मोरङ–३ को (१) मा आज मनोनयन दर्ता, नयाँ उम्मेदवार को ?

प्रदेश–१ मा आज सार्वजनिक बिदा


२४ कार्तिक २०७९, बिहीबार
pradesh 12021 01 21 09 24 43

मोरङ । निर्वाचन आयोगले मोरङ क्षेत्र नं. ३ को (१) मा मनोनयन दर्ता गर्नका लागि आज (बिहीबार) कार्यतालिका तय गरेको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन अन्तर्गत प्रदेश सभातर्फ मोरङ क्षेत्र नं. ३ को (१) मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहेका शेखरचन्द्र थापाको निधन भएपछि बुधवार आयोगले उक्त दलका लागि उम्मेदवार बिहीबार मनोनयन दर्तासहितका नयाँ निर्वाचन कार्यक्रम तय गरेको हो ।

आयोगका उपसचिव ऋषिराम भुसालले नयाँ निर्वाचन कार्यतालिका अनुसार यही कात्तिक २४ र २५ गतेको समयभित्र उम्मेदवारी मनोनयन दर्ता, दाबी विरोध तथा अन्तिम नामावली सार्वजनिक गरिने बताए ।

उनले मङ्सिर ४ मा हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई निर्वाचन चिन्हसमेत प्रदान भइसकेको अवस्था रहेकोमा उक्त क्षेत्रबाट प्रदेश सभाका लागि उम्मेदवार थापाको मृत्यु भएको हुँदा उक्त निर्वाचन क्षेत्रको सम्बन्धित दलको उम्मेदवारले मात्रै मनोनयन दर्ता गर्न पाउने बताए । बिहीबार बिहान १० देखि १ बजेसम्म सम्बन्धित राजनीतिक दलले उम्मेदवार मनोनयन दर्ता हुनेछ । कात्तिक २५ गते ४ बजे निर्वाचन चिन्ह दिएपछि प्रक्रिया सकिनेछ ।

नयाँ उम्मेदवार को ?

प्रदेशसभाका निवर्तमान सांसद सूयर्माराज राई र शनिश्चरेका पर्शु कार्कीमध्ये एक जना उम्मेदवार बन्ने सम्भावना रहेको स्रोतले बताएको छ । २०७४ सालको निर्वाचनमा बाम गठबन्धनलाई पराजित गरेर सोही क्षेत्रबाट प्रदेशसभाका सांसद बनेका राई काँग्रेस संसदीय दलका प्रमुख सचेतक समेत भएका थिए ।

यस पटक पनि उनै राई उम्मेदवार बन्ने सम्भावना भइरहँदा पार्टीको संस्थापन पक्षको अनिच्छाका कारण थापा उम्मेदवार बनेका थिए । थापासँगै त्यसबेला काँग्रेसको क्षेत्रीय समितिले राई, पर्शु कार्की र सुशील राईको नाम सिफारिस गरेको थियो । हाल चर्चामा रहेका सुशील र कार्की संस्थापन पक्षका हुन् ।

केही गठबन्धन दलका नेताहरूले भने काँग्रेसमा अत्यधिक अन्तर्विरोध देखिएकाले माओवादीका नेता तथा संविधानसभा सदस्य लालबाबु सुस्लिङ मगरलाई उम्मेदवार बनाउँदा राम्रो हुने सुझाव पनि दिन थालेका छन् ।

प्रदेश–१ मा आज सार्वजनिक बिदा
प्रदेश–१ सरकारले आज (बिहीबार) सार्वजनिक विदा दिएको छ । प्रदेशका वन, वातावरण तथा भूसंरक्षणमन्त्री शेखरचन्द्र थापाको निधन भएको शोकमा प्रदेश सरकारले आज एक दिन शोक विदा दिएको हो ।

गत असोज २४ गतेदेखि निमोनिया र डेंगुको उपचार गराइरहेका थापाको बुधबार विराटनगरको नोबेल मेडिकल कलेजमा विराटनगरमा निधन भएको थियो । प्रदेश सरकारले आज एक दिन झण्डा आधा झुकाउने पनि निर्णय गरेको प्रदेश–१ आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव प्रदेश सचिव अर्जुन निरौलाले बताए । थापा ४ मंसिरमा हुने मोरङ क्षेत्र ३ को प्रदेशसभा ‘१’ बाट नेपाली कांग्रेसको उम्मेदवार थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७