प्रदेश-१ का वनमन्त्री तथा कांग्रेस उम्मेदवार शेखरचन्द्र थापाको निधन


२३ कार्तिक २०७९, बुधबार

मोरङ । प्रदेश–१ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको बुधबार निधन भएको छ । मोरङ क्षेत्र नम्बर ३ ‘१’ बाट प्रदेशसभा उम्मेदवार समेत रहेका उनको विराटनगस्थित नोबेल अस्पतालमा उपचारका क्रममा निधन भएको हो । निमोनिया भएका ५८ वर्षीय उनी एक महिनादेखि उपचारका क्रममा थिए ।

थापालाई गत असोज २४ गते डेंगु संक्रमण पुष्टि भएको थियो । नेपाली कांग्रेसका नेता थापालाई डेंगुसँगै निमोनिया संक्रमण भएको थियो । नोबेल मेडिकल कलेजका निर्देशक राजेश नेपालका अनुसार थापाको बुधबार बिहान १०.४० बजे निधन भएको हो ।

थापाको निधनपछि मोरङ क्षेत्र नम्बर ३ ‘१’ प्रदेशसभातर्फको चुनावी कार्यक्रम पनि रोकिने भएको छ । उनी गत असोज २३ गतेदेखि नै बिरामी परेपछि चेकजाँच गर्दा डेंगु देखिएको थियो । असोज २३ मा उम्मेदवारी दर्ता गरेपछि उनी असोज २४ गते काठमाडौं वसुन्धरास्थित ह्याम्स अस्पतालमाा उपचारका लागि भर्ना भएका थिए ।

उनले अस्पताल भर्ना भएयता चुनाव प्रचार गर्न पनि पाएका थिएनन् । ह्याम्समा एक महिना लामो उपचार पछि थापालाई मंगलबार मात्रै नोबेल अस्पतालमा लगिएको थियो । उनले नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको निजी सहयोगीका रुपमा २०५७ देखि ८ वर्षसम्म काम गरेका थिए ।

उनी २०७० सालको संविधानसभा निर्वाचनमा अहिलेकै क्षेत्रबाट चुनावी मैदानमा थिए । तर त्यसबेला एमालेका चण्डी राईसँग हार्न पुगे । उनी ०७४ सालमा कांग्रेसबाट समानुपातिकतर्फबाट प्रदेशसभा सदस्य भएका थिए । यस पटक भने उनी प्रत्यक्षबाट चुनावी मैदानमा थिए । तर उम्मेदवारी दर्ता लगत्तै बिरामी परेपछि चुनावअगावै उनको निधन भयो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७