धरानका धरोहर : जसको अडानले धरान उपमहानगरपालिका बन्यो


२३ कार्तिक २०७९, बुधबार
Ramesh Basnet scaled

धरान : जतिबेला स्थानीय तहहरुको पुनः संरचनाको बहस भइरहेको थियो । उतिबेला धरान पनि तानातानमा थियो । मेट्रोसिटी, मेघासिटी आदिको व्यापक बहस थियो । इटहरी, धरान र विराटनगर जोडेर मेघा सिटी बनाउने, इटहरी र धरान मात्रै जोड्ने लगायतका प्रयास भए । त्यसबीचमा छिमेकी पालिका जोडिने र स्तरोन्नती हुने क्रम शुरु भयो । पाँचकन्या र विष्णुपादुका गाविसलाई धरानमा गाभ्ने र धरानलाई उपमहानगरपालिका बनाउने विषयमा बहस शुरु भयो ।

बहस शुरु हुन थालेपछि गाविसवासी विभाजित भए । धरानमा गाभिदा पाँचकन्या र विष्णुपादुकाको इतिहास नामेट हुन्छ भन्ने आम बुझाइ थियो । तर नेकपा (एमाले) का नेता तथा त्यस क्षेत्रका अगुवा रमेशकुमार बस्नेतले ती क्षेत्रलाई

उपमहानगरपालिकामा गाभ्नु उपयुक्त हुने कुरा बुझाए । गाविसबाट उपमहानगरबासी हुँदा विकासको गति तीब्र हुने भनेर बोल्न थालेपछि अन्य आवाज मधुरो भयो । तर त्यसबेला विष्णुपादुका धरानमा नगाभिने निर्णय गर्दै पछि हट्यो । वस्नेतका कारण पाँचकन्या एकमतले धरानमा गाभिने भएपछि धरान उपमहानगरपालिका भयो । विष्णुपादुका पनि ९ महिनापछि धरानमा गाभिन सहमत भएर आयो ।

२०४९ सालमा पाँच कन्यागाविसलाई देशकै उत्कृष्ट गाविस बनाएका वस्नेतले त्यसयता धरानको हितमा अनेकन काम गर्दै आएका छन् । उनै वस्नेत मंसिर ४ गते हुने निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ (क) का प्रत्यक्ष उम्मेदवार छन् । आफू कक्षा ७ मा पढ्दादेखि नै पञ्चायती व्यवस्थाविरुद्ध तात्कालीन नेकपा मालेको विद्यार्थी संगठनमा आवद्ध भएर समाज रुपान्तरणको राजनीतिक अभियानमा होमिएका बस्नेत चार दशकदेखि समाज रुपान्तरणकै अभियानमा छन् ।


महेन्द्र बहुमुखी क्याम्पस धरानमा अध्ययन गर्दा अनेरास्ववियुमा सक्रिय भएको भन्दै मण्डलेहरुबाट मरणासन्न हुने गरी उनीमाथि आक्रमण भएको थियो । उनी त्यस बेला लामो समयको उपचारपछि मात्रै सामान्य जीवनमा फर्किएका थिए ।

स्थायी शिक्षकको सरकारी जागीरमा रहेका बस्नेतले पार्टीको आग्रहमा २०४८ सालमा राजीनामा दिएर सम्पूर्ण जीवन समाजसेवामा समर्पण गरेका थिए । पार्टीले पूर्णकालीन राजनीतिमा लाग्न निर्देशन दिएपछि सरकारी जागीर छाडेर राजनीतिमा होमिएको बस्नेत बताउँछन् ।

२०४९ सालमा साविक पाँचकन्या गाविसको अध्यक्षमा नेकपा एमालेको तर्फबाट उम्मेदवार भएका उनी विजयी भएका थिए भने दोस्रो कार्यकालमा पनि उनी भारी मतका साथ विजयी भएका थिए । दुई कार्यकाल गाविस अध्यक्ष चलाउँदा नै अब्बल सावित भएका बस्नेत त्यसपछि पार्टीको विभिन्न जिम्मेवारीमा रहेर काम गरे ।

पार्टीमा धरान नगर कमिटी सदस्य, क्षेत्रीय समन्वय कमिटीको सह–संयोजक, जिल्ला कमिटीको सदस्य, सचिव, उपाध्यक्ष, अध्यक्ष हुँदै अहिले नेकपा एमालेको १ नं. प्रदेश कमिटी सचिवालय सदस्यको जिम्मेवारीमा रहेका छन् ।

रमेशकुमार बस्नेतको राजनीतिक यात्रा
२०३७ : तत्कालीन नेकपा (माले) सम्पर्क
२०४२ : अनेरास्ववियुको धरान नगरको संस्थापक सचिव
२०४४ : एरिया शिक्षक पार्टी सक्रिय दलको सदस्य
२०४७ : नेकपा (एमाले) धराननगर कमिटी सदस्य
२०४९ : पाँचकन्या गाविसको अध्यक्षमा निर्वाचित
२०५४ : पाँचकन्या गाविसको अध्यक्षमा पुनः निर्वाचित/गाविस महासंघ सुनसरीको अध्यक्ष
२०५७ : सुनसरी जिल्ला कमिटी सदस्य
२०७२ : सुनसरी जिल्ला कमिटी उपाध्यक्ष
२०७४ : सुनसरी जिल्ला कमिटी अध्यक्ष
हाल : नेकपा (एमाले) १ नं. प्रदेश कमिटी सचिवालय सदस्य

पार्टीमा काम गर्दा बस्नेतको छवि सरल, शालिन, क्षमतावान् तथा दूरदर्शीका रुपमा रहेको छ । ४२ वर्षे राजनीतिक यात्रामा स्वच्छ छविका नेताको रुपमा चिनिएका बस्नेत पार्टीले दिएको जिम्मेवारी सफल रुपमा बहन गर्न सक्ने क्षमता समेत राख्छन् ।
अहिले राजनीतिक दलप्रति वितृष्णा देखिन थालेको छ ।

विशेष गरी दलहरु सरकार बनाउने खेलमा लाग्दा जनताका मुद्दा किनारा लगाएर आफ्नो स्वार्थमा लाग्दा अहिले राजनीतिक दललाई विश्वास गर्न सकिरहेका छैनन् । तर नेकपा एमालेले बस्नेतलाई उम्मेदवार बनाएपछि निर्वाचन क्षेत्रका मतदाता समेत बस्नेतसँग आशावादी देखिएका छन् ।

बस्नेत भन्छन्, ‘युवापुस्तामा अहिले राजनीतिप्रति वितृष्णा देखिन थालेको छ, यो समाजका लागि राम्रो संकेत होइन ।’ युवापुस्तालाई राजनीतिमा आउन आह्वान गर्दै उनी भन्छन्, ‘युवापुस्ता राजनीतिमा आउनु पर्छ र समाज परिवर्तनका लागि युवाको सहभागीता हुनुपर्छ, कतिपय अवस्थामा युवाको भूमिका नेतृत्व तहमा नहोला तर सहि र गलत मान्छे छुट्याएर सहि मान्छेलाई नेतृत्वमा पु-याउनु पर्छ भने गतल मान्छेलाई रोक्नु पर्छ ।’

समाजवाद स्थापनाको सपना देखेर राजनीतिमा
समाजवाद स्थापनाको सपना देखेर आफू र आफू आवद्ध दल राजनीतिमा होमिएको बताउँछन् उनी । भन्छन्, ‘समाजवाद स्थापनाको सपना देखेर नै राजनीतिमा होमिएका हौं तर पाँच वर्षमा नै समाजवाद आइहाल्छ भन्नेमा थिएनौं, यो लामो यात्रा हो भन्नेमा हामी क्लियर थियौ ।’

उनी सम्झन्छन्, ‘त्यतिबेला हामी आफै राजकीय निकायमा पुगेर जनताका निम्ति काम गर्नुपर्छ भन्ने थियो, फलस्वरुप मनमोहन अधिकारी नेतृत्वको सरकारले नेपालको समृद्धिको जग बसाउने काम ग-यो । म आफू गाविस अध्यक्ष भइरहँदा पाँचकन्याको प्रमुख समस्याको रुपमा खानेपानी समस्या रहेको थियो । त्यसबेला खोला, कुवा, खाडी र कुलोबाट खानेपानी खानु पर्दथ्यो ।’

त्यसबेला ३ वटा वडामा मात्रै विद्युत पुगेको थियो त्यो पनि मेन लाइनमा मात्रै । ती कुराहरुको व्यवस्थापन गर्न म सफल नै भए । त्यसबेला (२०४८ साल) पाँचकन्या गाविस सुनसरी जिल्लाको सबैभन्दा पछाडि पारिएको गाविसको रुपमा थियो । त्यो २०६० सालमा आइपुग्दा सुनसरीको सबैभन्दा अग्रपंत्तिमा पाँचकन्या गाविस आइपुग्यो । त्यसको अगुवाइ बस्नेतले गरे पनि पाँचकन्यावासीको अभूतपूर्व साथ मिलेको उनी सम्झन्छन् ।

देशकै नमुना पाचकन्या गाविस
‘पाँचकन्या गाविस त्यसबेला देशकै नमुना गाविसको रुपमा पनि चिनिन्थ्यो । पूर्वाञ्चलमा पहिलो पटक वडा कार्यालय सञ्चालन गर्ने काम पाँचकन्या गाविसबाट शुरु भएको थियो । ‘जनप्रतिनिलाई भेट्ने एउटा निश्चित स्थान हुनुपर्छ, हामी जनताप्रति उत्तरदायी हुनुपर्छ भन्ने उद्देश्यले वडा कार्यालय खोलेका थियौ’, उनी भन्छन् ।’ वडास्तरमा रेशम खेती गर्दा पनि नेपालकै उत्कृष्ट गुणस्तरको रेशम उत्पादन भएको थियो ।

त्यस्तै गरी गाउस्तरीय शिक्षा समिति र गाउँस्तरीय शिक्षा योजना बनाउने मुलुककै पहिलो गाविस पाँचकन्या नै भएको थियो । त्यसको सिको गर्दै अन्य गाविस तथा नगरहरुले पनि शिक्षा समिति बनाएका थिए । मनमोहन अधिकारीको सरकारले गाविसलाई ३ लाख बजेट दिन थालेपछि विकासको क्रम शुरु भएको थियो । उनी स्मरण गर्दै भन्छन्, ‘जब गाविसमा ३ लाख बजेट आयो त्यो बजेटले १० लाखभन्दा बढीको काम हुन्थ्यो । लागत सहभागितादेखि जनश्रमदानको शुरुवात त्यहिंबाट भएको थियो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७