पाँचौंपल्ट शानदार विजय निकाल्ने रणनीतिमा सुवास नेम्वाङ

कांग्रेसका डम्बर खड्कालाई ‘हेभिवेट’ नेम्वाङलाई उछिन्न छैन सहज


२३ कार्तिक २०७९, बुधबार
Subash Nembang scaled
फाइल फोटो

-भगिरथ भण्डारी

इलाम । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ पाँचौं पटक इलाम निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धामा छन् । २०५६ सालदेखि सबै संसदीय निर्वाचनमा विजयी नेम्वाङ मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीमा मतदाता रिझाइरहेका छन ।

उनीसँग यस पटक सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका जिल्ला सभापति डम्बरबहादुर खड्का मुख्य प्रतिस्पर्धामा छन् । खड्कालाई ‘हेभिवेट’ नेम्वाङ उछिन्न सहज भने छैन । कांग्रेसकी जुनु माखिमले बागी उम्मेद्वारी दिएका कारण पनि खड्कालाई थप चुनौति देखिएको छ । इलाममा पहिले तीन वटा निर्वाचन क्षेत्र थिए । नेम्वाङले तीन पटक चुनाव जितेको निर्वाचन क्षेत्रको भूगोल २०७४ सालमा परिवर्तन भयो । त्यसपछि दुई वटा निर्वाचन क्षेत्र रहेको भूगोलमा समेत २०७४ सालमा जित हासिल गरेका नेम्वाङ विरासतलाई निरन्तरता दिने रणनीतिका साथ उनी चुनावी मैदानमा छन् ।

खड्का पनि यस पटक इलाम २ का मतदाताले नयाँ जनप्रतिनिधि चाहेको भन्दै विजयको दौडमा छन् । एमालेबाट सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस नेम्वाङ पार्टीभित्र निर्विवाद नेता हुन । उनको प्रमुख प्रतिस्पर्धी रहेको दल नेपाली कांग्रेसले सात जनाको नाम उम्मेदवारका लागि सिफारिस गरेको थियो । यस क्षेत्रमा भेषराज आचार्यको टिकट आउने आंकलन हुँदाहुँदै केन्द्रबाट जिल्ला सभापति खड्काले टिकट पाएपछि संस्थापनइतर केही नेता भित्री रूपमा उनीविरुद्ध सक्रिय रहेको कांग्रेसनिकट स्रोत बताउँछ ।

गठबन्त्रनमा माओवादी केन्द्र र एकीकृत समाजवादीको कांग्रेसलाई नै साथ छ । यस क्षेत्रको चुनावी अंक गणितमा एमाले र कांग्रेस बाहेक नेकपा माओवादी केन्द्रको महत्वपूर्ण भूमिका रहन्छ । नेकपा एकीकृत समाजवादी (नेकपा एस) को प्रभाव कम भएको फाइदा नेम्वाङले लिने एमाले नेताको भनाइ छ ।

एमाले नेतृत्वको सरकारले दुई पटकसम्म गैरसंवैधानिक तरिकाले प्रतिनिधिसभा विघटन गरेको आरोप खेपिरहेको छ । मतदाता सामु पुगेका नेम्बाङलाई यतिबेला प्रतिनिधिसभा विघटनको उत्तर दिईरहनु परेको छ । सामाजिक सञ्जालमा होस् या अन्य माध्यमबाट, नेम्वाङलाई उनकै क्षेत्रका मतदाताले मुख्य रूपमा सोधिरहेको प्रश्न ‘प्रतिनिधिसभा विघटन किन आवश्यक थियो ?’ भन्ने छ । नेम्वाङले इलाममा आयोजित चुनावी कार्यक्रममा मतदातासँग यो विषयलाई आफूले मुख्य जिम्मेवारी ठान्दै प्रधानमन्त्री रहेका ओलीलाई पार्टीभित्रैबाट काम गर्न नदिइएपछि नयाँ जनादेशका लागि जनतामै जाने उत्तम बाटो खोजिएको प्रतिक्रिया दिइरहेका छन् ।

‘प्रतिनिधिसभा विघटनको निर्णय सर्वाेच्चले मानेन, त्यो अलग कुरा भो तर प्रधानमन्त्रीले मलाई काम गर्न दिइएन, अब नयाँ जनादेशका लागि जानुपर्छ भन्नु कसरी प्रतिगमन भो ? सर्वाेच्चले विघटनको फैसला बदर नगरेको भए देशमा निर्वाचन भइसक्थ्यो, नयाँ संसद् बनिसक्थ्यो,’ नेम्वाङले मतदातासँग भनिरहेका छन् ।

‘गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, मनमोहन अधिकारी, बाबुराम भट्टराईलगायतले पटक–पटक संसद् विघटदन गरेका थिए, त्यो पनि प्रतिगमन थियो र भन्दै उल्टै प्रश्न गरिरहेका छन् । ‘म अध्यक्ष भएको पहिलो संविधानसभा नै अचानक विघटन गर्ने त्यतिबेलाका प्रधानमन्त्री नै अहिले ओलीको कामलाई प्रतिगमनको संज्ञा दिँदै हिँड्दैछन्’, बाबुराम भट्टराईप्रति लक्षित गर्दे नेम्वाङ्गले मतदातालाई सम्झाउने गरेका छन्, ‘यो हाँस्यास्पद होइन र ? ।’

केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला ६ अर्ब रूपैयाँ लागत अनुमानको राँके–रवि भेडेटार सडक शिलान्यास भयो । शिलान्यस भएको उक्त सडकको अधिकांश भाग नेम्वाङकै निर्वाचन क्षेत्रमा पर्छ । भौगोलिक रूपले विकट मानिने इलामको पश्चिमी भेग र पाँचथरको सीमा भएर जाने सय किलोमिटरको यो सडक कालोपत्रेसहितको ठेक्कामा लागेको थियो । तर निर्माणको काम द्रुत गतिमा अघि बढ्न नसकेको स्थानीयले नेता नेम्वाङलाई राखेका छन् ।

दमक–रवि, राँके–गैडे–महमाईलगायत दर्जनौं सडक निर्माण थालिए पनि सम्पन्न र स्तरोन्नति नहुँदा सर्वसाधारणले दैनिक आवश्यकताका लागि पनि सास्ती खेप्नुपरेको गुनासो छ । नेम्वाङ भने आफूले चुनाव जितेको क्षेत्रमा भौतिक पूूर्वाधार विकासको जग बसालेको दाबी गर्छन् । उनी भन्छन ‘यो क्षेत्रबाट चुनाव जितेर २५ वर्षयता सुवास नेम्बाङले के गर्‍यो भन्ने साथीभाइ (विपक्षी) ले प्रश्न गरेको सुन्छु, ‘अरू त केही भन्दिनँ, करिब ३ दशक साथीभाइ (कांग्रेस) कै दलको नेतृत्वमा सरकार रहेका बेला इलाम क्षेत्र २ का आयोजनाहरूमा आएको भन्दा बढी बजेट त मेरो पहलमा एउटै आयोजनामा आएको छ, त्यस्ता आयोजना दर्जनौं छन् ।’

नेम्वाङले आफ्नै पहलमा राँके–रवि–भेडेटार सडकमा ६ अर्ब रूपैयाँ, दमक–चिसापानी सडकमा अढाई अर्ब र इलाम–बेलासे–झापा सडकमा ५६ करोड रूपैयाँ विनियोजित भएको दाबी गरे । आफूले चुनाव लड्दा २०५६ सालमा यो क्षेत्रलाई ‘इलामको कर्णाली’ भनिने गरेकोमा अहिले पूर्ण रूपमा नभए पनि विकासको लहर भने शुरु भएको बताए । उनले काम निरन्तर भइरहेका सडकमा चाँडै कालोपत्रे र स्तरोन्नतिका लागि प्रतिबद्धता समेत जनाएका छन । उनले यस पटक चुनावी सभाहरुलाई सम्वोधन गर्दै आफ्नो क्षेत्रमा भइरहेका विकासका आयोजनाहरुका समस्या आफूलाई जानकारी गराउन आग्रह गरेका । उनले आफ्ना क्षेत्रका एक–एक विकासे आयोजनाहरुको समस्या समाधान गर्ने प्रतिवद्धता जनाएका छन् ।

यसका लागि कुन आयोजनामा के–कस्ता समस्या देखिएका छन् लिखित रुपमा दिन समेत आग्रह गरेका छन् । जनताबाट आएका सूचीवद्ध समस्याहरु र आकांक्षाहरुलाई पूरा गर्न आफू सधैं कटिवद्ध रहेको र रहने नेता नेम्वाङ बताउँछन् ।
नेम्वाङका मुख्य प्रतिस्पर्धी ठानिएका गठबन्धनका उम्मेदवार कांग्रेस जिल्ला सभापति डम्बरबहादुर खड्का युवा नेता आवश्यक रहेको भन्दै चुनावी मैदानमा छन । खड्का २०७४ सालको निर्वाचनमा इलाम क्षेत्र २ (१) बाट प्रदेशसभा सदस्यमा एमालेका रामबहादुर रानासँग पराजित भएका थिए । जिल्ला सभापति रहेका खड्का निर्माण व्यवसायी पनि हुन् ।

उनी समाजसेवामा पनि क्रियाशील देखिन्छन । खड्काले कोरोना महामारीमा पनि कतिपय सर्वसाधारणलाई खाद्यान्न र स्वास्थ्य सामग्री उपलब्ध गराएका थिए भने उनले जिल्लाका विभिन्न धार्मिक, सांस्कृतिक, खेलकुद, युवा र अन्य क्षेत्रमा आर्थिक सहयोग गरेका छन् ।

‘जनताको सुख–दुःखमा साथ दिने मात्रै वास्तविक प्रतिनिधि हो,’ उनी भन्छन्, ‘म युवा भएकाले पनि हरेक नागरिकको समस्यामा सहयोग गर्न सक्छु, आफैं जुटेर समाजको प्रगति र विकासमा लाग्ने भएकाले मलाई यो पटक मतदाताले जिताउनु हुन्छ भन्ने विश्वास छ ।’ तर खड्काको यस्तो ‘लगानी’ बढीजसो जिल्लाको क्षेत्र नम्बर १ मा भए पनि उनी क्षेत्र नम्बर २ बाट उम्मेदवार छन् ।
नेम्बाङ, खड्का र माखिमसहित यो क्षेत्रबाट राष्ट्रिय जनमुक्ति पार्टीका खड्गप्रसाद पालुङ्वा, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशप्रसाद दुलाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गोविन्दसिंह लिम्बु, नेपाली कांग्रेस (बिपी) का डाकप्रसाद गौतम, सामाजिक लोकतान्त्रिक पार्टीका तिलकबहादुर मगरलगगायत १४ जनाको उम्मेदवारी दर्ता भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७