कालापानी, लिम्पियाधुरा र लिपुलेकको विषय संसद्ले एकमतले पास गरेको हो : प्रधानमन्त्री


११:०२ बजे

दार्चुला । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपाली भूमि हो भनेर संसद्ले एकमतले पास गरेको बताएका छन् ।

आज (बुधबार) दार्चुलाको गोकुलेश्वरमा सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूले मात्रै पास गरेको जस्तो गरेर झुटा कुरा गरिरहेको आरोप लगाए । ‘कांग्रेस, माओवादी केन्द्रलगायतका सबै दल मिलेर एक आवाजमा संसद्बाट पास भएको हो’, प्रधानमन्त्री देउवाले भने, ‘अहिले ओलीले अरुले केही गरेकै छैन, आफूले मात्रै गरेँ भनेर झुटो कुरा गर्दैछन् ।’ उनले केही दिनअघि ओली दार्चुला पुगेर गफ लगाएर फर्किएको आरोप समेत लगाए ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले राष्ट्रलाई कुन दिशामा लैजाने भन्ने निर्णय लिने उनको भनाइ थियो । ‘अहिले धेरै किसिमका अफवाह फैलाउने काम भइरहेको छ’, प्रधानमन्त्री देउवाले भने, ‘मुलुकलाई समृद्ध बनाउन गठबन्धन दल एकजुट भएर अघि बढेको छ ।’

उनले केही महिनाअघि दार्चुलामा नेपाल–भारत पक्की पुलको शिलान्यास भएको भन्दै उक्त पुल चाँडै निर्माण सम्पन्न हुने बताए । गोकुलेश्वर विमानस्थल सञ्चालनमा ल्याइने भन्दै देउवाले दार्चुलालाई दुई वर्षभित्र अँध्यारोमुक्त जिल्ला बनाइने धारणा राखे ।
‘दार्चुलालाई तुइनमुक्त क्षेत्र घोषणा गरिनेछ’, उनले भने, ‘दार्चुला धेरै सम्भावना रहेको जिल्ला हो, यसको विकासमा हामी लाग्छौँ ।’

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७