निर्वाचन नजिकिएसँग चलचित्र प्रदर्शनीमा कमी


२४ कार्तिक २०७९, बिहीबार
Kausid poster.jpg

काठमाडौं । आसन्न निर्वाचनका लागि उम्मेदवारहरुको प्रचारप्रसार बढेसँगै चलचित्र प्रदर्शनमा भने कमी आइरहेको छ । आम मानिसको ध्यान निर्वाचनमा केन्द्रीत रहेको हुँदा मंसिर, पुस र माघमा चलचित्र प्रदर्शनका लागि घोषणा गरिएका थिएनन् ।

आगामी फागुन ५ गते तीन र १९ गते पाँच चलचित्र प्रदर्शन गरिने घोषणा हुँदा समेत मंसिरदेखि माघसम्म प्रदर्शनको मिति खाली थिए तर अहिले विस्तारै ती महिनामा पनि प्रदर्शन गरिने भएका छन् ।

फागुनपछि प्रदर्शनका लागि सङ्घर्ष गर्नुपर्ने भएपछि अगाबै चलचित्र प्रदर्शन गरिने घोषणा हुन थालेको वितरक करण श्रेष्ठले बताए । ‘निर्वाचन, जाडोको समय र विश्वकप फुटबलले असर गर्ने अनुमानले चलचित्र फागुनमा रिलिज घोषणा भएका छन् । खाली डेट भएकै कारण मेरो एउटा चलचित्र समेत मंसिरमा प्रदर्शन गर्दैछु’, उनले भने, ‘दर्शकलाई आकर्षित गर्न सकेमा चलचित्रको व्यापार राम्रै हुन्छ । निर्वाचन लगत्तै चलचित्रले एकल प्रदर्शन हुन् पाउने छन् ।’ मंसिरमा चलचित्रको भीडन्त नभएता पनि पुस १५ मा भने तीन चलचित्र प्रदर्शन हुने तयारीमा छन् ।

मंसिरमा मिलन, पासो, डेसान, चोर–पुलिसलगायत चलचित्र प्रदर्शनका लागि घोषणा भइसकेका छन् । पुसमा डिसेम्बर फल्स, कौसिद र ची मुसी ची प्रदर्शन हुने घोषणा गरिएको छ । नेपाल चलचित्र सङ्घका महासचिव नरेन्द्र महर्जनले केही समययता नेपाली चलचित्रले गरिरहेको व्यापारले आश बढाएको बताए । ‘असोज र कात्तिकमै चार नेपाली चलचित्रले घरेलु बजारबाट लगानी उठाएका छन् । दर्शकलाई चाहिने चलचित्र ल्याउने हो भने लगातार चलचित्र चल्छ’, उनले भने, ‘दर्शक आइरहदा उहाँहरूको रुचिभन्दा बाहिरको चलचित्र पर्‍यो भने पुनः हल फर्काउन भने समय लाग्छ ।’

एउटै मितिमा धेरै चलचित्र घोषणा हुँदा असर परिरहेको चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले स्वीकारे । ‘चलचित्रसँग सम्बन्धित सङ्घ तथा सस्थासँग परामर्श गरेर हामी दीगो समाधान निकाल्ने प्रयासमा छौँ । नीति नियमसँगै आपसी सहमतिका प्रयास पनि भइरहेका छन्’, उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७