उम्मेदवार चुनावीसभामा, मतदाता खेतबारीमा


२४ कार्तिक २०७९, बिहीबार
Dhan kaski 1
फाइल फोटो

बेनी । मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा होमिएका राजनीतिक दल र उम्मेदवार यतिबेला चुनावी आमसभामा व्यस्त छन् । कात्तिक १७ गतेदेखि दल र स्वतन्त्रबाट उम्मेदवार बनेकाहरुले मतदातालाई आफ्नो पक्षमा आकर्षण गर्न र आफ्ना चुनावी प्रतिबद्धता जाहेर गर्न चुनावी आमसभा सुरु भएका छन् ।

प्रतिनिधिसभामा नौ, प्रदेशसभा निर्वाचन क्षेत्र (क) मा पाँच र (ख) मा छजना चुनावी मैदानमा रहेका छन् । जिल्लामा रहेका राजनीतिक दलका सङ्गठन, हालै सम्पन्न स्थानीय तह निर्वाचनको परिणामले यस निर्वाचनमा म्याग्दीमा मुख्यगरी सत्तारुढ गठबन्धन र नेकपा (एमाले) का उम्मेदवारबीच नै प्रतिस्पर्धा हुने देखिन्छ ।

यतिबेला उम्मेदवार र राजनीतिक दल चुनावीसभामा व्यस्त छन् । एकै दिनमा तीनदेखि पाँच स्थानसम्म चुनावीसभामा उम्मेदवारले भाग लिइरहेका छन् । चुनावीसभामा सहभागी हुन उम्मेदवारलाई भ्याइनभ्याइ भएको छ । बिहान सबेरैदेखि सुरु हुने घरदैलो र चुनावीसभा राति अबेरसम्म पनि चल्ने गरेका छन् ।

उम्मेदवार र नेताहरुको चुनावी दौडधुप तीव्र भए पनि चुनावीसभामा भने मतदाता भने यतिबेला अन्नबाली भित्र्याउने चटारोमा छन् । माथिल्लो भेगमा कोदो र पहाडदेखि बेँसीका फाँटसम्म धानबाली पाकेर भित्र्याउने काममा किसान व्यस्त छन् । कार्यकर्तामा पनि पहिलेको उत्साहजनक सक्रियता नहुँदा चुनावीसभामा जन सहभागिता निकै न्यून देखिएको छ ।

विभिन्न दलका उम्मेदवार र नेताहरु गाउँमा दैनिकजसो आउने भए पनि खेतीबाली भित्र्याउने कामले बिहानदेखि बेलुकीसम्म नै खेतबारीमा हुनुपर्ने भएकाले उनीहरुका कार्यक्रममा सहभागी भएर भाषण सुन्न नपाएको रघुगङ्गा गाउँपालिका–६ ठाडखानीका यामबहादुर छन्त्यालले बताए । ‘बारीभरि कोदो पाकेको छ, सिमी पनि पाकेको छ, वर्षभरिको खाद्यान्नको जोहो गर्ने बेला हो, नेताहरुले बोलेर पूरा गर्ने पनि होइनन्, आश्वासन सुन्नलाई बाली भित्र्याउने काम छाड्ने कुरा भएन’, बारीमा कोदो काट्दै गरेका उनले भने । यस पटक असारमा धान रोप्ने बेलामा खडेरी परेको र धानको फूल लाग्ने बेलामा भारी झरी परेका कारण धानको उत्पादन घटेको छ भने बालासमेत ढिला गरेर पाकेको छ ।

‘नेताहरुलाई चुनाव लागेको छ, हामीलाई के को चुनाव लाग्नु, पाँच वर्षमा आउँछन् सपना देखाउँछन्, जान्छन्, जितेर गएपछि फर्किएर आउने होइनन्, हाम्रा आशा जस्ताको तस्तै, कति पटक सुन्ने हो एउटै कुरा’, धवलागिरि गाउँपालिका–२ का ६१ वर्षीय तुलवीर विकले गुनासो गर्दै भने । पटक–पटक जिताएर पठाएका प्रतिनिधि गाउँको दुःख सुख र समस्या बुझ्न फर्किएर नआउने गरेकाले यसपटक मतदानमा विचार पुर्‍याउने निचोडमा पुगेको उनले बताए ।

रघुगङ्गा–८ कुइनेखानीका ७६ वर्षीय टीकाबहादुर विश्वकर्माले नेताहरुले आश्वासन र सपना बढी देखाउने र प्रतिबद्धता पूरा नगर्ने भएकाले चुनावीसभामा भाषण सुन्न जान मन नलाग्ने गरेको अनुभव सुनाए । ‘बोल्ने बेलामा गर्न बाँकी केही नराख्ने, जितेर गएपछि केही नगर्ने नेताहरुको कुरा सुन्न पहिलेको जस्तो उत्सुकता हुँदैन, अहिले नेताहरु गाउँमा आउजाउ निकै भएको छ, हामीलाई हाम्रो गाउँको मुहार फेर्ने नेता चाहिएको छ’, उनले भने ।

उम्मेदवारका आकर्षक एजेण्डा

म्याग्दीका उम्मेदवारले जिल्लाको विकास र समृद्धिका आकर्षक एजेण्डा अघि सारेका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा आयोजित चुनावीसभामा गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका नेपाली कांग्रेसका खमबहादुर गर्वुजा (खमवीर) ले ‘म्याग्दीको विकासमा पहिलो आधार पूर्वाधार’ निर्माण रहेको बताउँदै विकासमा जिल्लाको पहुँच बढाउन आफूलाई मत दिन आग्रह गरे ।

उनले जिल्लामा सञ्चालनमा रहेका ठूला आयोजनाको दूरावस्तालाई सुधार गरी गति दिन र जनताको दैनिकीसँग जोडिएका सडक, शिक्षा, स्वास्थ्य, खानेपानीका पूर्वाधार निर्माण र गुणस्तर सुधारसँगै कृषि, पशुपालन, पर्यटन, जलविद्युतलगायतको क्षेत्रमा रहेको सम्भावनाहरुको उजागर गर्न आफू प्रतिबद्ध रहेको बताए ।

सोही कार्यक्रममा गठबन्धनबाट प्रदेश निर्वाचन क्षेत्र (क) का उम्मेदवार हरि भण्डारीले ‘गाउँलाई शहर, युवालाई आत्मनिर्भर’ बनाउने आफ्नो प्रमुख एजेण्डा रहेको बताए । उनले आजको युवाहरुको चाहनाबमोजिमको विकास र समृद्धि हासिल गर्न युवाकै नेतृत्व समाजले खोजिरहेको बताउँदै निर्वाचनमा आफूलाई मतदान गरी विजयी गराउन आग्रह समेत गरे ।

म्याग्दीमा पूर्वाधारतर्फको विकासपछि परेको बताउँदै प्रदेशसभामा जनमैत्री नीति निर्माणदेखि जिल्लाको विकासमा मुहार फेर्ने योजना भित्र्याउने काम आफूले प्राथमिकतामा राख्ने बताए । प्रदेशसभा (२) मा गठबन्धनका उम्मेदवार रेशमबहादुर जुग्जालीले प्रदेश निर्वाचन क्षेत्र (ख) मा सडकका पूर्वाधारलाई स्तरीय बनाउँदै खानेपानी, शिक्षा, स्वास्थ्यको अवस्थामा सुधार गर्दै जलविद्युत्, पर्यटन र जडीबुटीका माध्यमबाट समृद्ध बनाउने योजना सुनाए ।

‘यहाँको हरेक भूगोलका बारेमा जानकार छु, जनताले मतदान गरी विजयी गराएमा नीति निर्माणमा मात्रै होइन, विकासमा पूर्वाधार निर्माणमा सक्रिय भूमिका रहन्छ’, जुग्जालीले भने । नेकपा (माओवादी केन्द्र) का समानुपातिक उम्मेदवार समेत रहेका राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले म्याग्दीको पश्चिमी क्षेत्र हुँदै ढोरपाटनलाई जोडेर मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक बनाउन सकिने योजना सुनाएका छन् ।

ढोरपाटन जोड्ने सडकलाई मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने र धौलागिरि चक्रीय पदमार्गलाई व्यवस्थित गरेर पर्यटकलाई आकर्षित गर्नसक्ने हो भने म्याग्दीको विकासका लागि कोसेढुङ्गा सावित हुने उनको भनाइ छ । यता नेकपा (एमाले) का उम्मेदवारहरुले समेत म्याग्दीको विकासमा एमालेकै उम्मेदवारको विजयी अनिवार्य रहेको दाबी गरेका छन् ।

एमाले म्याग्दीबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरिकृष्ण श्रेष्ठले जिल्लाको विकास र सुशासनका लागि आफ्नो उम्मेदवारी भएको बताएका छन् । जिल्लाका विभिन्न स्थानमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले जिल्लाको शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, कृषि, पर्यटनलगायतका क्षेत्रमा उल्लेख्य विकास गर्ने अठोट लिएर चुनावी मैदानमा उत्रिएको बताएका छन् । साथै उनरण्ले जिल्लामा सञ्चालित राष्ट्रिय गौरवका आयोजनाको सवल कार्यान्वयन गर्नु आफ्नो प्राथमिकतामा रहेको बताएका छन् ।

प्रदेशसभा निर्वाचन क्षेत्र (क) का उम्मेदवार देवेन्द्रबहादुर कटुवालले एमाले सरकारले शिक्षा, स्वास्थ्य, कृषि, सडक, पर्यटनलगायतका क्षेत्रमा उल्लेख्य विकास गरेको बताउँदै राजनीतिक स्थिरता कायम गराउने, मुलकलाई समृद्धिको बाटोमा अगाडि बढाउने, जनतामा खुशीयाली ल्याउने र सुशासन कायम गर्ने एजेण्डा आफ्नो प्राथमिकतामा रहेको बताए ।

प्रदेशसभा निर्वाचन क्षेत्र (ख) का उम्मेदवार यामबहादुर गर्वुजाले जनताको आधारभूत आवश्यकता र जनजीविकाको सवालमा नीति निर्माण र कार्यान्वयका लागि आफूले भूमिका खेल्नका लागि जनताको अगाडि उभिएको बताए । युवालाई रोजगारको सिर्जना गर्न, ज्येष्ठ नागरिकको सुरक्षा, दलित तथा जनजातिहरुको अवस्था परिवर्तन तथा उत्पादनमुखी विकासमा आफ्नो जोड रहने प्रतिबद्धता जनाएका छन् ।

म्याग्दीमा दलहले एक अर्काको नेतृत्वका कारण जिल्ला विकासमा पछाडि परेको आरोप लगाउने गरेका छन् । विसं २०५६ मा कांग्रेस, २०६४ मा माओवादी, २०७० र २०७४ मा एमालेले म्याग्दीमा प्रतिनिधिसभा सदस्य निर्वाचन जितेका थिए । प्रजातन्त्र पुनःस्थापनापछि २०५६ अघिको संसदीय चुनाव पनि एमालेले जितेको थियो । विसं २०७४ मा एक वटा प्रदेशसभा माओवादी र एकवटा एमालेले जितेका थिए ।

गत स्थानीय तह निर्वाचनमा एमालेले चार वटा पालिका प्रमुख, तीन उपप्रमुख र २२ वडा जितेको थियो भने कांग्रेसले दुई अध्यक्ष, एक उपाध्यक्ष, १७ वडामा विजयी भएको थियो । त्यस्तै माओवादीले दुई उपप्रमुख र छ वटा वडा जितेको थियो । स्थानीय चुनावमा एमालेका वडाध्यक्षका उम्मेदवारले २३ हजार ९०, कांग्रेसले १९ हजार आठ सय ७० र माओवादीले आठ हजार पाँच सय ९२ मत ल्याएका थिए । वडा अध्यक्षहरुले ल्याएको मतको आधारमा म्याग्दीमा एमालेभन्दा सत्ता गठबन्धन बलियो देखिएको छ । प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई क्षेत्र रहेको म्याग्दीमा प्रदेशसभा क्षेत्र (१) मा ४८ हजार चार सय ७२, प्रदेशसभा क्षेत्र (२) मा ३७ हजार ६ सय ४८ गरी ८६ हजार एक सय २० जना मतदाता छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७