भूकम्पका घाइतेको उपचार डोटीमा हुँदै

भूकम्पमा परी ज्यान गुमाएकाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त


२३ कार्तिक २०७९, बुधबार
Earthquake in Doti 1

डोटी । गए रातिको भूकम्पमा परी गम्भीर घाइते भएका पाँच जनाको उपचार डोटी अस्पतालमा भइरहेको छ । घाइतेलाई नेपाली सेनासहितका सुरक्षाकर्मीको टोलीले उद्धार गरी उपचारबका लागि केहीबेर अघि हेलिकप्टरबाट डोटी अस्पताल पुर्‍याइएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए ।

सुर्खेत र कैलालीको धनगढीबाट गएको हेलिकप्टरले उनीहरुको उद्धार गरेको हो । उद्धारसँगै तत्काल आवश्यक खाद्यान्न र टेण्टसमेत लिएर भैरवनाथ गणको टोली सो क्षेत्रमा खटिएको सेनाले जनाएको छ ।

गए राति २ बजेर १२ मिनेटमा डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पबाट डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा घर भत्किँदा ६ जनाको मृत्यु भएको थियो । उक्त ठाउँमा आठ घर पूर्णरुपमा भत्किएर क्षति पुगेको बताइएको छ ।
सेना र प्रहरी भूकम्पबाट प्रभावितको उद्धारमा
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल डोटीको भूकम्प प्रभावित क्षेत्रमा उद्धारमा खटिएको छ । रेडक्रसकर्मी र स्थानीयवासीसमेत उद्धारमा जुटेका छन् । डोटीको खप्तड क्षेत्र केन्द्रबिन्दु भएर राति २ बजेर १२ मिनेटमा ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पकपछि डोटीका धेरैजसो ठाउँमा सञ्चार सम्पर्क बिच्छेद भएको छ ।

यता कैलालीको धनगढीसहितका क्षेत्रमा भूकम्पको धक्का महसुस हुँदा राति धेरै सर्वसाधारण घर बाहिर निस्केका थिए । जिल्लामा अहिलेसम्म भूकम्पका कारण मानवीय क्षति भएको खबर नपाएको प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए ।

अछामको शान्तडा र मङ्गलसेन क्षेत्रमा कतिपय घर चर्केको त्यहाँस्थित प्रहरी निरीक्षक कैलास सिंहले जानकारी दिए । त्यहाँ मानवीय क्षति भएको खबर नआएको उनले बताए । डोटीका अन्य क्षेत्रमा धेरै व्यक्तिका घरमा चिरा परेको जानकारी आएको जोरायल गाउँपालिकाका मदनराज जोशीले जानकारी दिए ।

यसैबीच डोटीका समाजसेवी एवं नेपाली कांग्रेसका नेता पदमराज जोशीले भूकम्पबाट पीडित परिवारका लागि रु ५० हजार सहयोग गर्ने घोषणा गरेका छन् । डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँका पदम बोहराको घर भत्किँदा उनकी श्रीमती ३५ वर्षीया भगवती बोहरा, १२ वर्षीया छोरी सीता, सात वर्षीय छोरा हर्क बोहराको च्यापिएर मृत्यु भएको थियो । पदम बोहरा भने हाल भारतमा छन् ।

यसैगरी सोही ठाउँका प्रेम बोहराको घर भत्किँदा निज बोहरासहित उनकी छोरी तुल्सी र धनसरा बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भोला भट्टले जानकारी दिए ।

भूकम्पमा परी ज्यान गुमाएकाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गए राति गएको भूकम्पमा परी डोटीमा ज्यान गुमाएका प्रति दुःख व्यक्त गरेका छन् । गए राति २ बजेर १२ मिनेटमा डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र केन्द्रविन्दु भई ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प जाँदा ज्यान गुमाएका छ जनाप्रति उनले दुःख व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री देउवाले भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धारमा खटिन तथा घाइतेको तत्काल उचित उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । ‘सुदूरपश्चिमको खप्तड क्षेत्र केन्द्रबिन्दु बनाइ गएको भूकम्पमा परी मृत्यु हुनेहरूप्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु’, प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरेका छन् । भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धारमा खटिन समेत उनले निर्देशन दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७