढेको नाताले मैले प्यूठानको अनुहार बदल्ने स्पष्ट भिजन बोकेको छु । अब हामी प्यूठानलाई पछाडि परेको जिल्लाको रुपमा होइन, विकासमा नमुना जिल्लाको रुपमा अगाडि बढाउन चाहन्छौं ।’

मिसन पत्रकारिताबाट पार्टीमा

हामीकहाँ चलनचल्तीको भाषामा दुई प्रकारको पत्रकारिता छ, एक मिसन पत्रकारिता । दोस्रो, व्यावसायिक पत्रकारिता । मिसन पत्रकारिता अर्थात् पत्रकारिताको माध्यमबाट निश्चित विचारको प्रवाह, रक्षा र सुरक्षा । उनले पत्रकारिताको आरम्भ मासिक तलब थापेर एकबारको जोबन पाल्ने गरी होइन, पत्रकारिताको माध्यमबाट समाजलाई बाटो र उज्यालो देखाउने अभीष्ट बोकेर सुरु गरे ।

२०४९ मा अभिमान त्रैमासिक पत्रिकाको सम्पादक÷प्रकाशको भूमिकाबाट सुरु भएको उनको पत्रकारिता यात्रा पुनर्जागरण, बुधबार, रातो फूलबारी हुदँै नेकपा (एमाले) राजनीतिक पत्रिका नवयुगको सम्पादकसम्म पुग्यो । खासगरी पार्टी सरकारमा रहेका बेला जनताको पक्षमा पार्टीले गरेका कामलाई बाहिर ल्याउन रेडियो नेपालबाट सञ्चालन हुने घटना र विचारमा २०५३ देखि २०५४ सम्म काम गरे ।

रेडियो नेपालबाट प्रसारण हुने परिवेश कार्यक्रसमको सह–समन्वयकर्ताको रुपमा २०५५ देखि २०५६ सम्म काम गरे । नेकपा (एमाले) केन्द्रीय प्रचार विभागले प्रकाशन गर्ने राजनीतिक मुखपत्र नवयुगमा उनले सम्पादक मण्डल सदस्यको रुपमा २०५९ देखि काम सुरु गरे । वर्ष सम्पादकको रुपमा लामो समय काम गरे ।

गणतान्त्रिक आन्दोलनका मियो
१८ असोज २०५९ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘अक्षम’ प्रधानमन्त्री भन्दै अपदस्थ गरे । मुलुकको सम्पूर्ण शासनसत्ता आफ्नो हातमा लिए । नेपाली जनतामा निहित सार्वभौमसत्ता र राजकीयसत्ता आफ्नो हातमा लिएर निरंकुश शासन सुरु गरे । सुरुमा राजनीतिक दलहरू आत्तिए । अलमलिए । डराए । दल र दलका नेताहरू घरभित्र थुनिएका बेला राजा ज्ञानेन्द्रको कदमविरुद्ध पहिलो पटक आवाज उठाउने संस्था थियो, नेपाल पत्रकार महासंघ ।

नेपाल पत्रकार महासंघले दलहरूले भन्दा एक कदम अघि सरेर गणतन्त्र स्थापनाको आवाज उठाएको थियो । उनी दोस्रो जनआन्दोलनताका नेपाल पत्रकार महासंघ (२०६२–२०६५)को केन्द्रीय सदस्य थिए । नेपाल पत्रकार महासंघले गणतन्त्रको एजेन्डा उठाउनुपर्छ भनेर वैचारिक रुपमा नेतृत्व गर्ने र पहलकदमी लिनेमध्येका एक थिए, उनी ।

संगठक र आन्दोलनको पहलकर्ताको रूपमा मात्रै होइन, राजतन्त्रविरुद्ध चेतना निर्माणमा पनि उनको महत्वपूर्ण भूमिका रह्यो । राजतन्त्रविरुद्धमा जनमत सिर्जना र चेतना निर्माण गर्ने गरी तीन वटा पुस्तक लेखे । उनले लेखेका तीन पुस्तक विश्वमा राजतन्त्र ः उत्थान, पतन र भविष्य (२०६०), नेपालमा राजतन्त्र र दलहरूबीचको संघर्ष (२०६२) र राजतन्त्रको अर्थराजनीति (२०६३) उतिबेला असाध्यै चर्चित थियो ।

राजतन्त्र किन खराब छ ? यस विषयलाई आमजनताको दिल दिमागमा स्थापित गरेर गणतान्त्रिक आन्दोलनमा लाग्न प्रेरित गरेको थियो, पुस्तकले । राजतन्त्रको बिदाइ र गणतन्त्र स्थापनापछि ‘नेपालमा गणतन्त्रको स्थापना र राज्यको पुनःसंरचना’ (२०६५) नामक पुस्तक लेखेर राज्य पुनःसंरचना’को बहसलाई आरम्भ गराए ।

surya

वैचारिक नेता : चेतना निर्माणका अभियन्ता
स्नातकोत्तरसम्मको औपचारिक अध्ययन पूरा गरेका थापाले पार्टीको बौद्धिक तथा वैचारिक काम पनि गहिरोसँग गरेका छन् । खासगरी पार्टीको विकास र विस्तारमा आवश्यक पर्ने वैचारिक तथा सैद्धान्तिक विषयको सम्पादन, लेखन र प्रकाशनमा भूमिका छ, उनको । उनले पार्टीसँग सम्बन्धित महत्वपूर्ण ११ पुस्तकहरूको सम्पादन गरेका छन् । नेकपा (एमाले)को मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज)का प्रवद्र्धक जननेता कमरेड मदन भण्डारीको संकलित रचना भाग १ देखि ८ सम्मको सम्पादन उनले गरे । मदन भण्डारीका संकलित रचना अंग्रेजी भाषामा पनि प्रकाशित भएका छन् ।

यसैगरी ‘संसद्मा मदन भण्डारी–२०५६’ विचार तथा सम्बोधनहरूको संग्रह, जीवनयात्रा (तुल्सीलाल अमात्य स्मृति विशेष), सलाम सहयोद्धा–२०५६ (यदु गौतमको जीवनयात्रा र स्मृतिमा…) लगायतका ११ वटा पुस्तक सम्पादन गरेका छन् । ११ वटा सबै पुस्तक कम्युनिस्ट आन्दोलनको विकास र विस्तारमा महत्वपूर्ण योगदान गर्ने पुस्तक हुन् ।

संगठनमा सूर्य थापा

२०५३ मा पार्टी–पत्रकार केन्द्रीय फ्र्याक्सनको जिम्मेवारीदेखि हाल प्यूठान जिल्ला इचान्र्जको भूमिकामा छन् । पार्टीको सञ्चार इलाका कमिटी सदस्य (२०५४–२०५५) नेकपा (एमाले), प्यूठान–काठमाडौं सम्पर्क मञ्च ( २०५५–२०५६) को सचिव, नेकपा (एमाले), प्यूठान–काठमाडौं सम्पर्क मञ्च (२०५५–५९) अध्यक्ष, नेकपा (एमाले), राप्ती–काठमाडौं सम्पर्क मञ्च (२०५५–५९) को अध्यक्ष, पे्रस चौतारी नेपाल (२०५७–५९) को केन्द्रीय फ्र्याक्सन सदस्यको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरे ।

यसैगरी केन्द्रीय फ्र्याक्सन सचिव, नेपाल पत्रकार महासंघ, २०६२–६५, सदस्य, केन्द्रीय प्रचार विभाग, नेकपा (एमाले), २०५९–२०६४, सचिव, केन्द्रीय प्रचार तथा प्रकाशन विभाग, नेकपा (एमाले), २०६४–२०७१, केन्द्रीय सदस्य, नेकपा (एमाले), नवौं राष्ट्रिय महाधिवेशन असार, २०७१, उपप्रमुख, केन्द्रीय प्रचार विभाग÷सह–इन्चार्ज प्रचारसम्बद्ध संगठन, २०७१–हालसम्म, नेकपा(एमाले), प्रमुख, केन्द्रीय पर्यटन प्रवद्र्धन विभाग÷इन्चार्ज, पर्यटन सम्बद्ध संगठन, २०७१–५४) हुँदै हाल प्यूठान जिल्ला इन्चार्ज छन् ।

थापाले जुन–जुन जिम्मेवारीमा रहे, त्यो जिम्मेवारी उत्कृष्ट हिसाबले पूरा गरेको इतिहास छ । प्रचारको मोर्चामा उनी कार्यकारी पदमा रहेका बेला उत्कृष्ट नतिजा निस्केको थियो । नेपाल पत्रकार महासंघको करिब ६० वर्षको इतिहासमा उनकै कार्यकुशलताले नयाँ इतिहास कायम भएको मानिन्छ । सञ्चार मोर्चाको नेतृत्व, पर्यटनको नेतृत्व सम्हाल्दा उनले उत्कृष्ट नतिजा दिएका थिए ।

अहिलेसम्मका मोर्चामा सफल देखिएका थापा संसदीय मोर्चामा पहिलो पटक भिडिरहेका छन् । यिनको प्यूठानको परिचय बदल्ने सपना र संकल्प पूरा हुन ४ मंसिरको पहिलो खुट्किला पार गर्नुपर्नेछ । प्यूठानी जनताले त्यो खुट्किलो पार गराउनेछन् वा छैनन् । त्यो भने ४ मंसिरको फैसलाले देखाउनेछ ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७